पास चाहियो ? खुसुक्क पाँच हजार

पास चाहियो ? खुसुक्क पाँच हजार

हिजो शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच जना व्यवसायीले पाँच हजारका दरले पाँचवटा पहेँलो रंगको पास लिएका छन्  ।

सरकारले लकडाउनमा अत्यावश्यक कामको लागि मात्र सवारी साधन चलाउन पाइने बताएको छ । तर, आवश्यक परेर अनुरोध गर्नेलाई विभिन्न बहानामा पन्छाउँदै निजी प्रयोजनको लागि पाँच हजार रूपैयाँमा सवारी साधन पास दिने गरिएको रहस्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बैशाख ३ गतेदेखि इ–पास लागू गरे पनि नजराना बुझाउनेलाई भने पुरानै मिति राखेर पहेँलो रंगको पास दिने काम रोकिएको छैन ।

हिजो शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँचजना व्यवसायीले पाँच हजारका दरले पाँचवटा पहेँलो रंगको पास लिएका छन्  । बैशाख २ गतेअघिको मिति लेखिएको पास मिलाउने काममा कार्यालय परिसरमा एजेण्टको काम गर्ने दुईजना र त्यहिँ तैनाथ सुरक्षाकर्मीको साँठगाँठ रहेको कार्यालय समयमा सजिलै देख्न सकिन्छ ।

कम्तिमा पाँच हजार रूपैयाँ हात परेपछि यादव थरका प्रहरीले कार्यालयका कर्मचारीसँग मिलेमतो गरेर पास उपलब्ध गराउने गरेको स्रोतको दाबी छ । एजेण्टले पास चाहनेसँग लिएको रकममध्ये एक हजार राखेर अरु यादवलाई दिन्छन् । यादवले पनि एकहजार राखेर बाँकी रकम पास उपलब्ध गराउने कर्मचारीलाई दिएपछि दुई जना सहायक सिडियोमध्ये जीवन आचार्यको नाम र छाप लागेको पास बकाइदा बाहिर ढोकामै आइपुग्छ ।

नपत्याए तपाईं पनि प्रयोग गर्न सक्नुहुन्छ  !

टिप्पणीहरू