ज्वाईं नारानलाई भ्याइनभ्याइ

ज्वाईं नारानलाई  भ्याइनभ्याइ

अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेल लकडाउनमा पनि भ्याइनभ्याइ दौडिरहेका छन् । खरेललाई बजेट तर्जुमाको लागि भन्दै पुनः राष्ट्र बैंकबाट काजमा झिकाइएको हो । यसअघि पनि उनी गत असारसम्म मन्त्रीको सल्लाहकारको हैसियतमा त्यतै थिए । मन्त्रालयले एकजना निर्देशक पठाइदिन लिखित अनुरोध गरेपछि बैंकले उनैलाई पठाइदिएको हो ।

लकडाउन शुरु भएपछि कोरोनाले अर्थतन्त्रमा पारेको असर अध्ययन गर्न बैंकले गत चैतमा एउटा कार्यदल बनाएको छ । अधिकांश बैंकका हाकिम र बैंकर्स संघका अध्यक्ष सदस्य रहेको उक्त दलमा खरेल सदस्य सचिव हुन् । त्योबाहेक आफू कार्यरत अनुसन्धान विभागमा नियमित कामको लागि गठित धेरैवटा कमिटीमा उनी सदस्य छन् । केहीमा आमन्त्रित सदस्यको हैसियत दिएर पनि बोझ थपिएको छ ।

यता कार्यदलको बैठक नियमित भइरहेको छ । उता मन्त्रालयमा बजेटको चटारो त्यस्तै छ । बजेटअघिका अर्थमन्त्री, त्यसमाथि सञ्चार मन्त्रालय र प्रवक्ताको जिम्मेवारी भएकाले मन्त्रीलाई भेट्न र ब्रिफिङ्ग गर्न उनीलगायत सबैलाई हम्मे परिरहेको छ । यता कार्यदलको बैठकमा सदस्यसचिव बैशाख लागेपछि लगभग उपस्थित हुन सकेका छैनन् । ‘कार्यदल निश्कर्षको नजिक पुगिसकेको छ । अरु निर्देशकलाई जिम्मेवारी दिइएको छैन, सदस्यसचिव पनि प्रायः उपस्थित हुन सक्दैनन्’ समितिका एकजना सदस्यले भने ।

बैंकमा चारदर्जन बढि निर्देशक तहका कर्मचारी छन् । एकैजनालाई पटक पटक व्यस्त गराउनु मन्त्रीलाई खुशी पार्ने प्रपञ्च भनिएपनि अहिलेको महामारीमा त्यसलाई अर्थपूर्ण ठानिएको छ । उनी दैनिक सिंहदरबारस्थित अर्थमन्त्रालय, पुल्चोकको मन्त्री निवास, यदाकदा बालुवाटारको बैंक र धुम्बाराहीस्थित ससुराली र घर गर्दागर्दै ज्वाईं लकडाउनमा पनि व्यस्त भएका हुन् ।

टिप्पणीहरू