जो हिजै काठमाण्डौ पसिसके…

जो हिजै काठमाण्डौ पसिसके…

बुधबार पहिला क्याबिनेट र पछि सचिवालय बैठकमा प्रधानमन्त्री व्यस्त रहनुभयो । राति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । र, हिजै राष्ट्रपतिकहाँ पनि पुग्नुभएको बताइन्छ । भनिन्छ,प्रधानमन्त्रीले जे जसरी भए पनि सरकार तलमाथि नहुने बचन खास खास मित्रहरूलाई दिनुभएको छ ।

प्रश्न उठेको छ कि, दिनैपिच्छेजसो राष्ट्रपति र प्रधानमन्त्रीबीच चलिरहेको कुराकानी, प्रदेशबाट बोलाई बोलाई विश्वासिला नेता र मन्त्रीहरुसँग राति–राति गरिएका परामर्श केका लागि ?

उपाध्यक्ष वामदेव गौतमले फेरि आफ्नो लाइन हल्का बदलेसँगै फेरिएको नेकपाको आन्तरिक समीकरणले उहाँलाई एकातिर तनाव दिएको छ भने अर्कातिर राजीनामाको माग झन्झनै चर्कोसँग उठ्न थालेको छ । आज दिउँसो ११ बजेदेखि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाइएको बैठक अर्को सूचना नआएसम्म स्थगित गरिएको छ ।

चर्को लकडाउनका बीच स्थायी कमिटीको बैठक भ्याउने गरी उपत्यकाबाहिरका सबैजसो नेता उपत्यका छिरिसकेका छन् ।

त्यत्रो दुःख गरेर काठमाडौं आइपुगेका ती नेताहरु आ–आफ्नो  गुट र उपगुटसँग भन्दैछन्, ‘यस्तो बेला हामीलाई बेवकुफ बनाउने ?’

र, ‘बेवकुफ’ नबन्नका लागि उनीहरु कुन न कुनै बैठक, भेला वा समानान्तरै बैठक भए पनि बसौँ भन्दैछन् । खुमलटारमा भेला भएका पूर्वमाओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरु अध्यक्ष प्रचण्डकै अध्यक्षतामा भए पनि स्थायी कमिटी बैठक बसौँ भन्दैछन् ।

प्रचण्डको जवाफ छ, ‘बस्न त बसौँला, तर जे निर्णय गरे पनि,जति गुनासोहरु पोखे पनि सुन्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने पक्ष नभएको बैठकको के अर्थ हुन्छ र ?’

यसबीच, हिजो सचिवालय बैठकअघि गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफ्नो कोटरीका नेताहरुलाई मन्त्रालयमै बोलाएर कुराकानी गरेका छन् । उनले प्रधानमन्त्रीले राजीनामा दिने कुराको विपक्षमा आफ्नो ‘पोजिसन क्लियर’ गरेको सुनाए ।

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको मुडमा रहेको संकेत पनि उनले गरेका छन् । यो काम सम्भवतः नीति तथा कार्यक्रम र बजेटअघि नै हुने पनि उनको संकेत थियो ।

टिप्पणीहरू