भ्रष्टाचारमा डामिएपछि वडाध्यक्ष निलम्बित

भ्रष्टाचारमा डामिएपछि वडाध्यक्ष निलम्बित

सामुदायिक वनको सम्पत्ति हानिनोक्सानी गरेको आरोप लागेका डडेलधुराको परशुराम नगरपालिका–९ का वडाध्यक्ष देवबहादुर बोहरा निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेपछि जिल्ला निर्वाचन कार्यालयले नगरपालिकालाई हिजो पत्र पठाएको हो ।

कार्यालयले पठाएको पत्रमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ र ३६ बमोजिम उनलाई निलम्बिन गर्न भनिएको छ ।

‘सो मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सोबमोजिम कार्यान्वयन गराउन निर्वाचन आयोगको पत्रअनुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।

नगरपालिकाकी उपाध्यक्ष विमलाकुमारी बोहराले पनि वडाध्यक्ष निलम्बित भइसकेको जानकारी दिइन् । अब एक जना सदस्यलाई कार्यवाहक वडाध्यक्ष बनाउने तयारी भइरहेको उपाध्यक्षको भनाइ छ ।

वडाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

टिप्पणीहरू