काँग्रेस बटारिएपछि पालुङटारमा बाबुराम एक्लै
गोरखाको पालुङटार नगरपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) को चुनावी तालमेल भाँडिएको छ । जसपा इमान्दार नभएको भन्दै त्यहाँका काँग्रेसी रुष्ट भएपछि तालमेल टुटेको हो ।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारमा यसअघि मेयरमा काँग्रेसले जसपालाई सघाउने गरि दुई पार्टीबीच तालमेलको सहमति भएको थियो । तर, दुबै दलको बैठकले वडा तहसम्म तालमेल गर्ने प्रयास गर्दा पनि सफल नभएपछि काँग्रेस एक्लै चुनाव लड्ने भएको हो ।
काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले नेता कार्यकर्ताहरुको रायअनुसार दुबै दल मित्रवत् प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । एक परिपत्र जारी गर्दैै उनले काँग्रेसको तर्फबाट उम्मेदवार रहेका मेयर, उपमेयरलगायत सबै वडाका उम्मेदवारहरुलाई निर्वाचित गराउनेगरी अभियान सञ्चालन गर्न निर्देशन पनि दिएका छन् ।
गोरखामा सत्तारुढ पाँच दलको गठबन्धन हुन नसकेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिअनुसार पालुङटारमा सबै पार्टीले उम्मेदवारी दर्ता गराएका थिए । मेयरमा काँग्रेसबाट निवर्तमान मेयर दिपकबाबु कँडेल र जसपाबाट प्रम गुरुङले उम्मेदवारी दिएका थिए । पछि केन्द्रको निर्देशनअनुसार काँग्रेस उम्मेदवार कँडेल गुरुङलाई सघाउन तयार भएका हुन् । उम्मेदवारी फिर्ता लिन नभ्याएपछि उनले वक्तव्यमार्फत् आफू पछि हटेको बताएका थिए ।
तर, आफूहरुसँग तालमेलको सहमति भइसकेपछि जसपा फेरि माओवादीसँग मिल्न गएको भन्दै काँग्रेसले आफ्ना सबै उम्मेदवारी कायम रहेको जनाएको छ ।
टिप्पणीहरू