जुन–जुन कमरेड फेजआउट भएर घर जाँदै छन्
जसरी केपी ओलीले ‘विरोधीमुक्त’ पार्टी बनाउन खोज्नुभएको थियो र छ, वास्तविकता त्यस्तो रहेन । गत वर्ष माधव नेपाल, झलनाथ खनालसहितका थुप्रै नेता–कार्यकर्ता ‘ओलीको व्यक्तिवादविरुद्ध’ भन्दै विभाजनमा गइसकेपछिको एमालेभित्र पुराना घटनाको झल्को दिने नयाँ–नयाँ घटनाक्रम विकास भइरहेको छ ।
अहिले ओलीको विपक्षमा विष्णु पौडेलदेखि उनीनिकटसम्मले स–सानो समूहमा सानो स्वरले बोल्न थालिसके । च्यासलमा एमाले कार्यकर्ताबीच अस्ति सोमबार दिउँसो केन्द्रीय सदस्यहरू ‘भावी प्रधानमन्त्री ओलीलाई, आजलाई हैन भोलिलाई’ भन्दै चर्चा गरिरहेका थिए । तिनैमध्येका कसैले प्याच्च भनिहाले, ‘ए, कुन ओली ? खुश्बू ओली कि कोमल वली ?’
यसरी एमालेभित्र नयाँ र सानो गुटको विकास भइरहँदा जीवनको लामो कालखण्ड माधव नेपालसँग बिताएर अन्तिममा साथ नदिने केही नेता अपमानपूर्वक र केही नयाँ उपलब्धिसहित ‘फेज आउट’ हुँदै छन् । जस्तोः अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरू सम्मान पाएर हैन, नपाएर । युवराज ज्ञवालीमाथि त कतिसम्म भयो भने, दाङ– ३ बाट प्रत्यक्षमा उम्मेदवारी सिफारिस भयो । उनीमुन्तिरकी कोमल वलीले टिकट पाइन् । कहाँकी कोमल वली, कहाँका युवराज ज्ञवाली ! यति भएपछि समानुपातिकमा राखिदिएको भए हुन्थ्यो, त्यसो पनि गरिएन । अमृत बोहोरालाई त ‘काम छैन’ भन्दै पाखा लगाइयो ।
काठमाडौंको नेवार जनमत पार्टीविरुद्ध नजाओस् भनेर होला यसपालिको चुनावमा अष्टलक्ष्मीलाई उम्मेदवार बन्न फकाईफुल्याई गरिँदै थियो । उनले कुरा बुझेरै त्यस्तो कुरा मानिनन् । तर, गोमा देवकोटा, राधा ज्ञवालीहरूले केही न केही उपलब्धीसहित बिदा पाउँदैछन् । गोमा शहिद ऋषि देवकोटा ‘आजाद’ की पत्नी हुन् । उनीहरूका छोरा सुवास सिन्धुलीबाट प्रदेशसभाको उम्मेदवार छन् । राधाको सिफारिसका मान्छे पनि यसचोटि समानुपातिकमा परेका छन् ।
तर, माधवलाई छाडेका बूढाखाडाका हकमा न केही गरियो, न पार्टीमा टिक्न दिइयो । यसमध्ये आफ्नै पिरलोले वामदेव गौतम ‘फेज आउट’ हुनुभएको छ ।
टिप्पणीहरू