रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण कसूर आकर्षित

रविविरुद्ध  सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण कसूर आकर्षित फाइल फाेटाे
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा कसूरमा मुद्दा चलाउन माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । 

कास्की प्रहरीले रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकीलको कार्यालयमा पेश गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्मा नेतृत्वको टोलीले आज सरकारी वकिलको कार्यालय पुगेर प्रतिवेदन बुझाएको एसपी श्याम ओलियाले जानकारी दिए । उनका अनुसार अब सरकारी वकील कार्यालयले प्रतिवेदनको अध्ययनपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाउनेछ । 

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण कसूरमा मुद्दा दर्ता गर्नुपर्ने प्रहरीको माग छ । आधा दर्जन सहकारीको रकम अपचलनको मुख्य योजनाकार जिबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेल रहेको प्रतिवेदनको निष्कर्ष छ । 

लामिछानेले विभिन्न जिल्लामा पुगेर इन्कारी बयान दिए पनि सहकारी ठगीमा उनको संग्लनता पुष्टि हुने आधार र प्रमाणहरु पर्याप्त रहेको प्रहरी अधिकारीहरु बताउँछन् । कात्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेपछि पोखरा पुर्याइएका लामिछानेलाई अदालतले पूर्पक्षको निम्ति थुनामा पठाउन सक्ने धेरैको अनुमान छ ।

टिप्पणीहरू