ताप्लेजुङ्गमा माओवादीको उत्कृष्ट ‘कम्ब्याक’, समन्वयको साँचो पनि उसैको हातमा

ताप्लेजुङ्गमा माओवादीको उत्कृष्ट ‘कम्ब्याक’, समन्वयको साँचो पनि उसैको हातमा

-कमल भट्टराई

ताप्लेजुङ्गमा नेकपा माओवादी केन्द्रले उत्कृष्ट ‘कम्ब्याक’ गरेको छ । अघिल्लो चुनावमा निकै खराब परिणाम व्यहोरेको माओवादीले यसपटक राम्रो नतिजा हात पारेको हो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा दुई उपप्रमुखमात्रै जितेको माओवादीले यसपटक दुई गाउँपालिकामा अध्यक्ष र तीन उपाध्यक्ष हात पारेको हो । अघिल्लो चुनावमा छ वटा वडाध्यक्ष मात्र जितेकोमा अहिले १० वटा वडाध्यक्ष माओवादीको भागमा परेको छ ।

चुनावको सम्पूर्ण परिणाम सार्वजनिक भएसँगै ताप्लेजुङमा यतिबेला जिल्ला समन्वय समिति गठनको चर्चा हुन थालेको हो । १८ मतदाता रहेको जिल्लामा एमाले र काँग्रेसको समान छ मत हुँदा माओवादी केन्द्रसँग पाँच भोट छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीसँग पनि एक मत रहेको छ ।

जिल्ला समन्वय गठनका लागि १० मत आवश्यक पर्छ । अहिलेको सत्तारुढ दलहरुबीच गठबन्धन कायम रहेमा उनीहरुसँग १२ मत हुनेछ । यदि गठबन्धन टुटेमा समन्वय समितिको नेतृत्वका लागि एमालेलाई र काँग्रेस दुवैलाई चार–चार मत पुग्दैन । त्यो मत माओवादीसँग देखिन्छ ।

त्यसैले जिल्ला समन्वय समिति गठनमा माओवादी निर्णायक बन्न पुग्ने देखिएको हो । काँग्रेस र एमाले नमिलेको अवस्थामा माओवादी केन्द्रको सहयोग विना समन्वय समिति गठन नहुने पक्का छ ।

टिप्पणीहरू