​बालुवाटारमा त्यो रात र यो बात

‘नयाँ–नयाँ शर्त थप्ने प्रचण्डको कल्चर रहेछ । त्यसरी कहाँ अगाडि बढ्न सकिन्छ ?’

सभामुख कृष्णबहादुर महरा तीनकुने, सुविधानगरस्थित संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको डेरामा छिरेको, रोशनीलाई दुव्र्यवहार गरेको कुरा बाहिरिएर देश तरंगित भएकै दिन बालुवाटारचाहिँ यस्ता कुराले तातिरहेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेको नेकपा विशेष प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितको टोलीसामु यसरी कडिकडाउ कुरा राखिएको हो । तर, त्यसमा कसैले दोहोरो जवाफ लगाएनन् । लीलामणि नै चूप लागे भने पूर्वएमालेहरु झन् बोल्ने कुरै भएन । पूर्वएमालेका विष्णु पौडेल, अरुण नेपाल, डा.राजन भट्टराईहरु त्यहीं थिए । 

खास विषय थियो, युवा–विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायी गरी चारवटा गैरभौगोलिक जिल्ला कमिटीलाई पूर्णता दिन संख्याको सहमति बाधक भएको । सबै कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव त टुंगो लागेका छन् । तर, कमिटीहरुलाई पूर्णता दिनका लागि एकतापूर्व बनेको कार्यदलले दिएको सुझाव र महासचिवले  मोबाइल एसएमएसमार्फत् पठाएको संख्याका कारण अन्यौल सिर्जना भएको भन्दै उनीहरु त्यहाँ पुगेका थिए । यी चारमध्ये तीन जिल्ला कमिटी पूर्वमाओवादी केन्द्रले र एकको अध्यक्ष पूर्वएमालेले पाएको छ । त्यसमध्ये मजदुरमा जगत सिंखडा, उद्योग व्यवसायीमा रामप्रसाद सापकोटा, युवा–विद्यार्थीमा रमेश मल्ल अध्यक्ष छन् । पेशागतमा मात्रै पूर्वएमालेका प्रेमप्रसाद पराजुली अध्यक्ष छन् । अध्यक्ष पूर्वमाओवादी भएका कमिटीको इञ्चार्ज भने पूर्वएमालेका छन् । जस्तो कि, युवा–विद्यार्थीका इञ्चार्ज माधव ढुंगेल, उद्योगका पार्वत गुरुङ, मजदुरकी बिना श्रेष्ठ । 

संख्याका कारण कमिटीलाई पूर्णता दिन समस्या भएपछि पूर्वपार्टीका नेताहरुले दुबै अध्यक्षलाई सँगै राखेर विषयबारे स्पष्ट हुन चाहेका थिए । तर, प्रचण्ड पुग्नुभएको थिएन । बोलाउने जिम्मा पार्टीको उपत्यका प्रदेश अध्यक्ष तथा प्रमका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईको थियो । राजनले प्रचण्डलाई खबर गरेको, तर महरा प्रकरण आएदेखि कसैको सम्पर्कमा नरहेका कारण उहाँ आउने, नआउने टुंगो नभएको भन्दै केपी एक्लैले ती नेताहरुसँग कुरा गर्नुभयो । 

पहिला विशेष प्रदेशमा पूर्वमाओवादी ७० र पूर्वएमाले ८१ को सहमति थियो । पछि महासचिवले पूर्वमाओवादीलाई ६६ हुने गरी खबर पठाउनुभयो । जिल्लाको हकमा कार्यदलको निर्णयअनुसार संख्या हुनुपर्ने माग थियो । तर, विष्णु पौडेलले विशेष प्रदेशका इञ्चार्ज लीलामणि पोखरेललाई एसएमएस पठाएर संख्या तलमाथि पारिदिनुभयो । पहिला मजदुरमा पूर्वमाओवादीको संख्या बढी भएकोले कमिटीको संख्या र नेतृत्व पूर्वमाओवादीकै भन्ने सहमति थियो । जिल्ला कमिटीमा पूर्वमाओवादी ३९ र पूर्वएमाले ३६ भन्ने भयो । उद्योगमा पूर्वमाओवादी ३८ र पूर्वएमाले ३७, युवा–विद्यार्थीमा पूर्वएमाले ४० र पूर्वमाओवादी ३५, पेशागतमा पूर्वएमाले ४२ र पूर्वमाओवादी ३३ को खाका थियो । महासचिवले मोबाइलबाट गरेको म्यासेजमा सोलोडोलो सबै जिल्ला कमिटीमा पूर्वएमाले ४३ र पूर्वमाओवादी ३२ हुने भनियो । बालुवाटार भेटमा यही कुरा उठ्यो । ‘प्रभाव बढी भएकोले हिस्सा बढी लिने भनेका हौँ’, एकजना पूर्वमाओवादी नेताले यसो भनेपछि केपी ओलीले ठाडै भन्नुभयो, ‘माओवादी जम्मा एक चौथाई हो । प्रचण्डले यो कुरा मानिसकेका थिए । एकताको भाव राम्रो दिनुपर्छ भनेर मैले नै आधा–आधाजस्तो दिएर त्याग गरेँे, लचिलो भएँ । त्यसको परिणाम यही हो ? साढे एक वर्षपछि पनि संख्या मिलेन भनेर एक चौथाईवाला आउने ?’

यही सन्दर्भमा उहाँले भन्नुभयो, ‘नयाँ–नयाँ शर्त थप्ने प्रचण्डको कल्चरै रहेछ । त्यसरी कहाँ अगाडि बढ्न सकिन्छ ?’

केपीले मजदुरमा माओवादीको संख्याबारे पनि टिप्पणी गर्नुभयो । भन्नुभयो, ‘यो कुरा हुनै सक्दैन । माओवादीका धेरै भनिएका मजदुर नक्कली हुन् । पहिला पनि माक्र्सवादीले मजदुरमा त्यस्तै गरे, अहिले माओवादीले त्यस्तै गर्न थाले ।’ लीलामणिले केपीलाई सोधे, ‘अहिले पछि पठाइएको संख्या तपाईंहरु दुई अध्यक्षबीचको सहमति हो कि होइन ?’ केपीले भन्नुभयो, ‘सहमति नभई त्यसै जान्छ ? भएकै हो ।’ विष्णु पौडेलले बीचमा थप्नुभयो, ‘अध्यक्षहरुले निर्णय गरेर मलाई दिनुभएको, मैले त्यही तपाईंलाई पठाएको हो ।’

यसपछि टोली सोझै पुग्यो, खुमलटार । प्रचण्डसँग सोधियो, ‘संख्याको बारेमा यस्तो सहमति भएको हो कि होइन ?’ प्रचण्डले भन्नुभयो ‘यो विषयमा कुनै सहमति भएको छैन । मलाई त जानकारी पनि छैन ।’ पूर्वमाओवादीले मजदुर संगठनअन्तर्गत आफ्नो १२ हजार पार्टी सदस्यता दावी गरेको छ भने पूर्वएमालेले तीन हजार नौ सयको विवरण पेश गरेको छ ।

टिप्पणीहरू