दलहरुलाई चित्त बुझाउन निर्वाचन आयोगले बहादुर भवन बोलायो

दलहरुलाई चित्त बुझाउन निर्वाचन आयोगले बहादुर भवन बोलायो

राजपत्रमा प्रकाशित चुनावी आचारसंहितालाई लिएर असन्तुष्टी बढेपछि निर्वाचन आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ । मङ्सिर ४ को चुनावका लागि आयोगले हालै जारी गरेको आचारसंहिताका कतिपय व्यवस्थाप्रति प्रमुख दलका शीर्ष नेताहरुका चर्को असन्तुष्टी सार्वजनिक भएपछि आयोग छलफलमा जुटेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका प्रतिनिधिलाई बहादुर भवनस्थित आयोग कार्यालयमा निम्त्याएर आचारसंहिताबारे छलफल गरिएको हो । छलफलमा भाग लिन एमाले संगठन विभाग सदस्य यामलाल कँडेल,कांग्रेस उपसभापति पूर्णबहादुर खडका,माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, सचिव लीलामणि पोखरेल,एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर,जसपा संघीय परिषद अध्यक्ष अशोक राई, लोसपाका नेता केशव झालगायत विभिन्न पार्टीका प्रतिनिधि बहादुर भवन पुगेका थिए ।

छलफलमा निर्वाचन आयोगका तर्फबाट प्रमुख आयुक्त दिनेशकुमार थपलिया,आयुक्तहरु इश्वरीप्रसाद पौडेल,रामप्रसाद भण्डारी,डा. जानकी तुलाधर,सगुनसमशेर राणा, सचिव गोकर्णमणि दुवाडी,प्रवक्ता शालिकराम शर्मा पौडेल सहभागी रहेको बताइएको छ ।

आयोगले जारी गरेर राजपत्रमा प्रकाशित आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचार गर्न नपाउने व्यवस्था छ । त्यस्तै,स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने भनिएको छ । आचारसंहिताको उक्त व्यवस्थाप्रति दलहरुको विरोध रहँदै आएको छ ।

असोज १ गतेदेखि आचारसंहिता लागु गर्ने तयारी गरेको आयोगले त्यसअघि दलहरुसंग छलफल गरेको हो ।

टिप्पणीहरू