अध्यक्ष हारेका रमेश विष्ट अब स्वतन्त्र रहने
नेपाली कांग्रेसनिकट पत्रकार संगठन प्रेस युनियनबाट विद्रोह गरी नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष उठेर पराजित रमेश विष्टले जीवनभर स्वतन्त्र रहने घोषणा गरेका छन् ।
निर्वाचनको औपचारिक नतिजा सार्वजनिक भएको केही घण्टापछि आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अबउप्रान्त स्वतन्त्र रहेर पत्रकारितामा क्रियाशील रहने बताएका हुन् । संगठनको निर्णयविपरित माओवादीनिकट प्रेस सेन्टरसहितको समर्थनमा अध्यक्षको उम्मेदवार बनेपछि विष्टलाई युनियनले मतदानको अघिल्लो दिन निष्कासनको कारवाही गरेको थियो ।
विष्टले भने आफ्नो उम्मेदवारीलाई राजनीतिक हस्तक्षपविरुद्धको कदमका रुपमा अर्थ्याउँदै बिद्रोहप्रति गर्व गरेका छन् । युनियनको कारवाहीप्रति लक्षित गर्दै उनले खुला आकासमा विचरण गर्न पाउँदा असिम आनन्द प्राप्त भएको बताएका छन्।
'हुकुमी शासनविरुद्ध गरिएको यो विद्रोह सामान्य थिएन । अनेकौँ आश र त्रासका बीच साथीहरु चुनावी मैदानमा रहे । राज्यसत्ताको चरम दुरुपयोग छर्लङ्ग देख्न पाइयो', विष्टले लेखेका छन्, 'चुनावी परिणाम प्राविधिक कुरा हो । आज स्वतन्त्र भएर खुला आकाशमा विचरण गर्न पाउँदा असिम आनन्द प्राप्त भएको छ । यो विद्रोहप्रति गर्व छ । साथ दिने साथी र मत दिने सदस्य साथीप्रति गर्व छ ।'
निर्वाचनमा अनेक प्रलोभन देखाएर आफूहरुलाई प्रभावित पार्ने कोशिस भएको जनाउँदै उनले आफूहरु लोभ लालचमा नपरी विद्रोहमा अघि बढेको बताए ।
'कतिपय साथीहरु कौडिको मूल्यमा विकेको देखियो । तर म र मेरो टिम कुनै पनि लोभ र ललचमा गलेनौ । यसैमा गौरव छ । मलाई विद्रोहमा साथ दिने यी साथीहरु मेरो जीवनकै सच्चा साथीहरु हुन । अब जीवनभर स्वतन्त्र भएर पत्रकारिताको विविध विधामा रमाइन्छ । सबै मतदातालाई मुरी मुरी धन्यवाद', विष्टले भनेका छन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको युनियन र एमाले सम्वद्ध प्रेस चौतारीबीच देशभर गठबन्धन भएको थियो । तर, विष्टसहित युनियनको एउटापंति प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतको समर्थनमा चुनावमा होमिएको थियो । उनीहरु सबैलाई युनियनले कारवाही गरेको छ ।
टिप्पणीहरू