बेनी नगरपालिका र साझा यातायातबीचको लफडा चुलिँदै
म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसी र साझा यातायातबीचको टसलले स्थानीय मारमा परेका छन् । काउण्टर राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा सेवा नै ठप्प बनेको छ । नगरपालिकाले असहयोग गरेको भन्दै साझा यातायातले म्याग्दीमा आफ्नो सेवा बन्द गरेको छ । साझाले सेवा ठप्प पारेको एक साता भइसकेको छ । नगरपालिकाले भने आर्थिक ऐनमा उल्लेखित शर्तहरु पालना नगरेसम्म साझा सञ्चालन गर्न नदिने अडान लिएको छ ।
के हो घटना ?
सहकारी बोर्डमातहतको साझा यातायात सहकारी संस्था लिमिटेडले मुलुकभर १४० वटा गाडी सञ्चालन गरेको छ । गत असोज ४ गतेदेखि साझाले म्याग्दीमा आफ्नो रात्रि सेवा विस्तार गरेको छ । बा.५ ख५८८५ र बा. ५ ख ५८८६ ले म्याग्दीमा सेवा दिन म्याग्दीको सदरमुकाम बेनीसम्म जाने साझाको बस हरेक साँझ ६ बजे राजधानीबाट छुट्थ्यो । यता, बेनीदेखि काठमाडौंका लागि साँझ सवा ६ बजे गाडी छुट्ने गरेको थियो ।
सो गाडी बेनी–मालढुंगा–कुश्मा–पोखरा हुँदै काठमाडौं आउँथ्यो । ४१ सिट क्षमताको दुई वटा बस चल्दा स्थानीयलाई निकै सहज भइरहेको थियो । त्यसैबीच नगरपालिकाले काउण्टरको कुरा निकाल्यो । वडा नम्बर–८, कालीपुल बसपार्कमा नगरपालिकाले बनाएको टर्मिनल भवनमा काउण्टर राख्नुपर्ने भनेपछि साझाले आनाकानी गर्यो । साझाको म्याग्दी प्रतिनिधि भिम श्रेष्ठले अन्यत्रैबाट टिकट काटिरहेका थिए । कतिपय यात्रुले अनलाइनमार्फत टिकट काट्थे । नगरपालिकाले काउण्टर नराखिकन सेवा सञ्चालन गर्न नपाइने अडान राखेपछि साझाले निःशुल्क काउण्टरका लागि निवेदन दियो ।
साझाको यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालले निःशुल्क काउण्टरको व्यवस्था गरिदिन आग्रह गर्दै मंसिर ५ गते नगरपालिकामा निवेदन दिए । निवेदनमा भनिएको छ,‘त्यस नगरपालिकाले सार्वजनिक यातायात सञ्चालनको लागि बनाएको नयाँ बसपार्कभित्र यस संस्थाको बस पाकिङ्ग र टिकट बिक्रीको लागि उचित स्थानको निःशुल्क व्यवस्थाको लागि अनुरोध गरिन्छ । साथै, यस संस्थाको तर्फबाट त्यस नगरपालिकाभित्र व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्री भीम श्रेष्ठलाई टिकट बिक्रीलगायतको काम गर्ने र संस्थाको तर्फबाट प्रतिनिधिको रुपमा कार्य गर्नेगरी तोकिएकोले संस्थाको कुनै आर्थिक दायित्व नपर्ने गरी निजले त्यस नगरपालिकासँग आवश्यक समन्वय गरी काम गर्ने भएकोले यस संस्थाबाट सञ्चालित रात्रिबस सेवाको पाकिङ्ग र टिकट बिक्री व्यवस्थालगायत अन्य आवश्यक सहयोगका लागि हार्दिक अनुरोध गरिन्छ ।’
