कोरोनापछि डेरी क्षेत्रबाट प्राप्त हुन सक्ने अवसर

कोरोनापछि डेरी क्षेत्रबाट प्राप्त हुन सक्ने अवसर

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व आक्रान्त भएर महामारीविरुद्ध संघर्ष गर्दैगर्दा त्यसपछाडिको आर्थिक पाटोको समाधान कसरी गर्ने भन्नेबारे चिन्ता झनै गहिरो बन्दै गएको छ । महामारीलाई नियन्त्रण गर्न भन्दै विश्वभर गरिएको लडकडाउनका कारण विश्वको अरबौं जनसंख्या घरभित्रै बसिरहँदा र लकडाउन नभएका मुलुकमा पनि महामारीको त्रासदीका कारण गतिविधिहरु सुस्त हुँदा सुरु भएको बेरोजगारीको अवस्थाले जोकोहीलाई भयभित बनाएको छ ।

लकडाउनको करिब डेढ महिना हुँदै गर्दा नेपालमा पनि यो समस्याको खाडल बढ्दै गएको छ । बन्द उद्योगका उद्योगीहरुले कामदारलाई तलब दिन नसक्ने र दिए पनि आंशिक भुक्तानी मात्रै गर्ने बताइरहेका छन् । स्वरोजगारहरुको व्यवसाय बन्द हुँदा समस्या थपिएको छ । त्यसमाथि विदेश गएकाहरुको घरफिर्तीको सम्भावनाका कारण बढ्दै भविष्यमा बेरोजगारीको खाडल थप गहिरिँदै जाने संकेत देखिएका छन् । अन्तर्राष्ट्रिय उडान खुला हुने वित्तिकै लाखौं नेपाली घर आउने तयारीमा रहेको आँकडा सरकारी निकायबाटै आइसकेका छन् ।

लकडाउनका कारण सिर्जित तत्कालिन समस्या त एकातिर छ नै । नागरिकहरुले दैनिक जीवनयापनकै लागि भौतारिनुपर्ने अवस्था आउँदा सरकारबाट उनीहरुले राहतको अपेक्षा गर्नु अस्वाभाविक होइन । उद्योग व्यवसायले पनि सरकारबाट सहुलियतको अपेक्षा गरिरेहेका छन् । सरकारले तत्कालका लागि आवश्यक केही सहुलियतको घोषणा गरे पनि गुम्दै गएको औद्योगिक क्षमता र रोजगारी, बढ्दै गएको ऋण र ब्याजको सम्बन्धमा गर्नुपर्ने दीर्घकालिन सम्बोधन गर्नै बाँकी छ ।

देशमा रहेका रोजगार वा स्वरोजगारलाई सरकारले सकेसम्म त्यही क्षेत्रमा रोजगारीको निरन्तरता दिने पर्यत्न गर्नुपर्छ । तर तत्काल रोजगारी सम्भव नभएकालाई अन्य सम्भावित क्षेत्र पहिचान गरेर त्यस्तो रोजगारी वा स्वरोजगारीको अवसर सिर्जना गर्नेतिर ध्यान दिनुपर्छ । यो अवस्थामा दुग्ध व्यवसाय एउटा उपयुक्त सम्भावना रहेको क्षेत्र हुनसक्छ । यो क्षेत्रमा सुधार गर्न सक्ने हो भने यसले रोजगारीलाई मात्रै नभएर कुपोषण र भोकमरी समेतलाई निवारण गर्न सघाउन सक्छ ।

