सचिव हेरफेरको जो जो बन्दैछन् शिकार

सचिव हेरफेरको जो जो बन्दैछन् शिकार

खोजी हुनुपर्ने हो बिग्रँदो अर्थतन्त्र सुधारर्ने व्यक्तिको तर बिचौलियाको ध्यान छ, हतियारदेखि हेलिकोप्टरसम्म किन्न फाइल उठाउने हिम्मती कर्मचारीको ।

नामुद बिचौलिया दीपक भट्टले अर्थ सचिवमा आफ्नो काममाथि कुनै अवरोध नगर्ने व्यक्ति खोजिरहेको अर्थ मन्त्रालयतिर चर्चा छ । विशेष समितिले ‘क्लिन चिट’ दिएसँगै आइतबार जनार्दन शर्मा अर्थ मन्त्रालयमा फर्किएका छन् । त्यो दिन सचिव मधु मरासिनी भने पोखरातिर गएका थिए, मन्त्रीलाई स्वागत गर्नुपर्ला भनेर ! राजश्वबाट अर्थतिर सर्न इच्छुक दोश्रा सचिव कृष्णहरि पुष्करचाहिँ आइतबार शीतल निवासमै प्रकट भए । शपथलगतै शर्मालाई बधाई दिएर मन्त्रालयमा पुगेर स्वागतमा तैनाथ भए । अर्थ सचिव बन्ने सम्भावित पात्र हुन्, केवल भण्डारी र डा. बैकुण्ठ अर्याल ।

यी दुई भाइ अर्थमा जान नमाने खेलकुदबाट डा. दामोदर रेग्मीलाई त्यता लगिने सम्भावना छ । अर्थ ताक्नेमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेल पनि छन् । कनिष्ठ सचिव भएका कारण तत्कालै पुष्करलाई राजश्वबाट नचलाइने अर्थमन्त्री निकट स्रोतले जनआस्थालाई जनाएको छ । सम्भवतः बिहीवार बस्ने क्याबिनेट बैठकले झण्डै आधा दर्जन सचिवलाई यता उता पार्ने सम्भावना छ । मधु मरासिनीलाई अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्् कार्यालयमा पु¥याएर अहिले लक्ष्मण अर्यालले सम्हालिरहेको प्रशासन तथा नतिजा व्यवस्थापनको जिम्मेवारी दिइने सम्भावना छ । अर्याल आजैदेखि अनिवार्य अवकाशमा जाँदै छन् । बालुवाटार निकट सचिव राखिए फेरि दुःख पाइनेमा अर्थमन्त्री सशंकित हुन पुगेको उनीनिकट स्रोतको भनाइ छ तर दुःख कस्तो भने उच्च तहमा अर्थतन्त्र बुझेका माओवादी निकट प्रशासकको खडेरी छ ।

लक्ष्मण अर्याल र महेश्वर न्यौपाने अनिवार्य अवकाश लागेर घर फर्किएका र उपराष्ट्र«पति कार्यालयका रामकृष्ण सुवेदी शिक्षामा पुगेसँगै चार सचिव पद रिक्त छ । उपराष्ट्र«पति कार्यालय त सचिवहरूको रोजाइमा पर्ने कुरै भएन । अर्थ जान कोही तयार नहुँदा उता पर्यटन ताक्नेको चाहिँ संख्या आधा दर्जनभन्दा बढी छ ।

नाताले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका फुफुको छोरा तथा हाल संघीय मामिलाका सचिव सुरेश अधिकारी पर्यटन जान उपयुक्त पात्र भए तापनि यताका मन्त्रीले उनलाई छाड्न मानेका छैनन् । लामो समय पर्यटनमै बिताएका सुरेश अचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट त्यता जाने इच्छा जाहेर गरिरहेका छन् । प्रशासनका कर्मचारीको बोलबोला रहेको ठाउँमा अचार्यजस्ता प्राविधिक कर्मचारीले इच्छा जाहेर गरेर मात्र हुने कुरा होइन । बालुवाटारदेखि शक्तिकेन्द्र दाहिने भएका मुकुन्द निरौला, सूर्यमणि गौतम, रामेश्वर दंगाल र रामप्रसाद थपलियासमेत जीवनराम श्रेष्ठले सम्हालेको मन्त्रालय रोज्नेमा छन् ।

मुख्यसचिव बैरागीले भेगीय हिसाबले काम गरे आफ्नै गृहजिल्लाबासी डिल्लीराम शर्मालाई पर्यटनमा पठाउन सक्ने आँकलन पनि हुन थालेको छ । महिना दिनअघि बढुवा भएका डा. गोपी खनाल रौतहटजिल्ला बासी भएको नाता लगाउँदै कल्याणी खड्कामार्फत लबिङमा छन् । पर्यटन आउन खोज्नेमा हालै बढुवा भएका डा. गोपी खनालदेखि लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्मा, सुदूरपश्चिम प्रदेशका रामेश्वर दंगाल र बागमती प्रदेशका मुकुन्द निरौलासम्म छन् । उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत देवकुमारी गुरागांइ लाई प्रधानमन्त्री कार्यालयमा पठाएर त्यहाँ पुग्न सूर्यप्रसाद गौतमदेखि रामप्रसाद घिमिरेहरूसम्मले जोडबल गरिरहेका छन् ।

देउवाका दर्द

प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि त्यस्तो के बाध्यता आइलाग्यो र केपी शर्मा ओलीकै पदचाप पछ्याइरहनुपरेको छ ?

तीन वर्षअघि ०७६ साउन १५ गते ओलीले मन्त्रीहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । सातापछि मन्त्रीहरूले सचिवसँग र सचिवहरूले विभागीय प्रमुखसँग वर्ष दिनका लागि कार्यसम्पादनमा हस्ताक्षर धस्काए । तर, सोको मसी सुक्न नपाउँदै १६ जना सचिवलाई भकुण्डो बनाइएको थियो । अहिले उसैगरी हिजो देउवाले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर ठोकेका छन् र अब मन्त्रीले सचिवसँग सम्झौता गर्दैछन् । सचिव सरुवाको मुखैमा आएर मन्त्रीले हस्ताक्षर गर्ने र सोको मसी नसुक्दै ओलीले झैँ फेरि यताउता पार्ने हो भने यो सम्झौताको नौटंकी गर्ने किन ? कि त मन्त्रीको काम नयाँ आउने सचिवसँग कार्यसम्पादन गर्दै बसिरहने मात्र हो ?

टिप्पणीहरू