​उन्मादले यसरी निम्त्याउँछ अभिषाप

  • राजेन्द्र स्थापित

इरानका अन्तिम राजा मोहम्मद रेजा साह पहल्बीले पहिलो बिहे १९ वर्षको उमेरमा सन् १९३८ मा मिश्रका तत्कालीन राजा फारुककी बहिनी फौजिया बिनसँग गरे । साह त्यसबखत युवराज थिए । १७ वर्षीया फौजिया अत्यन्त राम्री थिइन् र उत्तिकै स्वाभिमानी पनि । बिहेको वर्ष दिनपछि छोरीको आमा बनिन् तर पछिल्लो ८ वर्षसम्म कुनै सन्तान भएनन् । इरानको संविधानमा छोरा मान्छे मात्र गद्दीको उत्तराधिकारी हुन पाउने व्यवस्था थियो, छोरा जन्माउन नसकेपछि निराश भई फौजिया स्वदेश फर्किइन् । माइत बसेरै सम्बन्धबिच्छेदको माग गरिन् र तत्काल स्वीकृति पाइन् । 

फौजियाले सम्बन्ध तोडेपछि नयाँ दुलहीको खोजी शुरु गरियो । त्यसबेलासम्ममा साह इरानको शासक बनिसकेका थिए । दोस्रो विश्वयुद्ध शुरु हुँदै गर्दा सन् १९४१ को अगस्त २५ मा अचानक बेलायत र सोभियत संघको संयुक्त सेनाले इरानमाथि आक्रमण गरी राजालाई गद्दीबाट उता¥यो र उनको स्थानमा २१ वर्षका युवा मोहम्मद रेजा साहलाई राजा बनायो । सन् १९४८ मा साहको नजर बख्तियारी कबिलाका मुखियाकी छोरी सोरयामाथि प¥यो । सोरया इरानी बाबु र जर्मन आमाकी पुत्री थिइन् । राजनीतिमा अलिकति पनि रुचि नभएकी सोरया इरानको रानी बनिन् । सोरया अत्यन्त सौम्य र महान् सुन्दरी थिइन् तर अनेक प्रयत्नको बाबजुद आमा बन्न सकिनन् । उनले आफ्नो भाग्य पनि फौजियाको भन्दा फरक देखिनन् र मन नलागी–नलागी सम्बन्ध बिच्छेद मागिन् । साह र सोरया कानुनी तवरबाट सन् १९५८ मा अलग्गिए । साह सोरयालाई यतिविघ्न प्रेम गर्थे कि सम्बन्धबिच्छेद भएको दिन क्वाँ–क्वाँ रोए । साहभन्दा १३ वर्ष कान्छी सोरया त्यसबखत २६ की थिइन् । 

फराह दिबा तेहरानकै सेनाका क्या. सोहराब र फरिया घोत्बीको एक्लो सन्तान । सन् १९४८ मा सोहराबको असामयिक निधनपछि परिवारमा आर्थिक संकट छायो । राजधानीमा टिक्न मुस्किल भएपछि परिवार उत्तरी तेहरानतर्फ लाग्यो, जहाँ फराह काकाको परिवारमा हुर्किइन् । आधारभूत शिक्षा हासिल गरेपछि पेरिसतर्फ लागिन् र आर्किटेक्ट इञ्जिनियर पढ्न शुरु गरिन् । इरानका साह (राजा) विभिन्न मुलुकको भ्रमण गर्दै सन् १९५८ मा फ्रान्स पुगे । त्यहाँ अध्ययनरत छात्रछात्रासँग भेट्ने इच्छा देखाएपछि पेरिसस्थित इरानी दूतावासले कार्यक्रम आयोजना ग¥यो । २१ वर्षकी फराहलाई साहले पहिलोपटक त्यहीं देखे । र, सोधे, ‘तिमी यहाँ के पढ्दै छौ ?’