डेरी त्यस्तो क्षेत्र हो जसले ग्रामीण अर्थतन्त्र र शहरी अर्थतन्त्रबीचमा पुलको काम गर्छ । अहिले देशमा दैनिक औसत ६२ लाख लिटर दुध उत्पादन हुन्छ । यसमध्ये आधा अर्थात् ३१ लाख लिटर दुध बजारमा बिक्री हुने गरेको छ भने आधा अर्को ३१ लाख दूध किसान आफैंले उपभोग गर्ने गरेको पाइन्छ ।  बजारमा बिक्री हुन आउने उक्त ३१ लाख  दुध मध्ये करिब १७ प्रतिशात  दुध औपचारिक क्षेत्रका डेरी उद्योगहरुले खपत गर्ने र बाँकी ३३ प्रतिशात दुध अनौपचारिक रुपमा विभिन्न तरिकाले खुल्ला रुपमा , घरघर पुर्याई  बजारमा बिक्री गर्ने गरेको पाइएको छ । यसरी लकडाउन घोषणा हुनुअघिसम्म औपचारिक र अनौपचारिक रुपमा यो क्षेत्रको माध्यमबाट दैनिक ५ करोड रुपैंया रकम शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा प्रवाह हुँदै आएको देखिन्छ । अहिले यो क्षेत्रमा करिब ५ लाख किसान स्वरोजगार रहेको र करिब १० हजार व्यक्तिले यसमा प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको तथ्यांक छ ।

यति हुँदाहुँदै पनि अहिलेको अवस्थामा हामीले बजारको ८० प्रतिशत माग मात्रै धान्न सकेका छौं । दुध उत्पादन कम हुने समयमा त झन् यो हामीले त्योभन्दा ठूलो हिस्सा माग धान्न सकिरहेका छैनौं । त्यसैले अहिलेकै अवस्थामा पनि यो क्षेत्रले थप करिब १० हजार रोजगारी र अन्य लाखौं स्वरोजगारी सिर्जना गर्न सक्छ भन्ने अनुमान छ । त्यसबाहेक दुग्ध पदार्थको उपभोग गर्ने शैली बदल्ने र यसबाट बन्ने बाइप्रोडक्टहरु उपयुक्त ढंगबाट बनाउने हो भने यसले त्योभन्दा ठूलो रोजगारीको अवसर सिर्जना गर्ने अवस्था देखिन्छ ।

त्यति हुँदाहुँदै पनि हामीले अहिलेसम्म पनि दुग्ध पदार्थबाट नयाँ नयाँ परिकारहरु उत्पादन गर्न सकिरहेका छैनौं । दुग्ध पदार्थबबाट बन्ने वार्षिक अरबौं मूल्य बराबरका चकलेटहरु अहिले पनि विदेशबाट आउँछन् । विभिन्न पेय पदार्थ, इनर्जि ड्रिङ्क्स, जुस लगायत पनि विदेशबाट आउने गरेका छन् । यी पेय पदार्थको सट्टामा दुधबाट बन्ने परिकार प्रयोग गर्न सक्ने हो भने यसले यो क्षेत्रको कुल खपत बढाउँछ । जसले गर्दा थप रोजगारीका अवसरहरु समेत सिर्जना हुन सक्छ ।

अब शहरी भेगमा रहेको जनसंख्या विस्तारै ग्रामीण वा अर्ध–शहरी क्षेत्रमा फैलिएर जाने सम्भावना छ । यसले गर्दा डेरी क्षेत्रको बजार पनि काठमाडौं वा मुख्य शहरमा मात्रै केन्द्रित नभएर उदीयमान शहरमा केन्द्रित हुँदै जानुपर्ने आवश्यकता देखिएको छ । यस्तो अवस्थामा डेरी उद्योगहरुको संरचनागत सुधार गरेर यही संरचनामा केही थप रोजगारीको अवसर खोज्नसक्ने अवस्था पनि देखिन्छ ।

तर, डेरी उद्योगको विकासको लागि अहिलेको प्रणालीमा भने सुधार गर्नुपर्छ । राष्ट्रिय स्तरमा सञ्चालित उद्योगहरुले डेरी क्षेत्रमा नयाँ नयाँ अनुसन्धान र विकास गर्ने, नयाँ नयाँ उत्पादन र परिकारहरु बनाउने गर्नुपर्छ । ती उद्योगहरुले परम्परागत रुपमा परिकार बनाउने र दैनिक रुपमा वितरण गर्ने प्रणालीलाई परिवर्तन गरेर दुग्ध पदार्थको माग बढाउने, माग र आपूर्तिमा सन्तुलन गर्ने लगायतका काममा ध्यान दिनुपर्ने देखिन्छ ।

