राजनीतिक दल र भीडले बनाएको पार्टीबीचको भिन्नता
दुनियाँ परिवर्तनको संवाहक बनेको राजनीति समाज रूपान्तरण र चेतनाको विकासमा पनि त्यतिकै जिम्मेवार बनेको छ । नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनको जिम्मेवार राजनीतिक दल र नेतृत्वदायी भूमिका खेल्ने नेताहरू हुन् । जनताले राजनीतिक पार्टीलाई विश्वास नगरेको हुन्थ्यो भने यो सम्भव थिएन । जनताप्रति जिम्मेवार बनेर गरिने राजनीतिले देश र समाजलाई वास्तविक परिवर्तनको आभास गराउँछ भने केही दलाल मुठ्ठीभर शासकहरूले जनतालाई रैती बनाई सास्ती र दुःख दिएको इतिहासले आक्रोशित बनाउँछ ।
नेपालको राजनीतिक परिवर्तनको कुरा गर्ने हो भने जनताको शासन स्थापना गर्न परिवर्तनको नेतृत्व गर्ने अहिले मूलधारका भनिने राजनीतिक पार्टीहरू नै हुन् । २००७ सालको राजनीतिक परिवर्तन होस् या २०४६ साल हुँदै २०६२/६३ सालको जनआन्दोलन, जनताले चाहेको व्यवस्था स्थापनाको ऐतिहासिक परिवर्तन गर्न राजनीतिक दलकै मुख्य भूमिका रहेको छ ।
वास्तवमा समाजमा रहेका कयौँ विकृति र विसङ्गति राजनीतिक पार्टीमा आउँदैन भन्न सकिन्न । प्रवृत्तिगत हिसाबले भित्रिने कुरा एकातिर छ, तर संस्थागतरूपमा त्यस्ता कुराको बचाउ र संरक्षण हल्ला गरिए जस्तो देखिँदैन । राजनीतिलाई फोहोरी खेलको रूपमा अतिरञ्जित गर्दै धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति पछिल्लो समय ह्वात्तै बढेको छ ।
यस्ता केही विकृति स्थानीय तहको चुनावमा पनि देखा परे । निर्वाचनमा राजनीतिक दलको विकल्प भन्दै केही स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले राम्रै चर्चा पायो । लामो समयसम्म कुनै दलले पकड जमाइरहेको कतिपय स्थानीय तहमा जागिरे मानसिकताले गएका उनीहरुका प्रतिनिधिकै कारण जनताले फरक उम्मेदवारी छनोट गर्न बाध्य हुनुपरेको यथार्थ चुनावमा देखियो ।
काठमाडौँ महानगर र धरान उपमहानगरमा जनताले पुराना उम्मेदवारको विकल्पमा मत हाल्नु स्थानीय सरकारबाट अपेक्षा गरेअनुसारको काम हुन नसक्नु नै हो । यो दृष्टान्तले अब देशमा राजनीतिक पार्टीप्रति जनताको रुचि घटेको हो ? देशमा दलीय व्यवस्थामाथि चुनौति थपिएको हो ? भन्ने अवस्था देखिएको छ । स्थानीय तहको निर्वाचनमा दलहरूलाई आएको मत परिणामलाई हेर्दा त्यस्तो देखिँदैन ।
अहिले पुनः राजनीतिक दलको विकल्प भन्दै केही स्वतन्त्र र कोही पार्टी खोलेर मैदानमा उत्रिएका छन् । काठमाडौँमा मात्रै आफूलाई स्वतन्त्र बताउने सयौँ व्यक्तिहरू छन् जो आफैं चुनावमा उठ्ने बताइरहेका छन् । केही नाम चलेका पत्रकार त कोही आफूलाई स्वःघोषित समाजसेवी बताउनेहरू राजनीतिमा छिरेर निर्वाचन जित्ने दाउमा देखिन्छन् ।
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बताउनेहरू नै प्रशस्त थिए । काम गर्ने र जनताको पिर मर्कामा मलहमपट्टि गर्ने पवित्र सोच बनाएर राजनीतिमा आएको आभाष कतै गर्न सकिने अवस्था थिएन र उनीहरूले जनताको साथ समर्थन पनि पाउन सकेनन् । कुनै दल विशेषसँग रिसइवी लिएर राजनीतिमा आफूलाई स्वतन्त्र बताउनेहरू पनि छन् । आफूले टिकट नपाएको झोंकमा आफ्नै पार्टी र उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र बनेकाहरू अन्ततः क्षणिक स्वतन्त्र बनेर पुनः पार्टीमै फर्किएका उदाहरण पनि धेरै छन् ।
