जिल्ला अदालतका श्रीमान काठमाडौँ हिँडेपछि पलको पेसी स्थगित
नाबालिग बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा विचाराधीन मुद्दाको पेसी स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगाना अनुपस्थित भएपछि आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।
आज बिहान गोलाप्रथा गर्दा पलको मुद्दा १ नम्बर इजलासमा परेको थियो । तर, उक्त इजलासका न्यायाधीश ढुंगाना गत बुधबारदेखि अदालतमा अनुपस्थित रहेका कारण पेसी स्थगित गर्नुपरेको बताइएको छ ।
आज सुनुवाई हुने भएकाले दुवैतर्फका वकिलहरू तम्तयार अवस्थामा थिए । तर, गोला तान्दा मुद्दा १ नम्बर इजलासमा परेको र न्यायाधीश काठमाडौँ गएकाले पेसी स्थगित गर्नुपरेको जिल्ला अदालतका वैतनिक वकिल इन्द्रकुमारी थापाले जानकारी दिइन् ।
उच्च अदालतमा बढुवाको लाइनमा रहेका हरिश्चन्द्र श्रीमान् न्यायपरिषदमा भेटघाट गर्ने भन्दै बुधबार नै काठमाडौँ निस्कनुभएको बताइन्छ ।
टिप्पणीहरू