नाकाबाट दिनहुँ नेपाल
भारत र नेपालको खुला सीमानाकाका कारण बाँके जिल्ला कोरोनाको उच्च जोखिममा छ । अहिले नेपाल भारतको सीमा सिल गरिएको छ । तर, खुला सीमाका थुप्रै चोरबाटोबाट नेपाल प्रवेश गर्नेको संख्या दिनहुँ बढिरहेको छ ।
विशेष गरी बाँकेको नरैनापुर क्षेत्रमा दिनहुँ भारतबाट नेपाली प्रवेश गरिरहेको बताइन्छ । गत साता मात्रै भारतका विभिन्न स्थानमा काम गर्ने २१ नेपाली नरैनापुर प्रवेश गरेका थिए । भारतीय प्रहरीकै सहयोगमा उनीहरू नरैनापुर गाउँपालिकको सुईया नाकाबाट नेपाल प्रवेश गरेका थिए । भारत श्रावस्ती जिल्ला भिन्गा हुँदै उनीहरू नेपाल प्रवेश गरेका थिए । उनीहरू फर्किएको जानकारी पाउनेबित्तिकै नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहको पहलमा उनीहरूलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टिनमा राखियो तर सशस्त्र प्रहरीले ती मजदुरलाई लगेर दशगजामा राखिदियो ।
प्रहरीले निर्देशनबमोजिम दशगजामा राखेको बताएको छ । यसमा स्थानीय सरकार र प्रहरीबीच समन्वय नभएको देखिन्छ । दशगजामा लगेर छाडिएका उनीहरूका आफन्तले क्वारेन्टाइनमा ल्याएर राख्न माग गरिरहेका छन् ।
नरैनापुरका प्रमुख शाह गाउँपालिकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्न चाहे पनि प्रहरीले राख्न नदिएको बताउँछन् । सीमाक्षेत्रमा अहिले पनि सय बढी नेपाली अलपत्र अवस्थामा रहेको स्थानीय मकबुल अहमद मकेरी बताउँछन् । भारतले नेपालीलाई नेपाल पठाउन खोज्ने, नेपालले प्रवेश नै गर्न नदिने गरेपछि उनीहरू अलपत्र परेको बताइन्छ । तथापि, फाटफुट रुपमा भारतबाट नेपालीहरू प्रवेश गरिरहेको बताइन्छ ।
नेपालगञ्जमा किटसहितको सामग्री आइपुग्यो, अब परीक्षणको दायरा बढ्ने
नेपालगञ्जमा कोरोना (कोभिड–१९) संक्रमित संख्या बढदै गएपछि रोकथाम र नियन्त्रणका लागि आवश्यक किटलगायत स्वास्थ्य सामग्री नेपालगञ्ज पुुुगेको छ । बाँकेका सांसदहरूको निरन्तरको प्रयास र चौतर्फी मागपछि शुक्रबार स्वास्थ्य मन्त्रालयले पश्चिम नेपालकै लागि कोरोना परीक्षणको किटसहित स्वास्थ्य सामग्री आर्मी स्काई ट्रकमार्फत पठाएको हो ।
संवाद समूह बाँकेले संघीय एवं प्रदेश सांसदसँगकोे लगातारको संवाद र पहलपछि सांसदहरूले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने भन्दै सरकारसँग स्वास्थ्य सामग्री माग गरेका थिए । काठमाडौंमा उपलब्ध बाँकेका सांसदहरूले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागलगायत निकायमा पुगेर मागसहितको ध्यानाकर्षण गराउँदै आएपछि स्वास्थ्य सामग्री उपलब्ध भएको हो ।
स्वास्थ्य मन्त्रालयले नेपालगञ्ज, बुटवल, जुम्ला, धनगढीका लागि पिसिआर किटसहितको सामग्री पठाएको छ । टेष्ट किटलगायत अभाव भइरहेका बेला आर्मी स्काई ट्रकले शुक्रबार साँझपख सो सामग्री राँझा एयरपोर्टमा झारेको थियो । बुटवलदेखि पश्चिमका विभिन्न जिल्लाका लागि टेष्ट किट, भिपीएम सहितको आवश्यक सामग्री आएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले जानकारी दिए । कोरोना परीक्षण हुँदै आएको भेरी अस्पतालका लागि दुुुई हजार थान टेष्ट किट प्राप्त भएको भेरी अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका ल्याब टेक्निसियन केशव ज्ञवालीले स्वाब संकलनका लागि आवश्यक एक हजार भिपीएम, ४० वटा पीपीईलगायत सामग्री उपलब्ध भएको बताए । यसैगरी, कोरोनासम्वद्ध विज्ञ पनि आएको बताइएको छ । किटसहित सामग्री उपलब्धतासँगै नेपालगञ्जमा कोरोना परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ । यसअघि नेपालगञ्जका लागि २५० थान किट मात्र प्राप्त भएको थियो । हाम्रो निरन्तरको पहल र माग सम्बोधन भएको संघीय सांसद महेश्वर गहतराज (अथक) ले जानकारी दिए । उनका अनुसार अब नेपालगञ्जमा किट र स्वास्थ्य सामग्री अभाव हुने छैन । अथकसँगै राजधानीमा रहेका बाँकेका सांसदहरू मो इस्तियाक राई, नन्दलाल रोकाया, सुरेन्द्र हमाल, पुर्णाकुमारी सुवेदी र सर्वतआरा खानमलेसम्बद्ध पक्षसँग नियमित समन्वय गर्दै आएका थिए ।
नेपालगञ्जमा अहिलेसम्म २५ जनामा कोरोना पोजेटिभ देखीएको छ भने सम्भावित जोखिम क्षेत्रमा स्वाब संकलन जारी राखिएको छ ।
टिप्पणीहरू