सुशासनका लागि कांग्रेस र एमाले मिलेको दावी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा सरकारले महत्वपूर्ण काम गरिरहेको दावी गर्नुभएको छ ।
द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता प्राप्त हुने भएकाले सरकार त्यसतर्फ अग्रसर रहेको मन्त्री गुरुङको जिकिर छ ।
सरकार बनाउन 'भ्यागुत्ताको धार्नी' पुर्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै कांग्रेस र एमाले मिलेर सरकार बनाएको उहाँले बताउनुभयो । दुई ठूला पार्टीको सरकार बनेसँगै राजनीतिक स्थिरता प्राप्त भएको र त्यसैको जगमा सुशासन दिन सकेको मन्त्री गुरुङले दावी गर्नुभयो ।
‘सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि हुन्छ', उहाँले भन्नुभयो, 'सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्यो । अहिले काँग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पुर्याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ ।'
मन्त्री गुरुङले वर्तमान सरकारले कार्यशैली सुधारेर जनआकांक्षा अनुरुप काम गरिरहेको दावीसमेत गर्नुभएको छ ।
टिप्पणीहरू