काँग्रेसको पार्टी झण्डा झुकाइयो, १३ गते शोकसभा
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् पार्टीका पूर्व केन्द्रीय सदस्य प्रेमलाल (पीएल) सिंहको निधनको शोकमा तीन दिन पार्टी झण्डा झुकाउने भएको छ ।
स्वर्गीय सिंहप्रति सम्मान प्रकट गर्न आजदेखि बुधबारसम्म पार्टी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरिएको हो ।
भोलि केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने पनि काँग्रेसको निर्णय छ । १३ औं दिनमा काठमाडौंमा शोक सभा आयोजना गरिने छ ।
पूर्वमेयर सिंहको ८८ वर्ष उमेरमा गएराति ठमेल चाक्सीबारीस्थित निवासमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । उहाँ २०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो ।
सिंहले नै २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गर्नुभएको हो ।
टिप्पणीहरू