भोटो देखाउने ठाउँमा पार्किङ निषेध

भोटो देखाउने ठाउँमा पार्किङ निषेध

जथाभावी सवारी साधन पार्किङले सडक अस्तव्यस्त बनाएपछि ललितपुरको जावलाखेलस्थित रातो मत्स्येन्द्रनाथको भोटो देखाउने ठाउँमा सवारी साधन पार्किङ निषेध गरिएको छ । आजबाट लागू हुने गरी सवारी साधन पार्किङमा निषेध गरिएको हो ।

उक्त स्थानमा हिजो मात्र एक सय ५० थान मोटरसाइकल र २१ चार पाङ्ग्रे सवारी साधन पार्किङ गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । नजिकै भएका दुई वटा भोजमा आएका आगन्तुकले सवारी साधन पार्क गरेपछि सहरको सुन्दरता बिग्रिएको हाछेथुको भनाइ छ ।

‘ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थानमा जथाभावी सवारी पार्क गर्नुका साथै स–साना पसल राखेर वरिपरिको वातावरण दुषित बनाएपछि आजदेखि उक्त स्थानमा सवारी पार्किङ गर्न रोक लगाएका हौं,’ हाछेथुले भन्नुभयो । ऐतिहासिक क्षेत्रलाई सधैं सफा र स्वच्छ राख्नुपर्नेमा उहाँको जोड छ ।

उहाँका अनुसार महानगरले पार्किङका निम्ति छुट्टै स्थान छुट्याइएको छ । महानगरले सवारी साधन पार्किङ गरेर भीडभाड देखिएको ऐतिहासिक ठाउँमा अब सुन्दर बगैंचा बनाउने भएको छ ।

टिप्पणीहरू