महामारीले डिभोर्समै समस्या

महामारीले डिभोर्समै समस्या

धेरै जोडीले तत्काल डिभोर्स गर्न चाहेको सामाजिक सञ्जालमा लेखेका छन् ।  डिभोर्स गर्न चाहनेलाई त्यस्ता कम्पनीले तत्काल घर वा कोठा छाडेर एक्लै बस्न सकिने उपायसमेत बताएका छन् ।

मानिसका समस्या पनि थरीथरीका छन् । विश्वभरि महामारीको संक्रमण फैलँदो छ । अधिकांश देश लकडाउनमा छन् । जापानले स्वास्थ्य संकटकालको घोषणा गरेको छ । चीन, दक्षिण कोरियालगायतका मुलुकले लकडाउन नगरेपनि सामाजिक दूरीमा कडाई गरेका छन् । सर्वत्र अत्यावश्यक बाहेकका सरकारी तथा गैरसरकारी कार्यालयको सेवा ठप्प छ । गरिब देशका नागरिकलाई हातमुख जोर्न धौ धौ परेको छ । तर, महिनौंदेखि घर र कोठामा सीमित हुनुपरेको कारण धनी र स्वच्छन्द समाजमा हुर्किएकालाई अर्कै पिरलोले गाँजेको छ ।

रोजगारी गुमाएर रातदिन एउटै घर, कोठामा सीमित हुनुपरेको भन्दै जापानमा धेरै जोडीले आफूहरुले तत्काल डिभोर्स गर्न चाहेको सामाजिक सञ्जालमा लेखेका छन् । यतिखेर जोडी मिलाउने कम्पनीले जोडीको खोजीमा रहेकाहरुको विवरणसहितको विज्ञापन धमाधम प्रकाशन गर्न थालेका छन् । डिभोर्स गर्न चाहनेलाई त्यस्ता कम्पनीले तत्काल घर वा कोठा छाडेर एक्लै बस्न सकिने उपायसमेत बताएका छन् । उनीहरुले कानुनी प्रक्रिया पूरा नहुञ्जेल कोरोनाको अवधीभर त्यस्ता व्यक्ति होटलमा बस्न मिल्ने नयाँ उपाय सुल्झाएका छन् ।

कोरोनाले जापानी परिवारमा ठूलो असर पार्न थालेको छ । सन् ७० र ८० को दशकमा जापानले उच्च आर्थिक विकास गरेको थियो । त्योताका पुरुष कर्मचारीले घरपरिवारभन्दा कार्यालय र कारखानालाई नै सर्वोपरी ठान्थे । अहिलेको लकडाउनमा त्यस्तामध्ये केही भने परिवारसँग समय बिताउन पाउँदा दंग छन् ।

नयाँ पुस्ताका अधिकांश पुरुष कर्मचारी डिभोर्स छल्न विनाकाम लकडाउनमा समेत राती अबेरसम्म कार्यालयमा बस्न थालेका छन् । किनकी उनीहरु घरको काम, श्रीमतीको गुनासो  र युवाअवस्थाका छोराछोरीको करकरबाट टाढै बस्न रुचाउँछन् । महिला कर्मचारीले त्यहि सिको गर्न थालेका छन् ।

टिप्पणीहरू