दलित भएकै कारण कोठाबाट निकालेपछि उजुरी
जातीय विभेदको विरोधमा जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा उजुरी परेको छ । दलित भएका कारण घरबेटीले कोठा नदिएको भन्दै ओखलढुंगाकी मुना दयालले हिजो उजुरी दिएकी हुन् ।
छोराछोरी पढाउन ओखलढुंगादेखि काठमाडौं आएर डेरा बसेकी उनलाई शुरुमा कोठा दिन राजी भएका घरबेटीले पछि जात नमिल्ने भनि अमानवीय व्यवहार गर्दै निकालेपछि कानुनी उपचारको खोजीमा लागेकी हुन् । कोठा लिएर सामान सारिसकेको अवस्थामा ‘तल्लो जात’ भनेर आफूलाई निकालेको उनको भनाइ छ ।
घरबेटी भक्तपुरको चाँगुनारायणका २५ वर्षीया कविता रायमाझी र उनकी आमा गोमा रायमाझीले आफूमाथि जातीय छुवाछुत गरेको मुना बताउछिन् । छोराछोरीको पढाइका लागि काठमाडौं आएकी उनलाई एउटा कोठामा सारै सकस परिरहेको थियो । जसको कारण उनी गत माघदेखि दुईवटा कोठाको खोजीमा थिइन् ।
साथीसंग भक्तपुर पुगेकी उनले भनेजस्तो कोठा पाइन् । त्यसपछि त्यही सर्ने निधो गरिन् र गत जेठ १६ सबै कुरो छिनोफानो भएपछि जेठ २५ गते सामान सारिन् । कोठामा सामान सार्ने क्रममा घरधनीले आफ्नो जात थाहा पाएपछि निस्केर जाऊ भन्दै दुर्व्यवहार गरेको उनले दिएको उजुरीपत्रमा उल्लेख छ । छिमेकीले ससुरालाई दलित हो भनेर चिनेपछि घरबेटीले सानो जात भनेर निकालेको मुनाको भनाइ छ ।
हामीलाई किन जात ढाँटेको ? तल्लो जाति त हाम्रो घाटमा बस्न मिल्दैन, आजै निस्केर जाओ भनेर अपमान गरेको उनले बताएकी छिन् । ‘मेरो घरमा दलित बस्न हुँदैन, सानो जातको मान्छे बस्न हुँदैन, बसेमा कुल देवताले सहँदैन त्यसैले निस्किहाल’, घरबेटीले भनेको उनले सुनाइन् ।
सम्भव भए आजै, नभए १५ दिनभित्र अर्को घरकोठामा सरिहाल भनेर जातीय अपमान गरेको मुनाको उजुरीपत्रमा उल्लेख छ । केही सामान सार्न बाँकी रहेको अवस्थामा आफूलाई बस्नबाट रोक लगाएको भन्दै जातीय विभेदको कसूरमा अनुसन्धान गर्न उनले माग गरेकी छिन् । मानव मर्यादामा नै आघात पर्ने गरी जातीय भेदभाव र छुवाछुत गर्नेलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् । हाल प्रहरीले मुचुल्का उठाउने, सोधपुछ गर्नेलगायतका कार्य गरिरहेको छ ।
टिप्पणीहरू