अर्थशास्त्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अर्थशास्त्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मुलुककै पुरानो विश्वविद्यालयमा गत असोज ४ गतेदेखि आयोजित “सेडेकन्स एनुअल इन्टरनेशनल कन्फरेन्स इकोनोमिक्स” सम्मेलन हिजो सम्पन्न भएको हो ।
पहिलो दिन विभाग प्राङ्गणमा विशेष कार्यक्रमसहित शुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन दुई वटा प्यानलमा छलफल र ६ वटा समानान्तर प्रस्तुतिकरण पत्र सञ्चालन भएको थियो । प्यानल छलफल र समानान्तर सत्रमार्फत नेपाली,क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्रा.डा.शिवराज अधिकारीले बताए ।
विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस खाले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्रीले आफ्नो धारणा व्यक्त गरेका थिए । वि.सं २०१६ असोज ४ गते नेपालमा पहिलोपटक स्नातकोत्तर तहमा अर्थशास्त्र विषयको पढाइ शुरु भएकाले हरेक वर्ष यस दिनलाई अर्थशास्त्र दिवसका रुपमा मनाउन थालिएको विभाग प्रमुख अधिकारीको भनाइ छ ।
त्यसको दुई दिनसम्म विशेष कार्यक्रममार्फत प्राविधिक सत्र आयोजना गरिन्छ । सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरेर निरन्तरता दिनेमा उनी विश्वस्त देखिन्छन् । देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने प्रमुख अधिकारी बताउँछन् ।
“विगत सम्झँदै,वर्तमानलाई उत्सवका रुपमा लिँदै तथा भविष्य सिर्जना गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारणा अघि सार्ने निकायका रुपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ”,उनले भने । सम्मेलनमा स्थापनाकालदेखिका प्राध्यापक तारापद चौधरीको स्मरणसमेत गरिएको थियो । उनले आफ्नो जिन्दगीको ४३ वर्ष स्वयंसेविकाको रुपमा रहेर काम गरेका थिए ।
देशविदेशबाट आमन्त्रित वक्ताहरुले दक्षिण एशियाली क्षेत्र र विश्वको वर्तमान आर्थिक परिवेशका बारेमा चर्चा गरेका छन् । अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतिमा लाने एजेण्डा र २१ औं शताब्दीमा दक्षिण एशियाको क्षेत्रीय इन्टिग्रेसनको विषयमा छलफल भएको छ ।
सम्मेलनमा म्याक्रोइकोनोमिक्स, डेभलपमेन्ट इकोनोमिक्स,श्रम अर्थतन्त्र र बजार,कृषि र वातावरण अर्थशास्त्र,कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा,नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र त्रिविकी डिन प्रा. डा. कुशुम शाक्यले विभिन्न विषयमा चर्चा गरेका थिए ।
त्यस्तै, विश्वविद्यालयका रेक्टर प्रा. डा.शिवलाल भुसालले समापन मन्तव्य राखेपछि सम्मेलन टुंगिएको थियोे । सम्मेलनमा सहभागी हुन बंगलादेश,पाकिस्तान र भारतबाट समेत प्रतिनिधिहरु उपस्थित भएका थिए । यस्तो अन्तर्राष्ट्रिय सम्मेलन वार्षिक रुपमा आयोजना गरिन्छ ।
टिप्पणीहरू