कोरोनाले गराउन सक्छ यसरी परिवर्तन

कोरोनाले गराउन सक्छ यसरी परिवर्तन

न नाका न खेत जहाँबाट नेपाल छिरे पनि त्यस्ताको अभिलेख राख्ने व्यवस्था छैन । कालान्तरमा उनीहरूलाई बर्सौंदेखि नेपालमा बस्दै आएका हुन् भनेर विगतमा झैं प्रमाणित नगरिएला भन्न सकिन्न ।

कोरोना महामारीले अन्यत्र झैँ हाम्रो मुलुकको पनि जनसांख्यिकलगायतका बनोट र विशेषतामा आमूल परिवर्तन ल्याउने सम्भावना बढेको छ । खुल्ला सिमानाको कारण छिमेकीहरू बेरोकतोक छिरिरहेका छन् । भारतमा संक्रमण विकराल भएमा केहीपछि नेपाली मूलका पनि छिर्न थाल्छन् । यसले खुल्ला सीमाको सर्वाधिक चुनौति यतिखेरको महामारीमा देखिने अवस्था बढेको छ । न नाका,न खेत जहाँबाट नेपाल छिरेपनि त्यस्ताको अभिलेख राख्ने व्यवस्था नै छैन । कालान्तरमा उनीहरूलाई बर्सौंदेखि नेपालमा बस्दै आएका हुन् भनेर विगतमा झैं प्रमाणित नगरिएला भन्न सकिन्न । त्यसो भयो भने भविष्यमा हाम्रो जनसांख्यिक बनोटमा आउने नयाँ स्वरूपले गम्भीर चुनौति थप्नेछ ।

कोरोनाले हाम्रा पछिल्ला मूल्य मान्यतामा पनि परिवर्तन गराउने देखिएको छ । रोजगारी भनेकै विदेश जाने, फुर्तिलो छउञ्जेल उतै बस्ने र बूढो भएपछि मात्र घर फर्कने सोचलाई त्याग्न महामारीले बाध्य गराएको छ । यस्तो अवस्थामा विदेशमा रहेका धेरैजसो एकैचोटी जन्मथलो फर्कन थाले भने तिनले के काम गर्लान् ? सरकारले के काम देला ? उनीहरू सँधै नेपालमा बसेपछि सरकारलाई रेमिट्यान्स कसले पठाउला ? रेमिट्यान्स आउन छाडेपछि त्यसैको आडमा मौलाएको वित्तीय बिचौलियाको हालत के होला ? सबैभन्दा रोचकपक्ष रेमिट्यान्सले बिगारेको घरमा बसेकाको ‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ सँगको सम्बन्ध कति सुमधुर होला ?

कर्मचारीलाई हाजिर गराएपछि तलब दिनै पर्यो । अनि लाखौंको संख्यामा रहेका सेवा निवृत्तको पेन्सन के गर्ने ?

कृषि वा औद्योगिक निर्यातबाट विदेशी मुद्रा आर्जन हाम्रालागि एकादेशको कथा बनिसकेको छ । महामारीसँगै राजश्व, रेमिट्यान्स, विदेशी लगानी, विदेशी अनुदान र ऋण सुक्न थालेको छ । यसले आगामी केही महिनापछि सरकारले कर्मचारी, सेना र प्रहरीलाई तलब खुवाउन नसक्ने अवस्था आउनसक्ने अनुमान लगाउन सकिन्छ । बहालवाला कर्मचारीलाई हाजिर गराएपछि तलब दिनै पर्यो । अनि लाखौंको संख्यामा रहेका सेवा निवृत्तको पेन्सन के गर्ने ?लकडाउनको डेढ महिनामै सरकारको आर्थिक हबिगत निचोरेको कागतीझैं बनिसकेको छ । अवस्था सर्वत्र सहजतातिर नलागी गञ्जागोलतिर लम्केको छ ।

सरकारले आगामी बजेटको आकार घटाउने भनेको छ । अनुदान नपाए विदेशबाट ऋण भएपनि लिने भनिएको छ । तर, हिजोको दिनमाझैँ सहज तरिकाले अब ऋण पनि कहाँ पाइएला, कसले देला ! हामीमात्र होइन विश्वका सबै महामारीबाट आक्रान्त छन् । ठूला र धनी भनाउँदा देशहरूलाई कोरोनाले उठ्नै नसक्नेगरी थला पारेको छ । जोगीको घरमा सन्यासी पाहुना भनेझैं यस्तो बेलामा कसले कसलाई सहयोग गर्ने ? सर्वत्र जनस्वास्थ्यसँगै आर्थिक, सामाजिक र जनसांख्यिक संकट चुलिँदैछ ।

हिजोको दिनमाझैँ सहज तरिकाले अब ऋण कहाँ पाइएला, कसले देला ! 

टिप्पणीहरू