जसपा र काँग्रेसमा कुन कुन सीटको निम्ति लडाइँ !
सत्ता गठबन्धनको हिजोसम्मको बैठकमा मोटामोटी एक सय २० सीटमा भागबण्डा लगाइसकियो भनिएको छ । तर,सहमतिको हलो अड्केकोको कारण पाँच दल कुनै निश्कर्षमा पुग्न सकेका छैनन् ।
जसपाको मागविपरित नेपाली काँग्रेसले थोरै सीट भाग लगाएपछि दुई पार्टीबीच लफडा चर्किरहेको बताइन्छ । १ नम्बर प्रदेशमा काँग्रेसले जसपालाई एउटा मात्र निर्वाचन क्षेत्र छाड्ने अडान लिएको छ । उसले सुनसरीको एउटा क्षेत्र शर्तसहित छाड्न सकिने बटम लाइन बताएपछि जसपाका नेता तथा कार्यकर्ता भरङ्ग भएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा मोहम्मद इस्तियाक राइनलाई नेपालगन्जको एउटा निर्वाचन क्षेत्र छाडेर मधेस प्रदेशमा ११ वटा क्षेत्र दिने वचन दिइएको बताइन्छ । यसो गर्दा जसपाको भागमा मागभन्दा आधा कम अर्थात् जम्मा १३ वटा मात्र निर्वाचन क्षेत्र पर्न आउँछ । काँग्रेसको उक्त प्रस्तावबाट आफूहरुले ‘ह्युमिलेसन’ अनुभव गरेको जसपाका एक जना नेताले बताए । तर अध्यक्ष उपेन्द्र यादव अपमान महसुस गर्दै त्यस्तो बैठकमा गइरहनुभएको बताइन्छ ।
आफूहरुले मागेको मोरङको ५ र धनकुटा पनि नदिने गरी काँग्रेसले कुरो अघि बढाएको जसपा स्रोतको दाबी छ । जसपाले कपिलवस्तु र रुपन्देही मागे त्यो पनि नदिने अडान राखिएको छ । काठमाडौं ७ बारे पनि काँग्रेस सकारात्मक नभएको जसपाका नेताहरुको बुझाइ छ ।
तर जसपाले मधेस प्रदेशमा मात्र कम्तिमा १६ सीट माग गर्दै आएको छ । उसले पहिलेको निर्वाचनमा त्यहाँ १२ सीट जितेको थियो । यद्यपि अहिले पनि सांसद संख्या सो प्रदेशबाट नौ कायम छ । मधेसमा भएकामध्ये धेरै सीट जसपासँग रहेकाले काँग्रेसको भनाइको कुनै तुक नरहने उनीहरुको दाबी रहँदै आएको हो ।
मधेसबाट यसअघि माओवादीको सीट संख्या पाँच हो । त्यसमध्ये अहिले चार सीट कायम छ । एक जना प्रभु साह एमालेमा गएका छन् । काँग्रेसले जितेको पनि छ सीट मात्रै हो ।
यस्तो अवस्थामा जसपालाई कम सीट दिएर काँग्रेसले धेरैतिर आफैसङ्ग राख्न खोजेपछि हलो अड्किएको गठबन्धन बैठकमा सहभागीहरुको बुझाइ छ । त्यसैगरी प्रदेश १ र लुम्बिनीमा पनि जसपाको माग सम्बोधन भएको देखिँदैन ।
उता जनमोर्चाले प्युठान र बागलुङमा दुई सिट कन्फर्म गरेको छ । समाजवादीको पनि १० सीटमा मात्रै कुरो मिलेको बताइन्छ । माओवादीको समेत ५० बढी सीट माग गरिएकोमा अहिलेसम्म १५ सीटमा मात्रै कुरो मिलेकाले सत्ता गठबन्धनको बैठकलाई भ्यागुताको धार्नीसँग दाँजिएको छ ।
टिप्पणीहरू