राजधानीमा छ्याप्छ्याप्ती सुर्ती भेटिन थाल्यो

राजधानीमा छ्याप्छ्याप्ती सुर्ती भेटिन थाल्यो

राजधानीबाट प्रहरीले बोराका बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले एक सय ९५ बोरा तयारी र २० हजार दुई सय केजी कच्चा सुर्ती बरामद गरेको हो ।

केही व्यक्तिले गैरकानूनी रुपमा भारतबाट राजश्व छली गरी कच्चा सुर्ती ल्याएर भण्डारण गरेर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा कार्यालयबाट खटिएका विशेष प्रहरी टोलीले हिजो पेप्सीकोलाबाट पोष्टराज गौतम र कुलेश्वरबाट दिनेश चौधरीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई समातेर थप खोजतलास गर्दा ललितपुरको खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका विभिन्न स्थानमा सुर्ती भण्डारण गरेर राखेको खुलेको प्रहरीले बताएको छ ।

राजश्व अनुसन्धान विभाग र कार्यालयको संयुक्त टोलीले नख्खूस्थित फूलबारी मार्ग र भैसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुई वटा उद्योग खानतलासी गरी कच्चा पदार्थ भण्डारण गरेर राखेको गोदाम स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरेको छ ।

साथै,सञ्चालक अरबिन्द अग्रवाल र सुरेश पोखरेललाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ । बरामद सामानहरुको विस्तृत परिमाणसहित मुचुल्का उठाउने कार्य भइरहेको छ ।

टिप्पणीहरू