रुपन्देहीमा भन्सार छलिएको पेयपदार्थ बरामद
रुपन्देहीमा भन्सार छलेर ल्याइएको १० लाख रपैयाँ बढीको सामान प्रहरीले नियन्त्रणमा लिइएको छ ।
आज ओमसतिया गाउँपालिका २ पड्षरीबाट भन्सार छलेर ल्याइएको १० लाख १५ हजार एक सय २० रुपैयाँको विभिन्न पेयपदार्थ बरामद गरिएको हो ।
भारतबाट नेपालतर्फ आँउदै गरेको ग.२ च ४६९७ नम्बरको गाडीले अवैध रुपमा भन्सार छली गरेर सामान ल्याएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले प्रहरी टोली खटाएको थियो ।
टोलीले सामानसहित चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कास्कीका दामोदर चापागाई र स्याङ्जाका विशाल तिवारी रहेका छन् ।
उनीहरुको साथबाट रेडबुल ११२ कार्टुन (२२४४ पिस) र बदाम जुस १५४ कार्टुन (१८४८ पिस) बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बरामद सामान, गाडी र चालकलाई आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय, बेलहिया पठाइएको छ ।
टिप्पणीहरू