अख्तियारको पत्र सिंहदरबारमा अलपत्र

मन्त्रालयले नै मातहतका अड्डालाई स्वदेशदेखि विदेशसम्म घुम्न साधन, श्रोत जुटाउने माध्यम र अव्यवस्थाको थलो बनाएपछि बचेखुचेका सरकारी सार्वजनिक संस्थान धराशायी बन्ने बाटोतिर लाग्ने नै भए ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड हिसाब किताब पारदर्शी नहुने तर दैनिक करोडौं आम्दानी गर्ने सरकारी संस्था हो । यसलाई अर्थ मन्त्रालयका उच्चाधिकारीले दुहुनो गाई बनाउने र लेखापरीक्षण नगराई मिलोमतोमा गुमराहमा राख्ने गर्दै आएका छन् । कम्पनीमा यति धेरै अव्यवस्था र अनियमितता छ कि बेरितपूर्वक खर्च गरिएको अरबौं रकमको रहस्य खोलिएला भनी ०६८÷०६९ देखि लेखापरीक्षण गराइएको छैन । लेखापरीक्षण गराउने र अन्य नीतिगत सुधार गर्ने जिम्मेवारी सुम्पिएर प्रमुख कार्यकारी अधिकृत बनाइएका मन्त्रालयका उपसचिव डिल्लीराज आचार्यले तोकिएको काममा सिन्को पनि भाँचेका छैनन् । बरु छोटो अवधिमै आधा दर्जन पटक विदेश पुग्न भ्याइसके । 

अख्तियारमा उजुरी छानबिन टुंग्याउन अर्थमा पत्र गयो । मंसिर १० गते मन्त्रालय पुगेको आयोगको पत्र गायब छ । अर्थको वर्तमान नेतृत्वको निकट भएकै कारण प्रतिस्पर्धाबाट छानिनुपर्ने प्रमुख कार्यकारी अधिकृतको पदमा स्वतः नियुक्ति खाएका उनकै कारण आर्थिक अराजकता बढेको, कम्पनीको लालपुर्जा लिन चासो नदिएको, साउनमै सरकारले वृद्धि गरेको तलब र सुविधा कर्मचारीलाई नीतिगत निर्णय गरी नखुवाएको लगायत असक्षमताको फेहरिस्त तयार पारेर कर्मचारी बसेका छन् । यसअघिका कार्यकारी वीरविक्रम रायमाझी र अध्यक्ष प्रकाश श्रेष्ठ पनि असक्षम ठहरिएर आफैं राजिनामा दिई बाहिरिएका थिए । 

जब लेखा परीक्षणको प्रसंग आउँछ भरसक टार्ने कोशिस गर्छन् र केही नलागे शेयरहोल्डरहरुलाई बीमा समितिले स्वीकृति दिएन वा मलेनिकाले असहयोग ग¥यो भनेर पन्छिन्छन् । यसैगरी यिनले रिक्त कर्मचारी पदमा विज्ञापन नगरी करारमा वा आउट सोर्सिंगबाट लिएर थप शुभलाभको कोशिस गरिरहेको बताइन्छ । छैटौं तहसम्म विज्ञापन गरी लोकसेवा आयोगलाई संलग्न गराएर भर्ना प्रक्रिया अघि बढाएका भएपनि सो माथिका पदमा यिनले विज्ञापन नै गराएनन् । उनको अकर्मण्यता र बीमाको ढुकुटी रित्याएर व्यक्तिगत लाभमा रमाउने बानीका विरुद्ध त्यहाँका दुइवटै ट्रेड युनियनले आन्दोलन पनि गरेका हुन् । ७ बुँदे सम्झौता गरी उनले आन्दोलन त रोके संस्थाको भलाईका पक्षमा भएका सातवटै बुँदा लामो समय बित्दासमेत कार्यान्वयनमा नआएपछि उनीहरु फेरि संघर्षको तयारीमा छन् । 

टिप्पणीहरू