मंसिर १६ गते बसेको कार्यपालिकाको बैठकले निःशुल्क काउण्टर सञ्चालनका लागि सटर दिन नसकिने निर्णय गर्यो । नगरपालिकाले सो सटरको भाडा मासिक १२ हजार रुपैयाँ तोकेको हो । साझा भाडा तिरेर टिकट काउण्टर राख्न सहमत भयो । त्यसपछि नगरपालिकाले धरौटी राख्नुपर्ने प्रस्ताव तेस्र्याएको बताउँछन्, साझाको म्याग्दी प्रतिनिधि श्रेष्ठ ।
३६ हजार रुपैयाँ धरौटी राख्नुपर्ने भनेपछि विवाद सिर्जना भएको उनको जिकिर छ । ‘साझा संघ र स्थानीय सरकारको ९९ प्रतिशत लगानीमा चलेको संस्था हो । स्थानीय पालिकाले सहजीकरण गर्नुको साटो बाधा पुर्याउने काम गर्यो । कहिले यो भन्या छ कहिले त्यो । बहानाबाजी गर्ने काम मात्र भयो । यहाँ सेवा सञ्चालन गर्न सकिन्न भन्ने लागेपछि बन्द गरेका हौं’,उनले भने ।
प्रतिनिधि श्रेष्ठका अनुसार काउण्टरका लागि उनले पनि नगरपालिकामा लिखित निवेदन दिएका थिए । त्यसपछि मेयर केसीका सवारी चालक राजकुमार शाहीले आफूलाई सटर हेर्न बोलाएको उनको दाबी छ । मंसिर २१ गते उनले बोलाएको र आफू बाहिर भएकाले छोरालाई पठाएको श्रेष्ठले बताए । शाहीले नै काउण्टर देखाइदिएको उनको जिकिर छ ।
आफूहरुले सामान त्यहाँ सारेपछि वडा नम्बर–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले हप्काएको उनी बताउँछन् । ‘त्यतिबेला म म्याग्दीमा थिइन् । उहाँको चालकले मलाई फोन गरेर काउण्टर हेर्न आउनु भन्नुभयो । मैले छोरालाई पठाए । बोर्ड, कुर्सीहरु राखेर त्यहाँबाट टिकट काट्न थाल्यौं । वडा नम्बर ८ का वडाध्यक्षले हप्काउनुभयो । त्यसपछि बेनी नगरपालिकाको नगर प्रहरीले गएर ताला लगाइदियो । मेरो सामान त्यहीँभित्र छ’,उनले भने ।
पटकपटक सम्झौताका लागि नगरपालिकासँग आग्रह गर्दा पनि नमानेको उनको दाबी छ । सो विषयमा हाल मेयर केसी र प्रतिनिधि श्रेष्ठबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । उनले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेर मेयर केसीले ७ प्रतिशत कमिशन मागेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्,‘मेयर साबले साझाको केन्द्रीय कार्यालयमा कोरलालाई सात प्रतिशत दिनुहोस् काउण्टर नि चाहिन्न धरौटी नि दिनुपर्दैन् भन्नुभएको रहेछ । त्यसकारण मेयर साबले प्रतिनिधिलाई जसरी हुन्छ अनावश्यक दुःख हैरानी दिने र प्रतिनिधिलाई आत्मसमर्पण गराई साझालाई बाध्य गराई कोरलाको काउण्टरमा मर्ज गराई ७ प्रतिशत खाने उद्देश्य होइन र ?’
