महिलाहरुलाई जहाँ गए पनि मुश्किल मात्रै

महिलाहरुलाई जहाँ गए पनि मुश्किल मात्रै

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ निवासी ३८ वर्षीया अमृता उप्रेतीले करिब ८ वर्ष आफ्नै व्यवसाय सञ्चालन गरिन् । आफ्नै घरमा कस्मेटिक र पार्लर थियो । ६ लाख लगानीबाट थालेको व्यवसायबाट दैनिक ७ हजारसम्म आम्दानी गरिरहेकी थिइन् । तर, तीन वर्षदेखि उनी गृहिणीको रूपमा रहेकीे छिन् । घर र परिवारको दोहोरो जिम्मेवारीका कारण व्यावसायिक जीवनबाट पलायन हुनुपर्‍यो । भन्छिन्, ‘परिवारको साथ, सहयोग भए मात्र महिलाहरू उद्यमी हुन सम्भव छ, नत्र नसकिँदो रहेछ ।’

आमा बनेपछि व्यवसाय सम्हाल्ने कि बच्चा हेर्ने समस्या भयो । त्यसैले व्यवसाय नै बन्द गरिन् । हुन त, विगतमा उनी निजी संस्थानमा जागिरे पनि थिइन् । तर, आफ्नै व्यवसाय हुँदा आम्दानी र स्वतन्त्रता बेग्लै हुने भएकाले व्यवसायतर्फ लागिन् । व्यवसायप्रतिको लगाव अझै घटेको छैन, छोरी हुर्किएपछि पुनः काम थाल्ने बताइन् । 

ओमसतिया गाउँपालिकाकी ३३ वर्षीया गंगा राना क्यासिनोमा जागिरे छिन् । तर जागिर रहर हैन बाध्यता हो । कस्मेटिक व्यवसायी थिइन् । जीवनको उर्वर १० वर्ष व्यवसायमा बिताइन् । तीन लाखको लगानीबाट खेलौना र कस्मेटिक पसल सञ्चालन गरेकी थिइन् । त्यस समयमा मासिक ३० हजारसम्म आम्दानी गर्थिन् । श्रीमान् वैदेशिक रोजगारीमा, आफू घरमा, दुवैले राम्रै आम्दानी गरेर परिवार चलाइरहेका थिए । तर एक्कासि बज्रपात आइलाग्यो ।

श्रीमान्ले अर्कैसँग सम्बन्ध राखेपछि औपचारिक रूपमा सम्बन्धविच्छेद गर्नुपर्‍यो । घरपरिवारविहीन उनले नाबालक सन्तान र व्यवसाय दुवैलाई हेर्न सकिनन् । लगानीको सुनिश्चितता र परिवारको सहयोग नभएपछि व्यवसाय छोड्नुप¥यो । भन्छिन्, ‘व्यवसाय एक्लैले नहुँदो रहेछ, । नियमित हेर्न नसक्दा आम्दानी घट्दै गयो, त्यसपछि धेरैले जागिर खाए आम्दानी थोरै भए पनि नियमित पैसा आउँछ भनेर सुझाव दिन थाले । मन हुँदाहुँदै पनि व्यवसाय छाड्नुपर्‍यो ।’ रानाले पनि केही समयपछि पुनः व्यवसायमै फर्किने बताइन् ।

व्यवसायमा धेरै समय चाहिन्छ । घरधन्दा चलाउनुपर्ने भएकाले धेरै महिलाले व्यवसाय गर्दा पारिवारिक सहयोग पाउँदैनन् । पारिवारिक कारणसँगै महिलाहरूको व्यवसायमा पहुँच नहुनुको अर्को कारण हो आर्थिक अवस्था । व्यवसाय खोल्नमात्र होइन अगाडि बढाउन पनि रकम चाहिन्छ । आर्थिक रूपमा परनिर्भर कतिपय महिला व्यवसाय बढाउन आफैंले रकम खर्चन सक्दैनन् । कतिपय आर्थिक अवस्था कमजोर भएकै कारण महिलाहरू लगाव, इच्छा र मिहेनत हुँदाहुँदै पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । तिनैमध्येकी एक हुन् रूपन्देहीकी कमला न्यौपाने । एक वर्षदेखि घरमै, अचार, सुत्केरी मसला बनाएर परिवारलाई सघाउने प्रयासमा छिन् । भन्छिन्, ‘आफ्नै व्यवसाय गर्ने इच्छा त छ तर आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा गर्न सकिरहेकी छैन । सरकारले अनुदानका कार्यक्रम ल्याए व्यवसाय थाल्थें । 

पछिल्लो समय उद्योग व्यवसायमा महिलाहरूको संख्या बढ्दो छ । औपचारिक शिक्षा लिएका नलिएका, आर्थिक रूपमा सम्पन्न होस् अथवा मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गर्ने महिलाले व्यवसाय गर्न थालेका छन् । तर, पारिवारिक सहयोग नहुँदा कतिपय भने व्यवसायबाट छिट्टै पलायन हुने गरेका छन् । पारिवारिक साथ हुनेहरूले भने निरन्तरता दिएका छन् ।

रूपन्देही जिल्लाको सबैभन्दा पुरानो व्यवसायीहरूको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघकी पहिलो कार्यसमिति सदस्य यमकला न्यौपानेले २०४५ सालबाट किराना तथा खुद्रा व्यापार थालेकी थिइन् । त्यसबेला व्यवसायी महिलाहरूको संख्या अत्यन्तै न्यून थियो । भन्छिन्, ‘महिलाहरूको त्यो समयमा व्यवसाय अत्यन्तै न्यून थियो । तर, श्रीमान्को साथले गर्दा सफल भयौं ।’ 