फराह ः आर्किटेक्ट इञ्जिनियरिङ ।

साहले जिस्क्याउ“दै भने, ‘तिमी इरान फर्केपछि मसित भेट्न आऊ । म मेरो दरबारको स्वरुप बदल्न चाहन्छु । मलाई विश्वास छ, तिमी यसमा पारंगत छौ ।’

दुई वर्ष लामो फ्रान्स बसाइपछि गर्मी बिदा मनाउन फराह स्वदेश फर्किइन् । समयको सदुपयोग गर्दै एक दिन परराष्ट्रको विभागमा छिरिन् । विभागका निर्देशक साहका ज्वार्इं, अर्देशर जहेदीसँग भेटिन् । कुराकानी सकाएर निस्कनै लाग्दा जहेदीकी पत्नी अर्थात् साहकी छोरी (फौजियातर्फकी) साहनाज कक्षमा प्रवेश गरिन् । साहनाज फराहको सुन्दरता देखेर अवाक् बनिन् । त्यसदिन उनीहरुबीच सामान्य परिचय मात्र भयो । 

दुई दिनपछि साहनाजले फराहलाई घरमा बोलाइन् । करिब एक घण्टामा साह पनि पुगे । फराहलाई कोठामा एक्लै छाडेर साह र साहनाज एकछिन हराए । फराह त्यसदिन खाजा खाएर घर फर्किइन् । दुई दिनपछि साहनाजले पुनः घरमा बोलाइन् । त्यसदिन पनि साह टुप्लुक्क आइपुगे । सामान्य कुराकानी भयो । साहले फराहसित परिवारको बारेमा सोधे । यसबीच साहनाज र फराह साथीजस्तो बनिसकेका थिए । साहनाजले फराहलाई तेस्रोपटक चिया खान बोलाइन् । त्यो दिन पनि एकछिन साहको आगमन भयो । त्यो दिन साहले फराहसँग सिधै बिहेको प्रस्ताव राखे । फराह ‘नाइँ’ नभनीकन घर फर्किइन् । र, बिदा सकिएकाले पुनः पेरिसतर्फ लागिन् । एकदिन कलेजबाट फर्कने क्रममा भूमिगत रेलको यात्रा गर्दै थिइन् । अचानक एकजना यात्रीले पढ्दै गरेको अखबारमा आफ्नो फोटो देखेर अचम्ममा परिन् । पत्रिकामा इरानका साह र उनको बिहे हुने पक्कापक्की भइसकेको समाचार थियो । त्यो दिनपछि उनको जीवनशैलीमा एकाएक परिवर्तन आयो । उनलाई हेर्ने अरुको व्यवहारमा बदलाव आयो । दूतावासका कर्मचारीले सलाम ठोक्न थाले । 

पत्रिकामा समाचार प्रकाशन भएको तीन सातापछि सन् १९५९ को डिसेम्बर २० मा फराह इरानको महारानी बनिन् । बिहेको दिन विश्वभरिका पत्रकारहरु जम्मा भए । भर्खर २१ वर्षमा टेकेकी फराहलाई हेर्न तेहरानमा इरानीहरु एकत्रित भए । दुलहीको रुपमा फराहले जुन लुगा लगाएकी थिइन्, त्यो विश्वप्रसिद्ध फ्रान्सेली फेसन डिजाइनर येभेस सेन्ट लरेन्टले तयार पारेका थिए । टाउकोमा विश्वकै ठूलो मानिएको ६० क्यारेटको अण्डाकारको फिका गुलाबी हिराजडित मुकुट थियो । उक्त हिरा भारतका मुगल राजपरिवारको थियो, जुन इरानका शक्तिशाली शासक नादिर साहले दिल्लीमाथि आक्रमण गर्दा लुटेर लगेका थिए । बिहेको बेला साहको उमेर ४० थियो, फराह उनीभन्दा १८ वर्षले कान्छी ।

