प्रधानमन्त्रीको लालच र प्रचण्डको चातुर्यताले काँग्रेसभित्र लडाई

प्रधानमन्त्रीको लालच र प्रचण्डको चातुर्यताले काँग्रेसभित्र लडाई

सरकार सञ्चालनको मुख्य नेतृत्वमा रहेको दल नेपाली काँग्रेसभित्र गठबन्धनको कारण प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा आन्तरिक पेलाईमा पर्नुभएको छ । गठबन्धनलाई लिएर संस्थापनइतर खेमाका नेता डा. शेखर कोइराला समूहले प्रधानमन्त्री देउवालाई सीट बाँडफाँटको विषयमा दबाब बढाएपछि देउवामाथि दबाब बढेको हो ।

पार्टीभित्रको दबाबमा पर्नुभएका प्रधानमन्त्री देउवालाई त्यो भन्दा चर्को दबाब गठबन्धनका अन्य सहयात्री दलहरूले दिएका छन् । सीट बाँडफाँटको विषयलाई लिएर काँग्रेस सहमतिमा नआए गठबन्धन तोडेर बाँकी चार दलीय गठबन्धन बनाउने रणनीति बनेको चर्चाले देउवा दबाबमा पर्नुभएको बताइन्छ ।

कोइराला समूहको चुनौती

काँग्रेसभित्र प्रतिपक्ष भूमिकामा रहेको कोइराला समूह यस गठबन्धनसँग खासै सन्तुष्ट देखिँदैन । उसले देशैभर तालमेल नगरी खास-खास क्षेत्रमा मात्रै गर्नुपर्ने अडान कस्दै आएको छ । यदि गठबन्धन गरेर निर्वाचनमा जाँदा काँग्रेस एक्लैले सय सीट आफ्नो भागमा राख्नु पर्ने शर्त यो समूहले राखेको छ ।

स्थानीय निर्वाचनका बेला गठबन्धनको “ग” नै सुन्न नचाहेको कोइराला समूहलाई केही हदसम्म थामथुम पार्दै चुनावमा होमिएको काँग्रेस त्यसैको बलमा ठूलो दल बन्न सफल भयो । तथापि गठबन्धन नै नगरी एकल निर्वाचनमा गएको भए अझै धेरै स्थानीय तह जितिने कोइराला समूहको दाबी छ । स्थानीय निर्वाचनमा काँग्रेसले पाएको मतको आधारमा केही निर्वाचन क्षेत्रबाहेक सबै ठाउँमा सङ्घ र प्रदेश निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा यो समूह देखिन्छ ।

लालचका कारण प्रधानमन्त्री सङ्कटमा

कोइराला समूहले गठबन्धन गरेपनि सहज बहुमत प्राप्त हुनेगरी मात्रै गर्ने अड्डी कस्दा प्रधानमन्त्री देउवा पेलाईमा पर्नुभएको हो । देउवा भने अधिकतम लचकता अपनाएर भए पनि गठबन्धनलाई अगाडि बढाउने पक्षमा देखिनुहुन्छ भने डा. कोइरालाले सय सीट संख्याबाट काँग्रेसले दायाँबायाँ गरे विद्रोह हुने बताउँदै आउनु भएको छ ।

एकातिर माओवादीलगायतका गठबन्धनका मुख्य दलहरूले निर्वाचनलाई लिएर प्रधानमन्त्रीसँग मोल मोलाई गरिरहेका छन् भने अर्कोतिर सधैँ शक्तिमा रहिरहने, जसरी पनि प्रधानमन्त्री हुनुपर्ने उहाँको इच्छाले पनि स्वत: दबाब परेको बताइन्छ ।

ज्योतिष शास्त्रमा खुबै विश्वास राख्ने प्रधानमन्त्रीले ‘आफूलाई ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको’ भविष्यवाणी गरेको कुरा सार्वजनिक कार्यक्रममै बताइसक्नु भएको छ ।

काँग्रेसको भित्री स्वार्थ

स्थानीय तह निर्वाचनको समीक्षा र आगामी सङ्घ र प्रदेश निर्वाचनको तयारीबारे समीक्षा गर्न बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सर्वसम्मत निर्णय गरेको थियो । तर, गठबन्धनको विरोध गर्दै आएको कोइराला समूहले भने आफूहरूलाई फाइदा हुने अवस्थामा मात्र तालमेल गर्नुपर्ने अडान यथावत् नै राखेको बताइन्छ।

राम्रो जन सङ्गठन नभएका तर गठबन्धनमा जोडिएका दलहरू एक्लै निर्वाचनमा जाने सम्भावना नदेखेको काँग्रेसले ठूलो दलको हैसियतले पेलेरै जाने र साना दलको सहयोगमा एकल बहुमत ल्याउने दाउमा रहेको प्रस्ट देखिन्छ ।

प्रचण्डको अर्को रणनीतिक चालमा काँग्रेस

नेपाली राजनीतिमा चलायमान,चतुर र निर्णय क्षमता भएको राजनीतिज्ञको परिचय बनाउनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य कम्युनिष्ट पार्टीहरूसँग बाम एकताको छलफल अगाडि बढाएपछि काँग्रेस सशङ्कित बनेको थियो । सीट भागबण्डामा हात माथि पार्ने काँग्रेसको चालबाजीलाई विफल बनाउनकै लागि प्रचण्डले एमालेबाहेकका कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने अभियान सुरु गरेपछि गठबन्धनका लागि काँग्रेस बाध्य भएको विश्लेषण पनि गरिएको छ ।

