डाइभर्सनको काम चैतबाटै ठप्प

डाइभर्सनको काम चैतबाटै ठप्प

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको काम चैतदेखि ठप्प छ । कोरोनाका कारण आयोजनाको काम ठप्प भएको हो । कोरोना संक्रमणको जोखिम, पर्याप्त प्राविधिक, कामदार, कच्चा पदार्थ र आवासको उपलब्धता नहुँदा काम पूर्णतया प्रभावित भएको छ ।
सरकारले राष्ट्रिय गौरवका आयोजना सुचारु गर्ने भने पनि बबई डाइभर्सनको काम सुचारु हुन सकेको छैन ।

नेपाल सरकार ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय जलस्रोत र सिँचाइ विभागअन्तर्गत सञ्चालित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना सुर्खेतको डाइभर्सन, सुरुङको मुहान निर्माण र पावरहावस निर्माण गर्न बाँकी छ । आयोजनाको काम गर्ने जिम्मेवारी पाएको गुवाङडोङ योन्टिएन–रमन जेभी कन्स्ट्रकसन काठमाडांै नेपालले २०७६ साउन ३० देखि २०८० साउन २८ सम्म कुल बजेट ६ अर्ब १६ करोड ५१ लाख २५ हजार ७ सय ७५ रुपैयाँ ८९ पैसामा सम्पन्न गर्नुपर्ने सम्झौता छ । परियोजनाबाट अपेक्षित ४६.८ मेगावाट र ५१ हजार हेक्टर बाँके र बर्दियाको जमिनमा सिँचाइ सुविधा हुने लक्ष्य लिइएको छ । परियोजनाको सुरुङ १२ किमि छ ।

परियोजनाअन्तर्गत निर्माणाधीन कफरड्याम संरक्षण, डाइभर्सन सडक निर्माण र क्रसरको काम प्रभावित छन् । परियोजना निर्माणका साइड इन्चार्ज दिलीप गुरुङ भन्छन् –आवासको काम सम्पन्न नहुँदा बसाइमा समस्या छ ।

लकडाउनमा काम नगर्र्न भन्दै स्थानीयले काम रोक्न दबाब दिएको उनी बताउँछन् । अत्यावश्यक सामान ढुवानी गर्न पास आवश्यक पर्ने भए पनि सम्बन्धित निकायबाट पास नपाएको उनको भनाइ छ ।

वर्षातको समय नजिकिँदै छ, वर्षातमा भेरी नदीको सतह बढ्छ –उनले भने – सतह बढेका बेला काम हुँदैन । समयमै काम सुचारु नभए परियोजनाले ठूलो क्षति व्यहोर्नुपर्ने उनी बताउँछन् ।

परियोजनाका कामदार, मिस्त्री र कर्मचारीको बसोबासका लागि आवास क्षेत्र निर्माण क्रममा छ । आवास क्षेत्र निर्माण सम्पन्न नहुँदा परियोजनामा कार्यरत कर्मचारी, मिस्त्रीलाई बसाइको समस्या छ । हिमालयन प्रि फाइभ कम्पनी काठमाडांैले आवास निर्माण गरिरहेको छ । स्थानीयले कोरोना संक्रमणको जोखिम हुने भन्दै काम गर्ने कामदारलाई घर फर्काइदिँदा आवासको काम हुन नसकेको हिमालयन प्रि फाइभ कम्पनीका दिनेश अधिकारी बताउँछन् ।

परियोजना क्षेत्रका स्थानीय भने परियोजनाको काममा स्थानीयलाई काममा नराखी बाहिरबाट कामदार ल्याउने गरेकाले जोखिमको डरले काम गर्न नदिएको बताउँछन् ।

परियोजना सञ्चालित भेरीगंगा नगरपालिका–११ का सदस्य नरबहादुर बस्याल भन्छन्, ‘कोरोनाको जोखिमलाई ध्यान दिई परियोजनाको काम शुरु गर्न सकिन्छ ।’

यसैगरी, परियोजनामा कार्यरत १०५ जनाको कोरोेना परीक्षण गर्नुपर्ने मागसमेत स्थानीयको छ ।

टिप्पणीहरू