१० महिनापछि फराहले साह परिवारको सपना साकार पारिदिइन्, छोरा (रेजा पहल्बी) लाई जन्माएर । तत्काल रेजा युवराज घोषित भए । फराह पछि छोरीहरु फरहनाज र लैला तथा छोरा अलि रेजाको पनि आमा बनिन् । स्मरणीय छ, राज्याभिषेकको समयमा फराहले लगाएको मुकुटमा जडित हिरा १० हजार ४ सय क्यारेटको थियो । मुकुटमा २६ हजार ७ सय ३३ वटा हिरा थियो । यो मुकुट साहका बाबु रेजाले आफ्नो राज्याभिषेकमा लगाउन बनाउन दिएका थिए तर सन् १९४१ मा अकस्मात अपदस्थ हुनुपरेका कारण उक्त मुकुट लगाउने सपना अपुरो रह्यो । राज्याभिषेकको बेला फराहले लगाएको गाउन २० फुट लामो थियो, जसलाई पछि–पछि ६ जना सेविकाले उठाएका थिए । उक्त पोशाक २२ जना सूचिकारले चार महिना लगाएर बनाएका थिए । 

फराहले शुरुशुरुमा नम्रता प्रदर्शन गरिन् तर बिस्तारै राजनीतिमा पकड बलियो पार्न थालिन् । राज्यको सम्पत्तिको दुरुपयोग गर्नतर्फ अग्रसर भइन् । राज्य कोषलाई निजी सुख–सुविधामा सीमित पार्न थालिन् । इंग्ल्याण्डकी महारानी एलिजाबेथ, बेल्जियमकी फेबियोला, जापानकी नागाको, थाइल्याण्डकी सिरिकित, जोर्डनकी आलियालाई माथ खुवाउने गरी खर्च गर्न थालिन् । यद्यपि सामाजिक अभियन्ता पनि नबनेकी हैनन् । इरानी महिला बुर्काभित्र बस्न नपर्ने प्रथा चलाइन् । उनैको सक्रियतामा सन् १९६३ मा इरानी महिलाले मताधिकार प्राप्त गरे । लगत्तै महिला पनि शहरको मेयर, सांसद र मन्त्री बने । सम्बन्धबिच्छेदमा महिलाले पनि पुरुषसरह समान अधिकार प्राप्त गरे । श्रीमतीको सहमतिबिना पुरुषले अर्कीसँग बिहे गर्न नपाउने भए । देशभरि परिवारनियोजन केन्द्र खुल्यो । प्रसूतिका लागि आफैं अस्पताल भर्ना भई उदाहरण बनिन् । दरबारभित्र खुलेको स्कुलमा सर्वसाधारणले पनि पढ्न पाउने व्यवस्था मिलाइन् । महिला शिक्षामा जोड दिइन् । 

फराह फिलिपिन्सको प्रथम महिला इमेल्डा मार्कोसजस्तै बन्न चाहन्थिन् । उनको पहलमा ठुल्ठूला योजना या त आफ्ना आफन्तले या घुस दिनेले पाउन थाले । प्रमुख उद्योगहरुमा आफ्नो स्वामित्व कायम गरिन् । हेर्दाहेर्दै राज्यको ६ हजार उद्योगको सेयर किनिन् । विदेशमा पनि लगानी गरिन् । अमेरिका, स्विट्जरल्याण्ड र इजिप्टको बैंकमा खरबौं रकम जम्मा गरिन् । यही बैंक खातामार्फत साह आफ्ना समर्थकहरुलाई रकम भुक्तानी गर्थे । साह र फराहको यो गैरकानुनी काममा अर्थमन्त्री हुशांग अन्सारी र आर्थिक सल्लाहकार मोहम्मद बेहबेहानियान प्रत्यक्ष संलग्न हुन्थे । पछि अन्सारी अमेरिकी जासुस बने र साहसँगै विदेश पलायन भए ।