जस्तै, धेरै दुध उत्पादन हुने समयमा पाउडर बनाउने, चकलेट लगायत अन्य नयाँ परिकारहरु बनाउने लगायतका काम ती उद्योगले गर्न सक्छन् । जसलाई राष्ट्रिय रुपमै बिक्रीवितरण गर्न सकिन्छ । दुध उत्पादन नहुने र ग्रामीण क्षेत्रमा समेत पठाएर त्यसको उपभोग बढाउन सकिन्छ । अहिलेको तरिकाबाट  उत्पादन भैइरहेको  दुध, दही, घ्यु, मही, बटर, पनिर आदिलाई  वितरण गर्ने प्रणाली पनि परिवर्तन गरि आधुनिक तवरले प्रादेशिक तहदेखि स्थानीय तहसम्म पुर्याउनुका साथै निर्यात समेत गर्न  सक्नुपर्दछ । त्यस्तै आर्मी , पुलिस, स्कुलका  विद्यार्थी, खेलाडीलाई अनिवार्य दूध सेवन गराउने वातावरण बनाउन सक्ने हो भने दैनिक थप १ लाख लिटर दूध खपत बढाउन सकिन्छ । यसरी स्वदेशी खपमा पनि विशेष ध्यान दिन सक्नुपर्छ ।

सरकारले डेरी उद्योगलाई राष्ट्रिय, प्रादेशिक र स्थानीय तहमा विभाजन गरेर यसै अनुसार सहुलियत र अनुदानका कार्यक्रम पनि ल्याउनुपर्छ । राष्ट्रियस्तरका उद्योगलाई अत्याधुनिक प्रविधिमैत्री बनाउने तर धेरैभन्दा धेरै किसानको दुुध किन्नसक्ने व्यवस्था गर्नुपर्छ । प्रादेशिक स्तरका उद्योगले प्रविधि र मानव संसाधन दुवैलाई प्रयोग गरेर काम अघि बढाउनुपर्छ । स्थानीय स्तरका उद्योगहरु स्वरोजगारमुखी बन्नुपर्छ ।

स्थानीय तहका उद्योगले राष्ट्रिय तथा प्रादेशिक स्तरका उद्योगहरुको बिक्री एजेन्टको रुपमा काम गर्न पनि सक्छन् । यसो हुन सकियो भने यो क्षेत्रमा माग र आपुर्तिको सन्तुलन पनि हुन्छ । दुध बिक्री नभएर खेर जाने अवस्था पनि हुँदैन । उत्पादन भएका सबै दुधहरु बिक्री गर्ने अवस्था बन्ने हो भने यो क्षेत्रमा स्वरोजगारहरुको आकर्षण पनि बढ्छ । यसले ठूलो स्केलमा दुध उत्पादन गर्ने फार्महरुको विकास गर्न सहयोग पनि मिल्छ । लागत पनि कम हुन गई सस्तो हुन्छ । भोलिका दिनमा यसले हाम्रा उत्पादनहरु विदेशमा निर्यात गर्नसक्ने अवस्था पनि सिर्जना हुन सक्छ ।

डेरी उद्योग बहुआयामिक क्षेत्र हो । यो क्षेत्र आफैंमा धेरै क्षेत्रसँग अन्तरसम्बन्धित हुने भएकोले यो क्षेत्रमा हुने विकासले अन्य धेरै क्षेत्रलाई समेत  सहयोग पुर्याउन सक्छ । पशुपालनमा विस्तार हुँदै जाँदा कृषि क्षेत्रबाट उत्पादन हुने दाना उद्योगहरु पनि फस्टाउँदै जान्छन् । यसबाट पशुपालनबाहेकका अन्य कृषकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग मिल्न जान्छ । त्यस्तै, यो क्षेत्रको प्रबर्द्धन हुँदा अन्य पशुजन्य उत्पादनहरु प्रबर्द्धन गर्न पनि यसले सहयोग गर्छ । नयाँनयाँ अनुसन्धान र विकास अघि बढ्दै जाने हो भने भोलिलका दिनमा विदेशमा उच्च नश्लका गाईभैंसी बिक्री गर्नसक्ने अवस्था पनि रहन सक्छ ।

