प्रधानमन्त्रीकै मान्छेले साह्रै पेलेपछि
२०७० सालको महाकाली बाढीबाट तहसनहस भएको दार्चुला सदरमुकाम क्षेत्रमा नेपाल सरकारले ३ अर्ब ५ करोड लागतको तटबन्ध निर्माणसम्बन्धी आयोजना सञ्चालन गर्दै आएको छ । सदरमुकाम क्षेत्रमा ५ किमि लामो पक्की तटबन्ध निर्माणका साथै महाकाली नदी किनारको क्षेत्रमा नदी कटान रोक्न तारजालीको काम पनि हुँदै छ । तटबन्ध निर्माणमा संलग्न राजेन्द्र निर्माण सेवा डडेल्धुराले भने ठेक्का सम्झौता अवधि २ महिना बाँकी रहँदा १५ प्रतिशत मात्रै काम सकेको छ ।
जलस्रोत तथा सिँञ्चाइ विभागअन्तर्गत महाकाली नदी नियन्त्रण आयोजनाको छुट्टै कार्यालय स्थापना गरी महाकालीमा तटबन्ध निर्माण हुँदै आएको हो । २१ वटा ठेक्का खोलिएकोमा १९ वटा प्याकेजको निर्माण सम्पन्न भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाले भने निर्माणमा ढिलाइ गर्दै छ ।
महाकाली नगरपालिका–१ श्रीबगर क्षेत्रका दर्जनौं स्थानीयले जिल्ला प्रशासन कार्यालय, नगरपालिका र नदी नियन्त्रण आयोजनाको तटबन्ध निर्माणमा ढिलाइ भएको भन्दै ज्ञापनपत्र दिएर आन्दोलन थालेका छन् । फागुन ८ गते आइतबार श्रीवगर बस्तीका दर्जनौं महिला र पुरुषले नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
सदरमुकाम खलंगा बजारदेखि ३ किमि दूरीमा अवस्थित श्रीवगर क्षेत्रमा महाकाली नदी किनार तातोपानीको मूल छ । तीर्थस्थल भएकोले उक्त क्षेत्रमा ३ सय ९० मिटर लामो तटबन्धको पक्की संरचना बनाउन नदी नियन्त्रण आयोजनाले दुई वर्षअघि ठेक्का खोलेको थियो ।
हालसम्म १५ प्रतिशत मात्रै भौतिक कार्य भएकाले दुई महिनाभित्र काम सक्न नदी नियन्त्रण आयोजनाले माघ २८ गते पत्राचार गरेको छ । निर्माणस्थलमा सिमेन्ट, सरियालगायत निर्माण सामग्री छैनन् । स्थानीयले वर्षायामअघि काम सम्पन्न नभए महाकाली नदीले कटान गर्ने जोखिम रहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीको गृहजिल्लाका कांग्रेस सभापतिको निर्माण कम्पनी भएकाले तटबन्ध निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशंका छ । आइतबार श्रीबगर क्षेत्रका स्थानीयको आन्दोलनलाई मत्थर पार्दै एक हप्ताभित्र तटबन्ध निर्माण सुचारु गराउने दार्चुलाका प्रजिअ दीर्घराज उपाध्यायले प्रतिबद्धता जनाएका छन् । स्थानीयवासीको सामुन्नेबाटै ठेकेदारलाई फोन गरी प्रजिअले कामलाई गति दिन पहल गरेका हुन् ।
निर्माण अवधि गत साउनमै सकिएको थियो । विभिन्न कारण देखाउँदै आयोजनाले ०७८ चैत मसान्तसम्मको अवधि बढाएको तर बढाइएको अवधिमा पनि निर्माण सम्पन्न हुने अवस्था नदेखिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । सम्झौताअनुसार श्रीबगर तातोपानी क्षेत्रमा ३ सय ९० मिटर लामो तटबन्धको संरचना बनाउने योजना छ । जसमध्ये सय मिटर लामो पक्की जगमाथि ग्याबिनजालीको संरचना र २ सय ९० मिटर लामो पक्की तटबन्धको संरचना बनाउनुपर्ने नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
महाकाली नदी नियन्त्रण आयोजनाअन्तर्गत हाल दुइटा ठेक्का प्याकेज मात्रै सञ्चालनमा छन् । दुबै प्याकेजको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ । प्याकेज नम्बर १९ श्रीबगर क्षेत्रमा १५ प्रतिशत भौतिक कार्य गरेको उक्त निर्माण सेवाले सदरमुकाम क्षेत्रकै अर्को प्याकेजको ठेक्का नम्बर १८ मा ३५ प्रतिशत भौतिक प्रगति गरेको छ ।
दुबै प्याकेजको निर्माण चैतभित्र सम्पन्न गरिसक्न आयोजनाबाट निर्माण कम्पनीलाई पत्राचार गरिएको आयोजना प्रमुख कमल सिंह महतले बताउनुभयो । ‘ठेकेदार गतिलो र जिम्मेवार नभएको देखियो, हामीले तत्काल निर्माण सञ्चालन गरी समयमै सम्पन्न गर्न, गराउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छौ’ प्रजिअ उपाध्यायले भन्नुभयो ।
टिप्पणीहरू