डेढ मिटरको ढलानमा तीन इञ्चको भ्वाङ

उदयपुर बेलका नगरपालिका–३ गिदेरी खोलाको पुल निर्माणमा लापर्वाही देखिएपछि मौखिक आदेशमा तत्कालका लागि निर्माण स्थगन गरिएको छ । सातमध्ये एक पिलरको ढलाइ कमजोर देखिएपछि काम गर्न रोकिएको उपमेयर राजकुमारी चौधरीले बताइन् । ढलान गरिएको एक पिलरको भित्री भागबाट पानीको मूल फुटेर निस्केको छ । फुटेको ढलान करिब तीन इञ्चको देखिन्छ । जमिन सतहमा भएको उक्त ढलाइ एक मिटर पाँच सय सेन्टिमिटरको चौडाइ भएको दाबी त्यहाँ कार्यरत भारत, बिहार वीरपुरका मजदुरले गरेका छन् । सो पिलरको जमिनमुनिको भाग १३ मिटर र जमिनमाथिको भाग १९ दशमलव ६० सेन्टिमिटर छ । १३ मिटरको भागमा ढलान गर्दा यस्तो समस्या देखिएको हो । 
 
आवासगृहमा चारदेखि पाँच इञ्चको ढलान गर्दा पानी रोकिन्छ भने पुलमा डेढमिटरको ढलान गर्दा पानीको जस्तोसुकै मूल भए पनि रोकिनुपर्ने दाबीसहित लहान सडक डिभिजन कार्यालयका निमित्त प्रमुख नारायण थापाले सो समस्याको अध्ययन गरी आवश्यक कारबाही गर्न आफू तत्पर रहेको बताए । यो पुल पप्पु कन्स्ट्रक्सन बानेश्वर र मृतसञ्जीवनी निर्माण सेवा प्रालि हेटांैडाको जोइन्ट भेञ्चरले निर्माण गर्ने ठेक्का लिएको हो । ६ वटा स्पान भएको उक्त पुलको लम्बाइ २ सय १८ मिटर छ । ०७४ साल असार मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्नेमा २० प्रतिशत मात्र काम भएको देखिन्छ । पटक–पटक समयावधि थप गर्दा पनि निर्माणमा ढिलाइ भएको यो पुलको कूल लागत करिब १३ करोड ४० लाख रुपैयाँ रहेको छ । सो पुल निर्माण भएपछि करिब ३० हजारभन्दा बढी बेलकावासीको स्थानीय प्रशासनिक केन्द्र रामपुरठोक्सिलाका साथै पूर्वीभेगका विराटनगर, धरानलगायत सहरी क्षेत्रमा सहज पहुँच हुने देखिन्छ । पुल नहुँदा वर्षायाममा बिरामी र गर्भवतीले अकालमा ज्यान गुमाउने गरेका छन् ।

टिप्पणीहरू