अमेरिकाप्रतिको अन्धभक्ति, भ्रष्ट शासन, राज्य ढुकुटीको दोहन, मुस्लिम सभ्यतामाथि पश्चिमी सभ्यताको हस्तक्षेप आदिको कारण सन् १९७८ मा इरानी जनता साहको विरुद्ध उठे । आन्दोलन दबाउन सैन्य शासन लागू गरियो । साहलाई टिकाउन अमेरिकाले ठूलो प्रयत्न ग¥यो । जनता साहको सत्ता फालेर पेरिसको निर्वासनमा बसिरहेका धार्मिक नेता आयोतुल्लाह खोमेनीलाई स्वदेश ल्याउन तयार भए । आन्दोलन दबाउन नसकिने देखेपछि र अमेरिकाको संकेत पाएपछि साहले परिवारसहित सन् १९७९ को जनवरी १६ मा भाग्ने योजना बनाए । त्यसबेला पनि फराहको लोभ भने राज्याभिषेकमा लगाएको हिरा र अन्य गहना लानेतिर केन्द्रित रह्यो । ती सबै गहना मरजाकी बैंकमा थियो । फराहले गहना निकाल्ने प्रयास गरिन् तर दुर्भाग्य त्यसदिन इरानभरि आमहड्ताल थियो, बैंक पनि बन्द थिए । उनीहरू रित्तो हात भागे । यद्यपि, त्यो बेला पनि साह–फराह विश्वका धनीमा गनिन्थे किनभने विभिन्न विदेशी बैंकमा उनीहरुको नाममा करोडौं डलर जम्मा थियो । 

साह–फराह तथा उनीहरुका छोराछोरी विदेश त भागे तर कसैले शरण दिने हिम्मत गरेनन् । भागेको थाहा पाएपछि इरानको क्रान्तिकारी सरकारले साह र फराह दुवैलाई फाँसी दिने घोषणा गरिसकेको थियो । फराहको इजिप्टका राष्ट्रपति अनवर अल सादातकी पत्नी जहाँ सादातसँग राम्रो मित्रता थियो । त्यसैको आधारमा उनीहरुले इजिप्टमा शरण पाए । इरानले लगातार साह–फराहलाई समातेर सुम्पन दबाब दिएपछि इजिप्ट पनि एक पाइला पछि हट्यो । १४ महिनाको इजिप्ट बसाइपछि उनीहरु मोरक्को पुगे । त्यहाँबाट बहामास । बहमासले पनि भिसा रिन्यु नगरिदिएपछि मेक्सिको गए । साह इजिप्टमा रहँदै सिकिस्त बिरामी भइसकेका थिए । तसर्थ उपचारार्थ अमेरिका गए तर अमेरिकाले संरक्षण गरेको भन्दै इरानी विद्यार्थीले तेहरानस्थित अमेरिकी दूतावास घेरेर ५२ जना कूटनीतिज्ञलाई ४४४ दिनसम्म बन्धक बनाएपछि साह पनामास्थित कोन्टाडोरा टापु गएर बसे । 

पनामाले पक्रेर बुझाउन आँटेको गोप्य सूचनाको आधारमा साह पुनः इजिप्ट फर्के । त्यहाँ पुगेको चार महिनापछि सन् १९८० को जुलाई २७ मा उनको निधन भयो । यसबीच १९८१ मा सादातको हत्या भयो । फराह त्यहाँबाट पनि भागिन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले स्वागत गर्ने भनेपछि छोराछोरीसहित त्यहाँ पुगिन् । र, म्यासाचुसेट्समा बस्न थालिन् । सन् २००१ मा छोरी लैलाको निधनपछि फराह मेरिल्याण्डमा एउटा सानो घर किनेर बस्न थालिन् । ८१ वर्ष पुगिसकेकी उनी हाल पनि त्यहीं छिन् । गद्दीको उत्तराधिकारी घोषित भएर पनि राजा बन्न नपाएका ५९ वर्षीय रेजा पहल्बी भने मोरक्कोमा बस्छन् । 

 

टिप्पणीहरू