बालेन र महेश बस्नेत भिड्ने थलो फेसबुक, काँग्रेस उपसभापति बालेनतिर
काठमाडौँ महानगरपालिका मेयर बालेन साहले अनधिकृत रूपमा खडा गरिएका संरचना हटाउँदा सार्वजनिक रूपमै एमाले नेतासङ्ग जुहारी शुरु भएको छ । भक्तपुरका सांसद तथा युवा इन्चार्ज महेश बस्नेत सामाजिक सञ्जालमार्फत उनीसङ्ग भिड्न कस्सिएका हुन्।
मेयर बालेनले हिजो बानेश्वरस्थित एमालेनिकट ओम्नी ग्रुपवाला व्यवसायी द्विराज शर्माहरुद्वारा सन्चालित अल्फा बिटा कम्प्लेक्सको अवैध संरचना अवलोकनमा जाँदा नक्सा पास भए नभएको हेर्ने क्रममा भनाभन भएलगत्तै डोजर पठाएर भत्काउने काम गरिएको थियो ।
सो कार्यप्रति असन्तुष्टि जनाउँदै बस्नेतले फेसबुकमार्फत आक्रोश व्यक्त गरेका छन् भने उनको सो स्ट्याटसमाथि मेयर बालेनले जवाफ फर्काएको पाइन्छ ।
बस्नेतले लेखेका छन्, “अल्फा बिटा कम्प्लेक्समाथि किन डोजर चलाएको ?
१- नक्सा पासअनुसार घर निर्माण नगरेको भएर ?
२- हामीसँग नजिक भएर या हामीसङ्ग फोटो लिएको कारण ?
पहिलो कारण हो भने जायज होला,नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान् नै । दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्की र लहडी आतङ्क नियन्त्रण गर्न बाध्य हुने छौँ ।”
बालेनले बस्नेतको उक्त भनाइमा कमेन्ट लेख्दै सञ्चालकले आफूसँग पनि फोटो खिचाएको प्रसङ्ग निकालेर यस्तो जवाफ फर्काएका छन् , “फोटो त मसँग पनि खिच्नु भएको छ,पहिलो कुरा नै हो ! नियम,कानुन पालना सबैले गर्नुपर्छ कमरेड !! बरु हजुरको घरको नक्सा पास छ कि छैन ??”
बस्नेत र मेयरको जुहारी यतिमा मात्रै रोकिएको छैन,जवाफ फर्काउँदै बस्नेतले भनेका छन्, ” बालेनजीको टिप्पणी हेर्दा खुशी लाग्यो । तपाईँलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिका काजमा आउनुहोला ।”
उनको सो जवाफमा समर्थक र विरोधी दुवै देखिएका छन् । अधिकांशले उनको यस टिप्पणीलाई लिएर गाली गरेका छन् । युवा नेता बाट गरिएकोअपेक्षा निराशामा पुगेको जस्ता कमेन्टहरू धेरै रहेका छन् ।
बस्नेतले अझै अघि बढेर लेखेका छन्,”तपाईँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन्, ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला । “
महेशले बालेनलाई, “गालीगलौजको संस्कृति हाम्रो संस्कृति होइन” पनि भनेका छन् । उनले केही फ्यान,फलोअर्स छन् भन्दैमा बुरुक्क नउफ्रन सुझाएको देखिन्छ ।
मेयर बालेन एक्सनमा उत्रिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अल्फा बिटाका निर्देशकको कनेक्सन कहाँसम्म छ भन्दै एमाले अध्यक्ष केपी ओली र उनका विश्वास पात्र बस्नेतसँग खिचिएको फोटो भाइरल गराएका छन् ।
यता नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भने मेयर बालेनको उक्त कार्यको खुलेर प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “र्यापर यम बुध्दको शालिक बनाउने” निर्णय सुन्दा मलाई लागेको थियो “जुन जोगी आए पनि कानै चिरेको” तर अनधिकृत रूपमा बनाइएका घर-टहराहरू भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु । यस कार्यको खुलेर प्रशंसा गर्छु।”
अल्फा बिटा कम्प्लेक्सको नक्साले गर्दा हिजो दिनभर काठमाडौँको माहौल तातिएको पाइयो । तर उक्त कम्प्लेक्समा डोजर नै चलेपछि राजनीतिक दलका नेताको टाउको दुखाइको विषय बनेको छ ।
शहरको विकास र समृद्धिको लागि योजनाअनुसार अगाडि बढ्नु पर्ने हो तर बर्षौसम्म एकै खाले समस्यालाई लिएर जीवनयापन गर्न पर्ने बाध्यात्मक परिस्थिति बन्दै गएको छ । हिजो बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा निर्णय भएका शहरका सडक फराकिला गर्ने निर्णयले काठमाडौँ शहरको सुन्दरतामा झनै चमक छरेको यथार्थ जनताले बताउँदै आएका छन् ।
अझै पनि शहरलाई कुरूप बनाउने धेरै संरचना यत्तिकै असरल्ल छन् । इच्छा शक्ति र चाहनाले यी सारा काम हुने भएकोले पनि अवसर र चुनौती मिसिएका यस्ता कामलाई सुझबुझसहित अगाडि बढाउन सके शहरको सुन्दरता र आम जनताको जीवनयापनमा पनि सरल र सहज हुने सरोकारवालाहरू बताउँछन् ।
बिजुलीको पोलमा गुजुल्टिएका तारजस्तै राजनीतिको खिचातानीबाट अलग्गिन नसकेको विकासको लहर बिचौलिया र श्रम चोरहरूको बिगबिगीका कारण झनै थला परेको आरोप लाग्दै आएको छ।
टिप्पणीहरू