आफ्नो जनआधार बलियो छ भन्दै पेलेरै भए पनि बहुमतको लक्ष्य बोकेको काँग्रेसलाई प्रचण्डको उक्त राजनीतिक सक्रियताले एक कदम पछि हटेर सोच्न बाध्य बनाएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथमा लिएर प्रचण्डले काँग्रेसलाई ‘हामीलाई पनि कमजोर नआँक्न’ भनेपछि काँग्रेस लचिलो बनेको नेताहरूले बताउँदै आएका छन् ।

प्रचण्डको सक्रियता र पहलमा गौतम र भट्टराईको पार्टीले माओवादी कै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गरिसकेको छ । यता एकीकृत समाजवादीसँग साझा चुनावी घोषणा पत्र बनाएर निर्वाचनमा जाने र चुनावपछि पार्टी एकता गर्न एकता संयोजन समिति बनाउने प्रक्रिया पनि अघि बढिसकेको छ ।

सीट बाँडफाँटको झमेला ज्युका त्युँ

सीट बाँडफाँटको सन्दर्भमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘सम्मानजनक बाँडफाँट नगरिए हामी कसैको भोटर मात्रै नबन्ने’ बताइसक्नु भएको छ। आन्तरिक रूपमा निकै पेचिलो बनेको भागबन्डाको हिसाब मिलान गर्न दैनिकजसो बैठक गर्दै आएको कार्यदलले अहिलेसम्म ठोस आधार तयार गर्न सकेको छैन । यद्यपि शीर्ष नेताहरूको बैठकले केही खाका भने तयार गरिसकेको बताइएको छ ।

प्रधानमन्त्री देउवाको फेरी प्रधानमन्त्री बन्ने लोभ र प्रचण्डले राजनीतिक चातुर्यताका कारण काँग्रेसका लागि गठबन्धन “नखाऊँ भने दिनभरिको शिकार, खाऊ भने कान्छा बाबुको अनुहार” भनेजस्तै भएको असन्तुष्ट समूहको भनाइ छ ।

देउवाको प्रधानमन्त्री बन्ने लोभकै कारण काँग्रेस सय सीटबाट पछि हट्न थालेको कोइराला समूहको आरोप छ । काँग्रेसले ८० सिटको वरिपरि सहमति गर्ने सम्भावना बढेको सार्वजनिक अभिव्यक्ति गठबन्धनका नेताहरूले दिन थालेका छन् ।अस्तिमात्रै धनगढी पुगेर प्रचण्ड आफैंले यसो भन्नुभएको हो ।

निकै पेचिलो बनेको सीट भागबन्डाको हिसाब मिलानमा अहिलेसम्म ६० सीटको दाबी गरेको माओवादी केन्द्रले ४७ देखि ५० वरिपरि चित्त बुझाउनुपर्ने देखिन्छ । यस्तै ३० सीटको दाबी नछोडेको एकीकृत समाजवादी १८ देखि २० वरिपरि आउन बाध्य हुँदैछ । जसपा १३ देखि १५ को हाराहारीमा र राष्ट्रिय जनमोर्चा १ सिटमा खुम्चिनुपर्ने अवस्था आएको छ । जसपाले २० सीट दाबी गरिरहेकाले १३ वरिपरि चित्त बुझाउन गाह्रो देखिन्छ ।

यसरी भागबन्डाको हिसाब मिलान गर्दा पार्टी एकताको तयारीमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले कूल ६५ भन्दा बढी सीट सङ्ख्या प्राप्त गर्ने देखिन्छ । यदि गठबन्धन सफल भयो र चुनावी परिणाम पनि गठबन्धनको पक्षमा गएको खण्डमा समानुपातिकतर्फको सीट सङ्ख्या थपेर एकल बहुमतद्वारा पाँच वर्ष सरकार सञ्चालन गर्ने काँग्रेसी योजना भताभुङ्ग हुने पक्का छ । अर्कोतर्फ सीट भागबन्डाको विषलाई लिएर काँग्रेसभित्र अर्को लडाई सुरु हुने प्रबल सम्भावना रहेको चर्चा पनि उत्तिक्कै छ ।

दबाब र प्रभावमा परेर गरिएका राजनीतिक निर्णयले पार्टीभित्र लामो समयसम्म गहिरो असर पार्छ भन्ने सबै दलका नेतृत्वमा रहेका नेताहरूलाई थाहा नभएको अवश्य होइन । तर पनि आफ्नो स्वार्थ अनुकूल नभए राजनीतिक कोर्सलाई जता गए पनि जाओस् भन्ने तरिकाले गैर-जिम्मेवार पनि बन्न नहुने टिप्पणीकारहरू बताउँछन् ।

यसो त पाँच दलीय गठबन्धनभित्र चुनावी गठबन्धनको मुख्य आधार नै आन्तरिक व्यवस्थापनमा गएर अल्झिएको देखिन्छ । मुख्यगरी काँग्रेसभित्र निर्वाचनपछि कुन दलको हैसियत कत्रो हुन्छ ? भन्ने त्रासको राजनैतिक मनोविज्ञानले गर्दा भागबन्डाको राजनीति सल्टाउन सकस परेको प्रष्टै छ । काँग्रेसले चुनावपछि अन्य दलहरूको एकता र त्यसपछिको राजनैतिक परिणामको सम्भावनालाई गहिरिएर नियालेको बुझ्न सकिन्छ।

टिप्पणीहरू