​वृद्ध कामरेडको अलग बाटो

देशका प्रधानमन्त्री केपी ओली, वरिष्ठ कम्युनिष्ट नेता हुनुहुन्छ । उहाँलाई कम्युनिष्ट बनाउने हुन्, रामनाथ दाहाल र मोहनचन्द्र अधिकारी । त्यसमध्ये रामनाथ त सुखानीका शहीद भइहाले, मोहनचन्द्रचाहिँ अहिले केहीसीप नलागेर केशरबहादुर विष्टको कार्यकर्ता बन्न पुगेका छन् । 

नेपाली नेल्सन मण्डेलाका रूपमा परिचित मोहनचन्द्र अधिकारी अहिले संवैधानिक राजतन्त्र, हिन्दुत्व पुनर्वहाली र संघीयताको खारेजीको तीन सूत्रे एजेण्डा बोकेर जीवनमा कम्युनिष्टबाहेक सबै घाटका पानी पिएका केशरबहादुर विष्टहरूको पथप्रदर्शक बन्न पुगेका छन् । अस्ति मात्र गठन भएको राष्ट्रिय शक्ति नेपाल अभियानको केन्द्रीय सल्लाहकारका रूपमा अधिकारीलाई अघि सारिएको छ । बानेश्वरमा अवस्थित कार्निभल पार्टी प्यालेसबाट ८६ केन्द्रीय सदस्यसहित ४ सल्लाहकारमा उनको नाम अटाएको छ ।

अभियान घोषणा कार्यक्रममा अधिकारीले आफू मान्छे साम्यवादी भए पनि अध्यात्मबिनाको जीवन निरस र खल्लो हुने, हिन्दुत्व नै नेपालको मूल परिचय भएको र संघीयताले मुलुकलाई सखाप पार्ने हुँदा संघीयता खारेजी, संवैधानिक राजतन्त्रको मुद्दालाई बोकेर उनी यो अभियानमा हेलिएका हुन् । त्यहाँ विश्लेषक आदित्यमान श्रेष्ठ, हेमबहादुर कार्की, मेहबुब शाह, डा. टीएन योगीहरूलाई सल्लाहकारको जिम्मा दिइएको छ । ८७ सदस्यीय केन्द्रीय सदस्यमा ‘माछी मार्न जाऔँ न दाजै कालापानीमा’ गीतका गायक जे.पापी, पूर्वपत्रकार अस्मिता भण्डारी, किशोरी महतो, डा.खेमबन्धु कोइराला, मधुकरसमशेर राणाहरू छन् ।

अभियानको केन्द्रीय कार्यालय लैनचौरमा खडा गरिएको छ । टेबलटेनिस हलनजिकै तीनतले घर भाडामा लिइएको सो कार्यालयको मासिक भाडा मात्र ६० हजार तोकिएको छ । अहिले कार्यालय भवनको मर्मत सम्भार र रंगरोगनको काम धूमधामसाथ चलिरहेको छ । अर्काे हप्ता औपचारिक उद्घाटको कार्यक्रम तय भएको छ । घर भाडाका लागि अभियानका ८७ केन्द्रीय सदस्यसहित ४ सल्लाहकारले मासिक रूपमा १ हजार योगदान गर्नुपर्ने छ । अभियान घोषणा गरिएको साता नबित्दै कार्यालयका लागि सोफा, फर्निचर, भ्याकुम क्लिनरसहित दशौं लाख बराबरका सामग्री सहयोगमा भकाभक जुटेको छ । विभिन्न जिल्लाबाट अभिायनका अध्यक्ष विष्टलाई अभियानलाई जिल्ला–जिल्लामा फैलाउनका लागि जिल्ला अभियान समिति बनाउन माग गर्दै १३ जिल्लाबाट फोन आइसकेको पूर्वमन्त्री विष्टले जनआस्थालाई सुनाए । जोशिँँदै थपे, संघीयता र धर्मनिरपेक्षताका कारण नेपालीलाई कतिसम्म खरो भइसकेको रहेछ भन्ने यो सानो उदाहरण मात्र हो । 

टिप्पणीहरू