अरुलाई बन्दुक ताक्ने, आफैंलाई गोली हान्ने असई बर्खास्तमा पर्दै

अरुलाई बन्दुक ताक्ने, आफैंलाई गोली हान्ने असई बर्खास्तमा पर्दै

आफैंमाथि गोली चलाएर घाइते भएका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्द बर्खास्त हुने भएका छन् । घटनाको छानबिनपछि उनलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । 

अछामको तुर्माखाद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका चन्दले मंसिर १३ गते राति आफैंमाथि गोली हानेका थिए । हाल उनी नेपाल प्रहरी अस्पतालमा उपचारत छन् । 

चन्दले मदिरा सेवन गरेर शुरुमा एक हवल्दारलाई बन्दुक ताकेपछि ती भागेका थिए । त्यसपछि आफैँलाई गोली हानेको अनुसन्धानको क्रममा खुलेको हो । घटना सम्बन्धमा अनुसन्धान गर्न प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयले एसपी विनोद शर्माको नेतृत्वमा छानबिन समिति बनाएको थियो । 

मदिराको नशामा लट्ठिएर सहकर्मीलाई बन्दुक ताक्ने तथा आफैँलाई गोली हान्ने चन्द संठगनको लागि खतरा हुने निष्कर्षसहित समितिले बर्खास्तीको सिफारिस गरेको जनाइएको छ । 

चन्दमाथि ०७७ सालमा पनि यस्तै हर्कत देखाएको आरोप छ । त्यतिबेला कैलालीमा कार्यरत रहेका उनले इन्स्पेक्टर लक्ष्मीराज जोशीमाथि बन्दुक ताकेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले कारवाही गर्न लागेको थियो । तर, चन्दका परिवारले माफी माग्दै विनम्र भएपछि कारबाही रोकिएको थियो ।

टिप्पणीहरू