त्यस्तै, २०५९ सालदेखि निरन्तर व्यवसाय गर्दै आएकी छन् सिद्धार्थनगर नगरपालिका वडा नं ८ निवासी पल्लवी न्यौपानेले । तीन हजारको लगानीबाट श्रृंगार ब्युटीपार्लर चलाउन थालेकी हुन् । निजी विद्यालयमा शिक्षिका रहेकी उनी घर परिवारलाई रिझाएर व्यवसायमा लागिन् । न्यौपाने भन्छिन्, ‘त्यो समयमा ब्युटीसियनहरूलाई हेर्ने दृष्टिकोण फरक थियो, गरिने व्यवहार फरक थियो, तर पनि परिवारको सहयोग र हौसलाले यहाँसम्म आइपुग्न धेरै मद्दत भयो ।’ पल्लवी त्यो समयमा पनि आफूले दैनिक ६ हजारसम्म आम्दानी गरेको स्मरण गर्छिन् । हाल राजनैतिक रूपमा समेत सक्रिय छन् ।

कतिपय उद्योग व्यवसाय महिलाका नाममा दर्ता त छन् तर सञ्चालन पुरुषले मात्रै गरेका छन् । घरेलु तथा साना उद्योग रूपन्देहीको तथ्यांकअनुसार हालसम्म १८ हजार ६ सय ९१ उद्योग दर्ता भएका छन् । २०७२÷७३ पछि मात्रै पनि ११ हजार ९ सय ९५ उद्योग थपिएका छन् । त्यसमा ८ हजार ७६ पुरुषका नाममा दर्ता छन् । ३ हजार ९ सय १९ महिलाका नाममा दर्ता छन् । घरेलु तथा साना उद्योग रूपन्देहीका वरिष्ठ उद्योग अधिकृत मोहन परियारका अनुसार वाणिज्यतर्फ महिलाहरूको नामबाट दर्ता हुँदा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कारण पनि आकर्षण बढेको हो । तर, उद्योगमा यस्तो अवस्था छैन । महिलाहरू उद्योग दर्ताको प्रक्रिया सोध्न आउने तर फर्कने गरेका उदाहरण पनि छन् । यसरी हेर्दा सम्पत्तिमा स्वामित्व, आर्थिक उपार्जनमा कम सक्रियता भएकै कारण पनि महिलाहरू व्यावसायिक बन्न सकिरहेका छैनन्।

व्यवसायमा नै कम सहभागिता भएपछि रूपन्देहीका व्यावसायिक संस्थामा समेत महिला नेतृत्व देखिँदैन । नेतृत्व त परको कुरा, पदाधिकारी महिला बन्न पनि हम्मे छ । सिद्धार्थ उद्योग वाणिज्य संघमा हालसम्म कुल सदस्य संख्या करिब हजार सदस्य रहेको छ । जसमध्ये कुल सदस्यको वाणिज्यतर्फ १ हजार १ सय ६३, उद्योगमा ४ सय ८ र कर्पोेरेटतर्फ १ सय १२ गरी जम्मा १ हजार ६ सय ८३ ले नवीकरण गराएका छन् । २०७५ सालदेखि २०८१ सालसम्म उद्योगमा ९७, वाणिज्यतर्फ ३ सय ३२ र कर्पोरेटतर्फ ११ गरी जम्मा ४ सय ४० महिला सदस्य छन् । हाल संस्थाको कार्यसमितिमा ५ जना महिला सदस्य छन् । तर हालसम्म एउटा पनि पदाधिकारी आउन सकेको छैन । 

रूपन्देही उद्योग व्यापार संघमा पनि स्थिति त्यस्तै छ । कुल सदस्य संख्या ४८ रहेकोमा एक महासचिवसहित सचिवालय सदस्य दुई मात्र महिला छन् । रूपन्देही उद्योग संघमा हाल १ हजार ८३ सदस्य संख्या रहेको छ । जसमध्ये १ सय १४ जना महिला छन् । एक सचिवसहित दुई जना कार्यसमिति सदस्य महिला रहेका छन् । २०३५ सालमा स्थापित उक्त संस्थाका सचिव मञ्जु भुसालका अनुसार, दोहोरो जिम्मेवारीका साथै संस्था नेतृत्व गर्ने विषयमा हालसम्म पनि प्रश्नचिह्न उठ्ने गरेकै छ । बुटवल उद्योग वाणिज्य संघमा पनि महिला पदाधिकारी छैनन् । बल्लतल्ल सह—कोषाध्यक्षमा यसपालि धना खनाल पुगिन् । 

लुम्बिनी प्रदेश सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भगवती अधिकारीले आफ्नो अधिनमा आर्थिक नहँुदा धेरै महिला मन भए पनि व्यवसायमा लाग्न र टिक्न नसकेको बताउँछिन् । उनी उक्त मन्त्रालयमा रहँदा ‘लुम्बिनीका महिला आत्मनिर्भरता पहिला’ भन्ने शीर्षकमै कार्यक्रम ल्याइएको थियो । अधिकारीले आमा बन्दा रोजगारी गुम्न नदिन मुख्य औद्योगिक र व्यावसायिक क्षेत्रमा श्रमिक लक्ष्यित सामुदायिक शिशु स्याहार केन्द्र खोल्ने नीति तथा कार्यक्रम नै अघि बढाएको जानकारीसमेत दिइन् । प्रदेशमा रहेका ३३ जना महिला सांसदले निरन्तर यो मुद्दालाई उठाइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू