​जताततै जँड्याहाको जगजगी

२४ सै घण्टा झल्लु हुने एक जनाको पहुँच बालुवाटारदेखि प्रदेशका मन्त्रालयसम्म । पक्राउ परेको २४ घण्टा नबित्दै थुनामुक्त । कार्यालय समयमै मापसे गरी कुर्सीमा निदाउने बानी लागेका हाकिम हुन् भूपबहादुर बोगटी जो महोत्तरीको मालपोत प्रमुख छन् । एक महिनाअघि सेवाग्राहीबाट उजुरी पुगेपछि जिल्ला प्रशासन कार्यालय एक्सन लियो । थुन्यो । तर, पहुँच बालुवाटारदेखि प्रदेश मन्त्रालयसम्म । जँड्याहालाई छुटाउन एसपीलाई बालुवाटारबाटै फोन गएको स्रोतको दाबी छ ।

प्रजिअ सूर्यबहादुर खत्रीलाई प्रदेशका मन्त्री रामनरेश रायले समेत फोन गरेपछि उनी छुटे । २४ घण्टा थुनामा परे पनि लत अझै छुटेको छैन । ओखलढुंगाका यिनको ससुराली झापा हो । ओली थर । बालुवाटारसँग नाता भएका । उनलाई छुटाउन भैरहवामा कार्यरत सशस्त्रका एसपी (भाइ)ले समेत पहल गरेका थिए । सिडिओले कार्यकक्षमै पुगेर सम्झाउन खोजे । टेन्सनमा थिएँ भनेर जवाफ फर्काए । सिडिओले आचारसंहिताबारे सम्झाए, बुझाए । नानीदेखि लागेको बानी सिस्नुपानी लाए नि नजाने भनेझैं बानी सुध्रिएन । यसअघि  भक्तपुर मालपोतमा थिए । त्यहाँ पनि झल्लु । जिल्लाबाट सात दिनको बिदा लिएर काठमाडौं आए पनि ३÷४ दिनमै फर्किन्छन् । सायद घरमा रक्सी खाने सुविधा छैन । निकटस्थहरू भन्छन्, ‘कस्तो चियाको सट्टा पनि रक्सी नै चाहिने होला ?’ 

रक्सी, र जुवातास नियन्त्रणमा कडाइ गरेका सिडिओ खत्रीले अहिले अधिकतम २५ दिन थुनामा, १ लाख २५ हजार जरिवाना र एक वर्ष कैद हुने अभियान नै चलाएका छन् । यो अभियानले जुवातास नियन्त्रणमा सघाउ पुगेको छ । यस्तै धन्दामा सक्रिय बिच्छा थरका सिरहा जिल्ला अदालतका श्रेस्तेदार (स्थायी ठेगाना महोत्तरी) विरुद्ध जिल्ला प्रशासनमा उजुरी प¥यो ।  गाउँलेलाई चक्रिय ब्याजमा ऋण दिने, पछि कुटपिट गरी अभद्र व्यवहार गर्ने गरेको उजुरी परेसँगै प्रशासनले समातेर २५ दिन थुमाना राखी एक लाख जरिवाना तिराएको छ । उनी अहिले थुनामुक्त छन् । यता, भारतमा मदिरामाथि प्रतिबन्ध भएसँगै नेपाल आएर मदिरा खाई होहल्ला गर्ने ४ जना थुनामा पुगेका छन् । 

टिप्पणीहरू