​आ–आफ्नै अप्ठ्यारा अचम्मका

मधेस र मधेसी जनताको हितमा खुलेको पार्टीलाई एकीकृत गर्ने भनेर आफ्नो मूलपार्टी छाड्दै एक ठाउँ भेला भएकाहरू फुट र विग्रहको संघारमा त थिए नै, हुस्सुपना पनि अचम्मैसँग प्रदर्शन गर्दै रहेछन् । सिंगो मधेस मिशनकै इज्जत–प्रतिष्ठा जोडिएको, अर्थात् आफूले जितेको एकमात्र ठाउँको उम्मेदवारीबारे अर्को पार्टीसँग वार्ता गर्ने भन्दाभन्दै उम्मेदवार छान्ने बेला नै गुजारिएको छ । यससँगै सरकारमा सामेल एउटा नेताले आफ्नो भविष्यका निम्ति बाटो तय गर्न नसकेर कुहिराको काग बनेको अचम्मको परिस्थिति देखा परेको छ । हुस्सु कति भने, महोत्तरीको पिपरामा गाउँपालिका अध्यक्ष विजयकुमार चौधरीको निधनपछि मंसिर १४ गते उपचुनाव हुँदै छ । त्यहाँ राजपाले जितेको थियो । पहिला जहाँ, जसले जितेको हो, त्यसलाई सघाउने एकीकरण वार्ताको सहमति थियो । यसका लागि राजपाका तर्फबाट महेन्द्र राय यादवको नेतृत्वमा उपेन्द्र यादवसँग वार्ताको निम्ति टोली बन्यो । त्यो टोलीले उपेन्द्रसँग कुरा गर्ने भन्दाभन्दै समय घर्कियो । 

अर्कातिर, उपेन्द्रले एउटा बैठकमा प्रधानमन्त्रीको खप्की खाएका छन् । उपप्रधानसहित दुई क्याबिनेट र एक राज्यमन्त्री हुने अनि त्यही पार्टीको तर्फबाट सरकारको आलोचना गरेकोप्रति प्रमलाई चित्त बुझेको रहेनछ । बैठकमा छिर्दाछिर्दैै भन्नुभयो, ‘सरकारमा बस्ने, सरकारकै आलोचना पनि गर्ने ? कम्युनिष्ट हैन, कमाउनिष्टको सरकार भन्ने † तपाईं कमाउनु नपर्ने मान्छे किन सरकारमा बसिरहेको ?’ हुन पनि उपेन्द्रको स्थिति के छ भने, मन्त्रालय प्रायः नबस्ने, विदेश गइरहने † अत्यावश्यक औषधी नहुने, डेङ्गुको महामारी फैलिँदा मन्त्रीचाहिँ विदेशतिर घुमिरहने कुराले पनि प्रमको रिस बढेको रहेछ । यतिसम्म त भयो–भयो, कास्कीमा सल्लाह नगरी उम्मेद्वार खडा गरेको अर्को रिस रहेछ । त्यहाँ बाबुरामको जोडमा उपेन्द्रले नै सही गरेको टिकटबाट धर्मराज गुरुङ उम्मेदवार बनेका छन् । 

उता, ओलीलाई न्युट्रलाइज्ड गर्न उपेन्द्रले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई गुहारेको कुरा राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सार्वजनिक गरिदिएका छन् । उपेन्द्रले भनेका रहेछन्, ‘मैले एमाले छोडेको कारण उताका मान्छे मसँग रिसाएका छन् । भोलि तपाईंको नेतृत्वमा हाम्रो पार्टी नेकपामै एकीकृत हुन सक्छ नि †’ उपेन्द्रको ‘लोकतान्त्रिक समाजवाद’ नामक पुस्तक विमोचनका क्रममा दिनानाथले ‘हामी तपाईंलाई स्वागत गर्न आतुर छौँ’ भन्दै कतिपय कुरा छरपष्ट पारिदिएका हुन् । अहिले मधेसी दलबीचको एकतामा अनिल झा र राजकिशोर यादव अनिच्छुक देखिएका छन् भने महेन्द्र राय यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीहरू आतुर छन् । महन्थ ठाकुरचाहिँ मौन दखिन्छन् । सबैको जोड छ, उपेन्द्र सरकारबाट बाहिरिए हुन्थ्यो । उपेन्द्रले चाहिँ आफूखुशी नछोड्ने भन्दै केपीले रौतहटको मुद्दा ब्युँताएर सिध्याउन चाहेको सुनाउने गरेका छन् । बरु, एकतापछि संयुक्त मेकानिज्मबाट निर्णय गराएर सरकार छाड्न सकिने भनेका छन् । एकता नभई सरकार छाड्ने मनस्थितिमा छैनन्, एकता गरिहाल्ने अवस्था पनि तत्काल छैन ।

अर्कातिर, छिमेकी देशले पनि राजपा र समाजवादी पार्टीबीचको एकता देख्न झ्याम्मै नचाहेको बुझिन्छ । नेपालका दलहरू अविश्वसनीय अवस्थामा आए, पकडभन्दा बाहिर गए भने कसको भर पर्ने ? चिन्ता यस्तो छ । यदि राजपा र समाजवादीबीच एकता भयो र उपेन्द्रले एकढिक्का पारी सबैलाई नेकपामा लिएर गए भने मधेशमा चलखेलको प्रयोजन सकिन्छ । भारतका लागि नेकपा अनुकूलको भएन–भएन, नेपाली कांग्रेससँग पनि खुलस्त सम्बन्ध राख्नमा समस्या उत्पन्न भएको छ । अर्थात्, सभापति देउवाप्रति पनि सशंकित छ दिल्ली । संविधान जारी गर्दा सुशील कोइराला भारतीय इच्छाअनुरुप नगएजस्तो अहिले कालापानीको विषयमा देउवाको अभिव्यक्ति चसक्क बिझाउने खालको आएको छ । ‘यो सरकारको काम हो, कूटनीतिक माध्यमबाट हल होस्’ जस्ता भाषामा देउवा सिमित होलान् भन्ने बुझाई थियो । तर, तरुण दल र नेविसंघका नेतालाई घरमै बोलाएर दूतावासको गेटमै टायर बाल्न लगाएको कुराले भारत बिच्किएको अवस्था छ । 

यसबीच अर्को महिना कार्यकाल सकिन लागेका भारतीय राजदूत मञ्जिव सिंह पुरी अमृतसरबाट पाकिस्तानले भर्खरै नयाँ गुरुद्वारा (शिखहरूको मन्दिर) छिर्न खोलेको पैदलमार्ग हँुदै कर्तारपुरतिर लागेका छन् । उनीपछिको वरियतामा रहेका डिसिएम विनयकुमारको पनि कार्यकाल सकिन लागेको छ । उनले चाहिँ केटाकेटी सेन्ट्रल स्कुलमा पढिरहेको कारण देखाउँदै केही समय थपको लागि लबिङ रहेको बताइन्छ ।
 

टिप्पणीहरू