विदेशी लगानी भित्र्याउने मात्रै कि जोगाउने पनि ?

विदेशी लगानी भित्र्याउने मात्रै कि जोगाउने पनि ?

(होङ्गसी सिमेन्ट,संघर्ष र सफलताको कथा)

हिजो मात्रै अर्थमन्त्रीले आगामी आर्थिक वर्षको निम्ति १७ खर्ब बढीको बजेट भाषण गर्नुभएको छ । बजेटमार्फत मुलुकमा थप औद्योगिक वातावरण तयार गर्न,विदेशी लगानी भित्र्याउन र तिनलाई आकर्षित तुल्याउन विभिन्न कार्यक्रम घोषणा गरिएको छ ।

सरकारको काम विदेशी लगानी भित्र्याउनको निम्ति आधारभूमि बनाइदिने हो । त्यसरी भित्रेको लगानीले विदेशी मुद्रा सञ्चितिदेखि आन्तरिक रोजगारीसम्म महत्वपूर्ण भूमिका खेल्छ । विदेशी लगानीमा पनि नयाँलाई कसरी आकर्षित गर्ने र भित्रिसकेकोलाई कसरी विस्तार गराउने,लामो समयसम्म मुलुकभित्र टिकाउने भन्ने योजना र कार्यक्रम बनाइनुपर्छ ।

हाम्रोजस्तो सीमित भौतिक पूर्वाधार भएको मुलुक,त्यसमा पनि आधारभूत आवश्यकता शून्य भएका स्थानमा स्थापित वैदेशिक लगानीका उद्योग, कारखाना र व्यवसायलाई स्थानीय क्षेत्र र स्थानीय सर्वसाधारणको समेत आर्थिक तथा सामाजिक विकास हुनेगरी नयाँ कार्यक्रम नल्याउने हो भने कालान्तरमा ती उद्योग र कलकारखानालाई टिकाइराख्न गाह्रो पर्ने निश्चित छ ।

पछिल्लो समय मुलुकमा निकै आशालाग्दो ढंगले सिमेण्ट उद्योगनिम्ति वैदेशिक लगानी आएको छ । त्यसमा पनि छिमेकी मित्रराष्ट्र चीनको चासो बढी छ । पूर्वी नवलपरासीमा अवस्थित होंगसी शिवम सिमेण्ट कारखाना त्यसैको गतिलो उदाहरण हो । यसलाई मुलुककै ठूलो र म्यानुफ्याक्चरिङ्गतर्फ हालसम्मकै सबैभन्दा धेरै वैदेशिक लगानी रहेको सिमेण्ट कारखाना मानिन्छ । यसमा चिनियाँ लगानी ७० प्रतिशत र नेपाली ३० प्रतिशत छ । नेपाली लगानीमध्ये शारदा ग्रुप र व्यवसायी सतिश मोरको भएको बताइन्छ ।

दिन रात चौबिस घण्टा सुचारु उक्त कारखानाबाट दैनिक छ हजार टन सिमेण्ट उत्पादन भइरहेको छ । कारखानालाई पूर्णक्षमतामा लैजाँदा दैनिक १२ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्न सकिने प्राविधिकहरु बताउँछन् । वर्षमा जम्मा दुई दिन मात्र बन्द हुने उक्त कारखाना त्यो पनि मेशिन सफा गर्नको निम्ति हो ।

होंगसी शिवम सिमेण्ट कारखाना पुग्न नारायणघाट हुँदै बुटवल गएको पूर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर उत्तरतर्फ कच्ची बाटो प्रयोग गर्नुपर्छ । भौगोलिक रुपमा अनकण्टार ठाउँ सर्दी बगैंचामा कारखाना स्थापित छ । मुलुककै सबैभन्दा ठूलो सिमेण्ट कारखाना पुग्न र उत्पादित सिमेण्ट बजारसम्म पुर्याउने प्रयोग हुने १३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यमा स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारले पहल नगर्ने हो भने वर्षौंसम्म उक्त कारखानामा लगानी गर्दै आएका चिनियाँ लगानीकर्तालाई थप लगानी बढाउन के आधारमा अनुरोध गर्ने ?

