​बालुवाटारका दूतको यस्तो बबण्डर

प्रधानमन्त्रीले आफ्नो सहजता र व्यवस्थित हुन सचिवालय फेर्नुभयो । तर, नयाँ जोगीहरू खरानी घस्नमै मग्न छन् । सुन्दा र भन्दा पनि लाजै लाग्ने कुरा छ कि, अहिले प्रधानमन्त्री कार्यालयमा देशबारे हैन, कार्यकक्षको किचलो चल्दै छ । र, त्यहीँबाट अर्का पार्टी अध्यक्ष प्रचण्डमाथि प्रहार हुने क्रम जारी छ ।

प्रधानमन्त्री कार्यालयका यी वितण्डावाल सल्लाकार हुन्, सूर्य थापा । उनले एक दैनिक अखबारमा प्रचण्डलाई कटाक्ष गर्दै प्रकाशन भएको विश्लेषण सोमबार बिहानै आफ्नो फेसबुक पेजबाट शेयर गरे । त्यही दिउँसो नेकपा सचिवालयको बैठकमा एकताको बाँकी प्रक्रिया टुंगोमा पु¥याउने तयारी चल्दै थियो । बिहानै प्रमका प्रेस हेर्ने मान्छे, अर्का सचिवालय नेता ईश्वर पोखरेलका भित्रिया सूर्यले आफ्नो वालमा टाँसिदिए, ‘यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्वविद्रोही नेता प्रचण्ड ।’

स्वाभाविक थियो, पूर्वमाओवादीले यो कार्यशैलीको आलोचना गरे, सामाजिक सञ्जालबाटै । यस्तो भएपछि आफू प्रधानमन्त्रीसँग जोडिएको, साझा हुन नसके पनि साझाजस्तो देखिन खोज्नुपर्नेले पूर्वमाओवादीलाई उल्टै जवाफ लेखिदिए, ‘मेरो स्ट्याटस हो कि अरूको लेख शेयर गरेको भनेर छुट्याउनसमेत नसक्ने मनुवा हुन् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् ? एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू ? छिः छिः ! मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?’ त्यसअघि खेलकुद संगठनका सहसंयोजक शिव कोइराला (ज्वाला) ले लेखेका थिगए, ‘कृष्णसेन पुरस्कार दिलाउने र दिनेले गल्ती महसुस नगरेसम्म त्यो प्युसोसँग कुस्ती खेल्न खासै मज्जा नआउलाझैँ लाग्यो !’ प्रचण्ड सचिवालयका मनोहरि तिमिल्सिनाले ‘दया लाग्छ कमरेडको नियत र गतिविधि देख्दा’ भनी टिप्पणी गरे ।

उता, प्रेस सल्लाहकारको जागिर खान पुग्दापुग्दै परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसँग यसरी पँधेरे शैलीको झगडा प¥यो कि सुन्न र भन्न पनि लाज ! अहिले यी दुईबीच कुनै हार्दिकता छैन, राम्रोसँग बोलचाल पनि हुँदैन । कारण हो, राजनको कार्यकक्ष सूर्यले कब्जा गरे । खासमा, प्रधानमन्त्रीको प्रेस सल्लाहकारका लागि कार्यकक्ष छुट्ट्याइएको छ, ऊर्जा मन्त्रालयको पुछारको तलामा । त्यसअघिका सल्लाहकार तथा वरिष्ठ पत्रकार कुन्दन अर्यालले त्यही कार्यकक्ष चलाए । सूर्यचाहिँ त्यहाँ बसेनन् मात्र हैन, राजन भट्टराईको कुर्सी कब्जा गर्न पुगे । राजनको कार्यकक्ष प्रधानमन्त्री कार्यालयकै दोस्रो तलामा थियो । राजन त्यसबेला अमेरिका पुगेका थिए ।

टिप्पणीहरू