सस्तो भाडाले ‘लफडा’ गरेको आशंका
मेयर केसीको आफ्नै यातायात कम्पनी सञ्चालनमा छ । उनी अध्यक्ष रहेको कोरला यातायातले बेनीबाट काठमाडौंसम्मको एक हजार पाँच सय रुपैयाँ भाडा लिँदै आएको छ । यता, साझाले काठमाडौंसम्म एक हजार एक सय रुपैयाँ भाडा लिने गरेको थियो । भाडामा चार सय रुपैयाँ कम तिर्नुपर्दा यात्रुलाई आवतजावत गर्दा खाना खान पुग्थ्यो । भाडा सस्तो भएकाले स्थानीयले साझालाई रुचाएका थिए । आफ्नो आम्दानी सुक्ने भएपछि साझा सञ्चालनमा मेयर बाधा बनिदिएको धेरैको अनुमान छ । साझा बन्द भएपछि स्थानीयलाई पुरानै भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।
प्रतिनिधिको कारण विवाद निम्तियो : मेयर
मेयर केसीले साझाको म्याग्दी प्रतिनिधि श्रेष्ठको कारण लफडा भएको बताए । १२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने भएपछि उनले विवाद निकालेको केसीको भनाइ छ । ‘निःशुल्क काउण्टरका लागि निवेदन आएको थियो । मंसिर १६ गतेको कार्यपालिकाको बैठकले निःशुल्क दिन नसकिने निर्णय गर्यो । उहाँले एक यात्रुबापत ५ प्रतिशत कमिशन पाउनुहुन्छ । त्यही पैसाले भाडा तिर्नुपर्ने भएपछि उहाँले लफडा गर्नुभएको हो । साझाको केन्द्रीय कार्यालयले यसबारे केही भनेको छैन’,उनले भने ।
यता, उनले आफ्नो फेसबुकमा स्ट्याट्स लेख्दै सो विषयलाई राजनीतिकरण गर्न खोजेकोमा आपत्ति जनाएका छन् । नगरपालिकाको आर्थिक ऐनमा तोकिएबमोजिम भाडा सम्झौता गर्ने जुनसुकै कम्पनीलाई गाडी सञ्चालन गर्न स्वागत गरिएको उनको भनाइ छ ।
‘साझा बस बेनीबाट चलाउने बारेमा केही दलका नेता र पत्रकारहरुले अलिक धेरै राजनीति गर्न थाल्नुभएछ । बेनी कालीपुल टर्मिनल भवनबाट गाडी चलाउन चाहने साझा सहकारीको बस मात्र होइन्, जुन कुनै पनि कम्पनीले आफ्नो कम्पनीको बेनीबाट सेवा शुरु गर्ने निर्णय, कम्पनीको आधिकारिताको प्रमाणसहित परिचयपत्रवाहक प्रतिनिधि पठाउनुहोस्, बेनी नगरपालिकाको आर्थिक ऐनमा तोकिएबमोजिम भाडा सम्झौता गर्दा लाग्ने तीन महिना बराबरको रकम अग्रिम जम्मा गर्नुहोस् र सेवा सञ्चालन गर्नुहोस्’,उनले लेखेका छन् ।
धेरै अवरोध भएपछि ब्याक हट्यौं : केन्द्रीय कार्यालय
साझाको प्रशासकीय अधिकृत जोन तामाङ्गले बस सञ्चालन गर्ने वातावरण नभएपछि ब्याक हट्नुपरेको बताए । सरकारको राष्ट्रिय सहकारी बोर्डअन्तर्गत रहेको साझा यातायात सहकारी संस्था लिमिटेडसँग छुट्टै खर्च गर्न रकम नभएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलगायतसँग छलफल गरेरै बस सञ्चालन गरेको भएपनि विभिन्न बाधा हुँदा बीचमै रोक्नुपरेको उनको गुनासो छ ।
‘यसमा को सही, को गलत भन्ने छैन । सिडियो, पुलिस प्रशासनसँग सहजीकरणको बाटोबाट हामी त्यहाँ गएका हौं । अन्यत्रै कतैपनि हामीले त्यसरी काउण्टर राखेर टिकट काटेका छैनौं । त्यहाँ नगरपालिकाले एउटा टर्मिनल बनाएको रहेछ, त्यहीँबाट सबै बस सञ्चालन हुने रहेछ । उहाँहरुले काउण्टर बस सञ्चालन गर्नुपर्छ भन्नुभयो । काउण्टर राखेपछि कर्मचारीलाई तलब खुवाउनुपर्छ । भाडा तिर्नुपर्छ । संस्थाले खर्च धान्न सक्दैन, त्यसैले सेवा नै बन्द गर्नुपरेको हो’,उनले भने ।
मुलुकको विभिन्न जिल्लामा साझाको बस सञ्चालन भइरहेको र हालसम्म कतैबाट अवरोध नभएको प्रशासकीय अधिकृत तामाङ्ग बताउँछन् । ‘हामीले भाडादर कम राखेका छौं । हामीलाई कम्पिटिसन गर्नुछैन । बाग्लुङमै हाम्रो बस सञ्चालन भइरहेको छ । कतैपनि यहाँजस्तो अवरोध भएको थिएन’,उनले भने ।
टिप्पणीहरू