अदालतभित्रै हानाहान,सम्पत्तिले जब दिदीभाइ र आमा–छोरी भनेन

अदालतभित्रै हानाहान,सम्पत्तिले जब दिदीभाइ र आमा–छोरी भनेन

हिजो दिउँसो ललितपुर जिल्ला अदालतभित्र दुई पक्षबीच हानाहान र कुटपिट भएको छ । एक्कासी त्यस्तो भद्रगोल हुँदा झगडियालाई छुट्ट्याउन सुरक्षाकर्मीलाई समेत एक छिन हम्मेहम्मे परेको थियो ।

पहिले आमा छोरीसँग बसेकी थिइन् । अहिले छोरीलाई छाडेर छोराहरुसँग बस्न थालेपछि सम्पत्तिको निहुँमा पछिल्लो झगडा शुरु भएको बताइन्छ । भाइहरुले लिखत बदर मुद्दा गराइपाऊँ भनेर अदालत गुहारे ।

अदालतले पनि हिजो मेलमिलापको निम्ति छलफलमा सबै पक्षलाई बोलाएको थियो । छलफलमा बूढी आमा पनि उपस्थित थिइन् । मेलमिलाप कक्षभित्र छलफल गरेर बाहिर निस्कने क्रममा अदालतको लबीमा दिदी र भाइहरुबीच मारमुङ्ग्री भएको हो ।

अदालत स्रोतका अनुसार उक्त सम्पत्तिको खिचलोसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा रहेका जटिलमध्येकाे एक हो जसलाई श्रेस्तेदार बिष्णु पाण्डेले सल्टाउँदै थिए । अहिले विचाराधीन अवस्थामा रहेकाले मेलमिलाप शाखाले पनि मुद्दा सल्टाउने पहल गरिरहेकै थियोे ।

“तीन भाइ छोरा र एउटी छोरीकी आमा बृध्द अवस्थामा पुगेकी छन् । तर सम्पत्तिको निहुँमा उनै आमाले जन्माएका चार जनाबीच अदालतभित्रै हानाहान भएको छ ।”

आमाले सङ्गै बस्दा छोरीलाई हालैको बकसपत्र गरेर सम्पत्ति दिएको र पछि झगडा भई छोराहरुको पनि बसाइँ सरेको अवस्थामा छोराहरुले सम्पत्तिमाथि दावी गरेका हुन् । अहिले आमा गएर छोराहरुसँग बस्न थालेपछि उक्त बकसपत्रको लिखत बदर माग गरिएको छ । छोराहरुले त्यो सम्पत्ति पाउनु पर्छ भन्दै आएका छन् । छोरीले भने बकसपत्रबाट प्राप्त सम्पत्ति फर्काउन मानेकी छैनन् ।

तीन भाइ छोरा र एउटी छोरीकी आमा बृध्द अवस्थामा पुगेकी छन् । तर सम्पत्तिको निहुँमा उनै आमाले जन्माएका चार जनाबीच अदालतभित्रै हानाहान भएको छ । लगनखेल चौकीका एक जना असइले भने,‘यसको जड भनेको पुरानो इस्यु हो । अहिले हात हालाहाल भएपछि छताछुल्ल भएको मात्रै हो ।’

अदालत परिसरमा कुटपिट गरेकाले अदालत प्रशासनले सिसिटिभी र सुरक्षाकर्मीको भनाइलाई समेटेर आन्तरिक प्रतिवेदन बुझाउन भनेको छ । प्रशासनले मेलमिलाप शाखा र त्यहाँका कर्मचारीलाई उक्त निर्देशन दिएको हो ।

झगडा गरेका दाजुभाइ र दिदी तथा आमा पछि लुरुलुरु घरतिर गएका थिए । अब हिजोको झगडाको प्रतिवेदन बुझाएपछि मात्र उनीहरुलाई बोलाइने मेलमिलाप शाखाका एक जना कर्मचारीले बताए ।

टिप्पणीहरू