‘राष्ट्रपती बिद्यादेबि भन्डारि’ हुन के बेर

सम्माननीय राष्ट्रपतिज्यूको सन्देश– नेपाली जनताले पहिलोपटक निर्बा्चित संविधान सभा मार्फत् ( ‘नेपालको संविधान २०७२’ प्राप्त गरेका छन् र यसको कार्यान्वयनको प्रक्रिया समेत सुरु भैसकेको छ। यो ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई अब देशको भाग्य र भविष्य आफैं निर्धारण गर्ने अभिभारा सुम्पेको छ ।

राष्ट्रपति कार्यालयमा अहिले सञ्चारविज्ञ, प्रेस सल्लाहकार र प्रेस संयोजक कोही छैनन् क्यारे । सचिव, प्रवक्ता, सहसचिव र सूचना अधिकारी पदका कर्मचारी छन् । राजनीतिक, मानवअधिकार आदि विषयका केही सल्लाहकार छन् । अनि नेपाली कला र संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदा विषयमा सल्लाह र सुझाव दिने विज्ञ माधव शर्मा छन् जो पहिले सञ्चारविज्ञ थिए । उनी हाल मिडियामा त्यति आउन चाहँदैनन् । शर्माको नेपाली भाषाको ‘विज्ञता’ मुलुकको राष्ट्राध्यक्षको बेवसाइटका सामग्रीमा भेटिएका वर्णविन्यासका अनगिन्ती गल्तीले ‘पुष्टि’ गर्छ ।

बर्तमान, सम्बत्, जेष्ठ, बिद्यार्थि, सफलता पूर्वक, संभव, बिषय, बैवाहिक, संगसंगै, दुखद, बर्ष, निर्बाचित, विधिवत, गाउं, बहुमुखि, संबिधान, कर्तब्य, ब्यक्त, सुदुर आदि । व वा ब देख्नेबित्तिकै त्यसलाई चिर्न माहिर रहेछन् त्यहाँका भाषाविद् । अनि विसं लेखेपछि जान्ने भएर साल पनि किन जोड्नुपरेको हो तिनलाई ? खुट्टो काट्नुपर्ने महान्मा महान लेख्नेले ब चिर्नुपर्ने बडादशैँमा चाहिँ वडादशैँ लेख्न किन अल्छी मानेका हुन् ?

कतै शम्सेर त कतै शमसेर लेखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटा( हुनुपर्ने बाँं) भएका छन् भने शहरी विकास राज्यमन्त्री रामबिर(हुनुपर्ने वीर) मानन्धर बनेका छन् । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईसम्म ठीकठीकै छ भने सर्मीला कुमारी पन्त देख्दा पाठकले हाँस्ने कि लाज मान्ने ? अरू त अरू, गोविन्दप्रसाद कलौनी जोडेर लेख्ने प्रवक्ता हरि प्रसाद दहाल(दाहाल होइन)ले आफ्नै मध्यम नाम ‘प्रसाद’लाई ‘हरि’सँग छुट्याएर आफ्नो प्रवक्ता स्वरूप छर्लङ्ग देखाइदिएका छन् । सहायक प्रवक्ता केशवप्रसाद घिमिरे भने जोडिएका छन् । राष्ट्रपतिको नेपाली भाषामा बेलाबेलामा आएको सम्बोधनमा दिइएको संवत् अङ्ग्रेजी भाषामा पनि दिइएको छ जस्तै छठ पर्व २०७६, नेपाल संवत् ११४० आदि । प्रधानमंत्री शब्द यस्तो पो छ बेवसाइटमा । 

यी त केही उदाहरण हुन्, सबै दिन थालेमा जनआस्थाका पृष्ठमा नै नअट्ने हुन्छ । राष्ट्रपति कार्यालयमा भाषाविज्ञ हुँदाहुँदै तथा मुलुकमा यत्तिका भाषाका पण्डित रहँदा रहँदै कार्यालयले आफ्नो अगुवापन बिर्सन त भएन नि ? कुनै दिन राष्ट्रपतिको नाम बिद्यादेबि भन्डारि देखिने दिन नआउला भन्न सकिन्न । पत्याउनुहुन्छ कार्यालयले हाम्रो संविधानको नाम पनि अशुद्ध लेखेको छ ?

– अनामिका कौशिका

टिप्पणीहरू