सरकार आफैंमा स्रोत होइन । यो एउटा परिचालक मात्रै हो, वितरक मात्रै हो । अहिले बजारको समस्या बाहेक व्यवसाय गर्न खोज्नेलाई उचित तालिमको अभाव, बैंकिङ कर्जा र सरकारी अनुदान प्राप्त गर्न असहजता, नीतिगत झन्झट, उद्योग चलाउनका लागि जग्गाको समस्या, गुणस्तर सुधारमा लागि राज्यको सहयोग आवश्यक पर्ने देखिन्छ । निजि क्षेत्रमा जम्मा ३० अर्ब लगानी भएको यो डेरी उद्योगमा  लकडाउनका कारण अहिले करिब ३ खर्बको क्षति भइसकेको छ भने करिब १० अर्बको धुलो दूध र बटर स्टक भएको अनुमान गरिएको छ । त्यो सबै क्षति राज्यले व्यहोर्न नसक्ला तर परिचालकको रुपमा राज्यले उल्लेखित समस्या समाधान गर्न भने सजिलै सक्छ ।

जसरी सरकार परिचालक मात्रै हो, डेरी उद्योग पनि आफैंमा स्रोत होइन । सरकार बलियो हुँदा देश बलियो बनेजस्तै, डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक बन्दै जाँदा कृषि क्षेत्रदेखि उद्योग, व्यापार र सेवामूलक क्षेत्र विस्तार हुँदै जान्छ । उत्पादक र उपभोक्ताबीचको वितरण प्रणाली जबसम्म राम्रो बन्दैन, तबसम्म न त उत्पादकले राहत पाउँछ, न त उपभोक्ताले नै । त्यसैले सरकारले सर्वप्रथम यो क्षेत्रलाई सुधार गर्ने दिशामा अघि बढ्नुपर्छ ।

तर, त्यसका लागि सरकारले यो क्षेत्रका उद्योगी, व्यवसायी र किसानलाई राहत दिएर यो क्षेत्रबाट पलायन हुने अवस्थाबाट रोक्नुपर्छ । अन्य व्यवसायजस्तै यो क्षेत्र पनि बैंकको ब्याज, घरभाडा, सञ्चालन खर्च, कर्मचारीको तलब सुविधा लगायतमै अल्झिएको छ । अत्यावश्यक सेवा भनिए पनि वितरण प्रणाली सुदृढ बन्न नसक्दा लकडाउनको समयमा यो क्षेत्रले संचालन हुदाहुदै पनि खरिद भएको दूध बिक्रि गर्न नसक्दा दोब्बर क्षति व्यहोरिरहेको छ । त्यसैले यो क्षेत्रका लागि पनि सरकारले राहतको व्यवस्था गर्नुपर्छ । तर त्योभन्दा ठूलो राहत भने सरकारले नेपाली व्यवसायीको संरक्षण गर्ने सुनिश्चितता दिनुपर्छ । भारतीय उद्योगलाई अनुमति दिने, दूध तथा दुग्ध पदार्थ आयात खुला गर्ने लगायत सरकारको अस्थिर नीतिका कारणले यो क्षेत्रमा ढुक्क भएर व्यवसाय गर्ने वातावरण छैन । त्यसलाई सुधार गर्नुपर्छ अनि मात्र यो क्षेत्रको विकास भैइ सरकारले अघि सारेको ” सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा ” साकार बन्न सक्दछ ।

टिप्पणीहरू