बेलायती दूतावासका कूटनीतिज्ञ र भारतीय ब्यवसायीहरुबाट उक्त कारखाना धुँवारहित,वातावरणमैत्री र विश्वकै प्रदुषणरहित नविनतम सिमेण्ट कारखाना भएको दाबी गरिएको छ । विश्वमा अहिलेसम्म सिमेण्ट कारखाना सबैभन्दा प्रदुषित मानिन्छ । मुलुककै पहिलो हिमाल सिमेण्ट कारखाना राजधानीको चोभारमा खोलिएको थियो । हेटौंडा र उदयपुरस्थित सरकारी सिमेण्ट कारखाना पनि प्रदुषणका कारण कहिलेकाही स्थानीयको निशानामा पर्ने गरेका छन् ।

चोभारको कारखाना हटाइसकिएको छ भने,अन्यत्र खुलेका निजी क्षेत्रका सिमेण्ट कारखानाले पारेको वातवरणीय असरबारे बेला बेलामा चर्चा हुने गरेको छ । भैरहवाबाट लुम्बिनी र कपिलवस्तुतर्फ जाँदाको सडक वरिपरि खुलेका निजी क्षेत्रका सिमेण्ट कारखानाले पारेको वातावरणीय असरबाट त्यो क्षेत्र कति प्रताडित छ भन्ने भुक्तभोगीलाई मात्रै थाहा होला ।

मुख्य राजमार्गबाट १३ किलोमिटर कच्ची बाटोको दूरीमा रहेको होंगसी शिवम सिमेण्ट कारखानाको चुनढुंगा खानी त्यहाँबाट २८ किलोमिटर टाढा उत्तरमा रहेको छ । खानीसम्म पुग्न पहाडी मार्ग प्रयोग गर्नुपर्ने भएकाले उद्योगले सुरुङ बनाउने योजना अगाडि ल्याएको छ । त्यसपछि उक्त क्षेत्रको सडक मार्गमा कायापलट हुने विश्वास लिइएको छ ।

त्यसैगरी कोभिडका कारण ३० करोड रुपैयाँ घाटा सहेर बुटवल–नारायणगढ राजमार्गको स्तरोन्नतिमा पनि कारखानाको योगदान रहने भएको छ,उक्त सडकलाई चार लेनको बनाउन लागिएको छ ।

कारखानालाई प्राविधिक र उच्च तहका प्रशासक गरी प्रायः ९० जना चिनियाँले दैनिक रेखदेख गरिरहेका छन् । त्यहाँ दैनिक चार सय ३० जना नेपालीले रोजगारी पाएका छन् । चुनढुंगा खानी,त्यसको ओसारपसार,ट्रक,टिपर,ढुङ्गा,गिट्टी,बालुवालगायतका कार्यमा अरु हज्जारौं नेपालीलाई रोजगारी मिलेको छ ।

कारखानाले आवश्यक अन्य कच्चा पदार्थहरु अफृका,भुटान,अमेरिका,चीन र भारतबाट ल्याउने गरेको छ । मुख्य कच्चापदार्थमा जिप्सन र क्लिंकरको हिस्सा सबैभन्दा धेरै हुन्छ । होंगसीले उत्पादन गर्दै आएको सिमेण्ट नेपालको आन्तरिक बजारबाहेक बाहिर पनि निर्यात गर्ने लक्ष्य छ ।

प्रारम्भमा ३५ करोड ९० लाख अमेरिकी डलर लगानी भएको उक्त कारखानामा सबै वातावरण अनुकूल हुँदै गए थप लगानी भित्रिने सम्भावना देखिन्छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले स्वास्थ्य केन्द्र निर्माणसहित पाल्पाको निस्दीलगायत स्थानीय विद्यालयको स्तरोन्नतिमा पनि लाखौं रुपैयाँ खर्च गरेको बताइन्छ ।

दुई वर्षभित्र सरकारले कारखानालाई आवश्यक विद्युतको व्यवस्था गरिदिने बताए पनि झण्डै छ महिना ढिलो भएको थियो । त्यतिञ्जेल आफ्नै खर्चमा उत्पादन गरेको विद्युतबाट सिमेण्ट कारखाना सञ्चालन गरेको कम्पनीका प्रवन्ध निर्देशक ४० बर्षीय युवा लिउ सुगुआङ्गको दाबी छ ।

कारखाना क्षेत्रका कारण विस्थापित भएका स्थानीयलाई कम्पनीले नजिकै २६ वटा पक्की घर निर्माण गरेर स्थानान्तरण गरिदिएको उनीहरुको भनाइ छ । जहाँबाट बालबालिका र विद्यार्थीलाई विद्यालय र उच्चविद्यालय पुग्न थप सजिलो भएको छ ।

टिप्पणीहरू