अहिलेको सन्दर्भमा राजनीतिमा स्वार्थलिप्तको परिभाषा पनि त्यहि बनेको छ । यही परिभाषाको गुलियोमा परेर सर्वसाधारण राजनीतिक रुपले ठगिने निश्चित छ । काठमाडौँ महानगरमा बालेन साहले निर्वाचन जितेको देखेपछि आफ्नो हुँदा खादाको जागिर त्यागेर सांसद भइहाल्छु कि भन्ने महत्वाकांक्षा लिएर राजनीतिमा आउने लहर नै चलेको छ ।
काठमाडौंको सन्दर्भमा वर्षौंसम्म यसअघिका मेयरहरुले जागिर मात्रै खाएर बसेको महानगरमा मतदाताले काम गर्ने आशमा नयाँ मान्छे रोजेका हुन् । यसलाई दलीय व्यवस्थाको विकल्पका रुपमा बुझ्न कदापी हुँदैन । किनभने उपमेयर र सबै वडामा राजनीतिक दलकै प्रतिनिधि छन् । महानगरको पछिल्लो चुनावी परिणाम पदमा पुगेर जनपक्षीय काम नगरेकाहरूलाई जनताले नरुचाएको भन्दा बढी अरु केही होइन ।
धरान उपमहानगरका जनताले वर्षौंदेखि पानीको निम्ति स्थानीय सरकार र सरोकारवालाहरूका विरुद्धमा आन्दोलन गर्नुपरेको पीडा झनै पेचिलो छ । यसै विषयलाई मुख्य मुद्दा बनाएर जनताको घर आँगनमा मत माग्न गएका हर्क साम्पाङ राई एउटा भुईँ मान्छेलाई जनताले विश्वास गरेर चुनाव जिताए । यदि धराने जनताको यो समस्यालाई अहिलेका कुनै पार्टीले सम्बोधन गरेको भए हर्क राई उदाउने कुनै पनि सम्भावना थिएन ।
अहिले केही टेलिभिजन प्रस्तोता, केही इन्जिनियरहरू आफूलाई राजनीतिमा प्रवेश गरेको प्रचार गराउन लागिपरेका छन् । हुँदाहुँदा स्वतन्त्र नामको पार्टी नै घोषणा गरिएको छ । न विचार न सिद्धान्त रहेको यो प्रवृत्तिले फगत आफ्ना रिस उठेकाहरुका विरुद्ध केही दिन उफार्न कराउनबाहेक थप केही हुने अवस्था छैन । अन्य पेशामा छँदा चिल्ला र गुलिया बात गरेजस्तो राजनीतिमा नहुन पनि सक्छ । एक्लै स्वतन्त्र बनेर चुनाव लड्ने भनिए तापनि स्वतन्त्रकै थामी नसक्नुको लामो ताँती हुँदै ’राष्ट्रिय स्वतन्त्र पार्टी’ बनेर आएको छ । राजनीतिक पार्टीसँग फरक विचार राखेर निष्क्रिय बनेका कयौँ व्यक्तिहरू नै यस समूहमा सक्रियतापूर्वक लागिपरेको देखिन्छ।
केही वर्ष पहिले बीबीसीका नाम चलेका पत्रकारले ‘विचारभन्दा माथि देश’ भन्ने नारा बोकेर राजनीतिमा आए । उनी अहिले न यता, न उताको अवस्थामा देखिएका छन् । अहिले उस्तै प्रकृतिको स्वतन्त्र नाममा असैद्धान्तिक र अराजनैतिक तरिकाबाट अर्को पार्टी थपिएको छ । कुनै पनि राजनैतिक दल उसले अंगीकार गर्ने आर्थिक–सामाजिक र राजनैतिक विचारको आधारमा खडा हुने हो । अहिलेको समसामयिक विश्वमा मूलतः यिनै तीनवटा प्रवृत्ति देखिन्छन् । यसैको वरिपरि विश्व राजनीति ध्रुवीकरण भएको परिवेशमा ‘स्वतन्त्र’ जस्तो चरम आदर्शवादी शब्द लिएर राजनीति गर्छु भन्नु ’मिश्र जी’ कै पथमा लम्कनुमात्रै हो ।
भीडको साथ देखेर राजनीतिको चरम लोभमा पसेको हो भने बर्खे भेलसँगै सुकेर जाने निश्चित प्रायः छ । आदर्श र सिद्धान्तविहीन राजनीतिक यात्राले मानिसलाईइ कहाँ पुर्याउने हो त्यो उसले भविष्यमा प्राप्त गर्ने मतले पनि निधो गर्छ । अहिलेका राजनीतिक दलहरुको विकल्पमा आफूलाई उभ्याएको दाबी गर्नेहरू अब उनीहरूले बनाउन लागेको स्वतन्त्र संगठनमा कसरी प्रस्तुत हुने हुन् त्यो पनि समयक्रमसँगै उजागर हुने छ ।
टिप्पणीहरू