निर्देशनको धज्जी उडाउँदै बैंक

निर्देशनको धज्जी उडाउँदै बैंक

बुधबारको क्याबिनेट बैठकको निर्णयमा न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्न विभिन्न क्षेत्रलाई निर्देशन दिइएको थियो । सोही निर्णयलाई टेक्दै आज सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रका कर्मचारी कार्यालय गएका हुन् ।

डेढ महिनादेखि घर र कोठामा सीमित अधिकांशलाई कार्यालय प्रवेश पनि बाल्यकालमा मामाघर गएजस्तै भएको थियो । तर, कतिपयले भने सबै कर्मचारी बोलाएर कार्यालयमा अनावश्यक भीड बढाएको देखियो । आज बिहानको काठमाडौंका सडकमा देखिएको सवारी साधनको चापले पनि त्यो अवस्थाको संकेत गरेको थियो ।

सरकारको निर्णयलाई टेक्दै नेपाल राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई सेवा सुचारु गर्न निर्देशन शुक्रबारै जारी गरेको थियो । तर, आज काठमार्डौं उपत्यकास्थित अधिकांश बैंकका शाखा कार्यालयमा टनाटन कर्मचारी देखिन्थे । फाट्टफुट्ट सेवाग्राहीको सामुन्ने बैंकका कर्मचारी अधिक थिए ।

केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा अत्यावश्यक सेवाको लागि बढीमा एक तिहाइ कर्मचारी मात्र उपस्थित गराउन भनिएको छ । सम्भव भएसम्म कर्मचारीलाई घरबाटै इन्टरनेटमार्फत् कार्य गर्न लगाउन पनि निर्देशन दिइएको छ । तर, सडक बजार नै जाम हुनेगरी यातायातको सवारी साधन लिएर कार्यालय पुगेका कर्मचारीले नै संक्रमणको जोखिम नबढाउलान् भन्न सकिने अवस्था देखिएन ।

टिप्पणीहरू