राहदानी विभागका कम्प्युटरमा भाइरस

राहदानी विभागका कम्प्युटरमा भाइरस

पछिल्लो समय राहदानी सेवा ठप्प भएपछि सर्वसाधारण मर्कामा परेका छन् । उक्त सेवा सुचारु हुन अझै एक–दुई हप्ता लाग्ने जनाइएको छ । राहदानी विभागका अनुसार पासपोर्ट सेवा पूर्ण रुपमा प्रारम्भ हुन एकदेखि दुई हप्ता लाग्ने छ । 

सिस्टममा समस्या आएपछि गत बिहीबारदेखि राहदानी सेवा बन्द गरिएको छ । आजदेखि सेवा सुचारु गर्ने भनिएपनि समस्या समाधान गर्न अझै समय लाग्ने भएको छ । विभागका अनुसार राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस पाइएको छ ।

‘राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको र यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरुको राहदानी सेवा बन्द गर्नु परेको छ,’ विभागले भनेको छ, ‘उक्त स्थानहरुमा सेवा क्रमशः प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रुपमा प्रारम्भ हुन एक–दुई हप्तासम्म लाग्न सक्ने देखिएको छ ।’

विभागबाट आंशिक रुपमा सेवा प्रारम्भ गरिएको र यसअघि नै फाराम भर्ने सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएको जनाइएको छ । एक–दुई दिनभित्र नयाँ आवेदन फारामका लागि बुकिङ्ग खुला गर्ने तयारी छ ।

विभागले अत्यावश्यक पर्ने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन थालिसकेको भन्दै सिस्टममा भाइरस देखा परेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी काम गरिरहेकोले धैर्यता अपनाउन पनि अनुरोध गरेको छ । साथै, आ–आफ्नो जिल्ला–ईलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिनेहरुलाई अध्यावधिकसम्बन्धी जानकारीका लागि विभागको टेलिफोन नम्बर ५४७०३३०, ५४७०३३१ वा ५४७०३३२ मा सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू