बिबिलाई कुटेर मार्ने २२ जना, मृतकको शव शिक्षण अस्पतालमा

रामेछापको खाँडादेवी गाउँपालिका–३, सित्खामा अस्ति बिहान पितृ खुसी नभएको भन्दै माझी समुदायको कुटपिटबाट ५० वर्षीया बिबि माझीको ज्यान गयो । उनकी ७० वर्षीया आमा सुनमाया माझी पनि कुटपिटबाट गम्भीर घाइते भएकी छन् ।

उनको अहिले सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

यसरी भयो घटना

माझी समुदायमा स्रोह्र श्राद्धको अन्तिम दिन अस्ति आइतबार पितृ पूजा थियो । जसअनुसार मरेका पितृहरुलाई नदीमा गएर बोलाउने गरिन्छ । यसरी पितृलाई बोलाउँदा शरीरमा पितृ आउने र परिवारको एक सदस्य काम्ने माझी समुदायको विश्वास छ । घाटबाट काम्दै गरेका व्यक्तिलाई घरमा ल्याइन्छ र भोलिपल्ट एक दिन घरमा राखेर पर्सिपल्ट उज्यालो नहुँदै नदीमा लगेर पितृ बिर्सजन गर्ने चलन छ ।

तर, यो वर्ष पितृलाई नदीमा लगेर विधिपूर्वक बिसर्जन गर्दासमेत बिबि काम्न नछाडेपछि माझी समुदायले उनलाई अक्षताले हिर्काए । लगातार डेढ घण्टासम्म अक्षताले हान्दा पनि काम्न नछाडेपछि बिबिको घरमै गएर माझी समुदायका करिब दुई दर्जन युवायुवतीले कुटपिट गर्ने निश्कर्ष निकाले । त्यसपछि बिबि र उनकी आमा सुनमाया माझी बस्ने घरमा काम्दै पुगेका स्थानीयले चामलको अक्षताले हान्दै कुटपिट गरेको बताइन्छ । त्यतिबेला एउटा बिरालो घरमा आइपुगेपछि उक्त समुदायका युवायुवतीले बिरालो समाते । एकछिन पछि त्यही बिरालोलाई काटेर आगोमा पोले । त्यतिबेलासम्म बिबिको मृत्यु भइसकेको डीएसपी थिङले बताए ।

छोरीको मृत्युपछि उनकी ७० वर्षीया आमा सुनमायालाई घरबाट बाहिर निकालेर माझी समुदायले कुटपिट गर्न थाले । घटनाको जानकारी प्राप्त भएसँगै डीएसपी थिङको कमाण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा बिबिको मृत्यु भइसकेको र सुनमाया गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले बतायो । त्यसपछि तत्काल उद्धार गरी सुनमायालाई अस्पताल पुर्याएकाले उनको ज्यान बचेको हो ।

प्रहरीले घटनामा सलंग्न १८ जनालाई सोही दिन घटनास्थलबाटै नियन्त्रणमा लिएको हो । थप चार जना हिजो पक्राउ परेको डीएसपी थिङले बताए । पक्राउ परेका सात किशोर किशोरी र अन्य युवायुवती हुन् । नियन्त्रणमा लिएका २३ मध्ये १२ जनालाई बयान लिएर अभिभावकको जिम्मामा छाडिएको छ । अहिले ११ जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार शरीरमा पितृ चढेको भन्दै काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफूहरुलाई केही थाहा नभएको बयान दिएका छन् । मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेको उनीहरुको भनाइ छ । प्रारम्भिक बयानमा केही आरोपीले भने घटनाबारे अनभिज्ञता जनाएको बताइन्छ ।

यद्यपि प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । ‘हामीले यस विषयमा अत्यन्त्य गम्भीर र संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं । घटना कसरी भयो अनुसन्धानपछि खुल्नेछ’, डिएसपी थिङले भने । गाउँघरमा अझै अन्धविश्वास कायम रहेकाले धर्म, संस्कृतिको नाममा जघन्य अपराधको घटना हुन पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

विगत लामो समयदेखि बिबिको घरमा उनी र उनको आमा मात्रै बस्दै आएका थिए । बिबिका श्रीमान बितिसकेका छन् । दाजुभाइ, दिदीबहिनी नभएकाले बिबि माइतमै बसी आमाको हेरचाह गर्दै आएकी थिइन् ।

शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पताल लगिएकोमा घटना संवेदनशील भएकाले जिल्लाका पोष्टमार्टम चिकित्सकको सल्लाहमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको डीएसपी थिङले बताए ।

टिप्पणीहरू