पास टक्र्याएवापत क-कसले कति कोशेली पाए प्रधानमन्त्रीज्यू ?

पास टक्र्याएवापत क-कसले कति कोशेली पाए प्रधानमन्त्रीज्यू ?

जिल्ला प्रशासन कार्यालयले लकडाउनको अवधिमा अत्यावश्यक कामको लागि पास भएका सवारी साधनलाई मात्र गुड्न दिने बताउँदै आएको छ । तर,काठमाडौंका सडकमा पासको चरम दुरूपयोग गरी निजी काम फत्ते गरिएका अनेक प्रमाण जनआस्थासङ्ग सुरक्षित छन् ।

नियम पालना गराउने निकायबाटै भएको यस्तो चरम दुरूपयोगले समाजमा कस्तो सन्देश जान्छ ? एकातिर अत्यावश्यक काममा हिँडेका सर्वसाधारणलाई सुरक्षाकर्मीले अनावश्यक रूपमा दपेट्ने गरेको पाइएको छ । तर,तिनै सुरक्षाकर्मीका सामुन्ने ‘बोलकबोल’ बाट पास लिएकाहरू मान्छे उडाउँला झैं गरी सवारी साधन हुँइकाइरहेका छन् ।

विभिन्न नजराना र कोशेली चढाउने व्यवसायी र पहुँचवाला मारवाडीको निजी सवारी साधनलाई जिल्ला प्रशासन र नेपाली सेनाले आँखा चिम्लेर सवारी पास उपलब्ध गराएको पाइन्छ । प्रशासन कार्यालय, काठमाडौंले प्रदेश नं. ३–१–२२ च ५५१६ नम्बरको सवारी साधनलाई बैशाख २ गते जारी गरेको पासमा प्रयोग गर्ने अवधि अनिश्चितकाल तोकिएको छ । सुशासनको एकोहोरो राग सुन्दै आएका नेपालीलाई उक्त पासले थप गिज्याएको छ ।

पासमा सवारी धनीको नाम,किसिम र प्रयोग गर्ने स्थानमा केही पनि लेखिएको छैन । प्रयोगकर्ता भनिएको ठाउँमा होटल सम्बन्धी’ उल्लेख छ । चालकको नाम क्याबिनमा’ भनिएको छ । व्यक्तिको नाम अहिलेसम्म क्याबिन रहेको कँहिकतै सुनिएको छैन ।

स्रोतकाअनुसार उक्त सवारी साधन एकजना मारवाडीले आफ्नो होटलमा काम गर्ने कर्मचारीको लागि उपलब्ध गराएका हुन् । ३३८३ नं.को उक्त पास सहायक सिडियो जीवनप्रसाद आचार्यले जारी गरेको देखिन्छ । सिडियो कार्यालयले सवारी चालक प्रमाणपत्र, ब्ल्युबुक र सवारी धनी तथा चालकको नागरिकता नहेरी पास बाँडेको स्वतः पुष्टि  हुन्छ पुष्टि  हुन्छ ।

जबकि भोलिपल्ट सोही कार्यालयबाट जारी इ–पाससम्बन्धी सूचनामा अघिल्लो दिनसम्म कार्यालयमा उपस्थित भई अत्यावश्यक कार्यको प्रमाण जुट्ने कागजात पेश गर्नेहरूलाई मात्र पास उपलब्ध गराइएको भनिएको छ । तर,कार्यालयको दाबीबमोजिमको कुनै व्यहोरा पासमा उल्लेख नहुनेले समेत सरकारी कामको धज्जी उडेको छ । सूचनामा पहेँलो रंगको पास लकडाउन अवधिभर मान्य हुने उल्लेख छ । यसले गलत तवरबाट उपलब्ध गराइएका त्यस्ता पासलाई थप हाइसञ्चो भएको छ ।

त्यस्तै,कर्णेल इन्द्रबहादुर रायमाझीको हस्ताक्षरमा सेनाको डमरु चिन्ह हालेर सडकमा तैनाथ ट्राफिक र अन्य प्रहरीले छुनसमेत नपाउनेगरी बैशाख ७ गते नेपाली सेनाद्वारा जारी पासले ठेकेदार कम्पनी श्यामबाबा इन्टरप्राइजेजलाई लकडाउन अवधिभर मुलुकभित्र निर्वाध गाडी चलाउन दिएको छ । पासमा उल्लेखित छ वटा सवारी साधनमध्ये बा १६ च ९६६१ निजी कार (स्विफ्ट) हो । सेनाले चिया ओसार्ने प्रयोजनको लागि पास दिएको भनिएको छ । तर निजी कारमा सेनाको हजारौं किलोग्राम चियापत्ति ओसार्न सम्भव देखिँदैन ।

के काठमाण्डौमा तैनाथ सेनाले एकै दिनमा  वटा गाडीभरी “ओसारिने” तीनपाते चिया खपत गर्छन् ? काठमाण्डौ जिल्लामा चिया ओसार्न नेपालभरको पास चाहिन्छ ?

अरुण अग्रवाल (श्यामबाबा इन्टरप्राइजेज) को उक्त गाडीलाई दिइएको पासमा ७ गतेको मिति हातले पछि थपिएकाले पनि पत्र पहिले नै तयार थियो भन्ने बुझिन्छ ।

उता,गृह मन्त्रालयले बैशाख ३ गतेदेखि अत्यावश्यक कामका लागि नागरिकलाई इ–पास उपलब्ध गराएपनि त्यसको प्रभावकारिता देखिएको छैन । जरुरी कामको लागि आवश्यक कागजातसहित आवेदन गरेपनि कैयौं दिनसम्म कुनै जानकारी प्राप्त नभएको सर्वसाधारणले बताएका छन् । दुई दिनअघि एकजनाले शिक्षण अस्पताल, महाराजगञ्जबाट सीतापाईलासम्म सुत्केरी लैजाने कामको लागि इपास अनुरोध गर्दै अनलाईन फाराम भरेपनि आजसम्म कुनै जवाफ प्राप्त भएको छैन । तर, पहुँच हुने व्यापारीको लागि अत्यावश्यक त्यहि पास कालोबजारी गर्ने माध्यम बनेको छ ।

नेपाली सेनाले जारी गरेको पासलाई प्रहरीले सामान्यतयाः नहेर्ने भएकाले पनि सेनाबाट सवारी पास हत्याउनेहरू बढी नै देखिएका छन् । यसअघि कूटनीतिक सुविधाको गाडीमा स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा शुलभ अग्रवाल पक्राउ परेका थिए ।

अहिले पनि त्यस्ता गाडीमा गैरकानुनी र निजी व्यावसायिक काम भएको छैन भन्ने सुनिश्चितता कसले गराउने ? अर्कोतर्फ, महामारी र लकडाउनको समयमा पनि मोलमोलाई र बोल कबोलबाट विभिन्न सुरक्षा निकाय तथा प्रशासनले उपलब्ध गराएको पासले सरकारी सुशासनको रटानमा गतिलो प्रहार गरेको छ । समाजशास्त्रीहरूले महामारीमा यस्तो गलत काम गर्ने र गराउने दुबैलाई ‘अनैतिक’ भनेका छन् ।

टिप्पणीहरू