गठबन्धनको गलफत्ती, भ्यागुताको धार्नी
आगामी मंसिर ४ गतेको संंघीय तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गए पनि सत्तारुढ गठबन्धनको कार्यदल तथा शीर्ष नेताहरुको बैठकको रफ्तार सेलाएको छ । मनोनयनको समय मुश्किलले दुई साता बाँकी छँदा पनि पाँच दलबीच हालसम्म प्रत्यक्षतर्फको सीट बाँडफाँडको सहमतिमा नयाँ खालको उल्झन देखिएको छ ।
संघको १६५ सीटमध्ये अझै ४० सीटमा कुरो नमिलेको तथ्य बाहिरिएको छ । यहि बेलामा सात वटै प्रदेश सभामा प्रत्यक्ष उम्मेदवारको निम्ति उठाइएको विषय गठबन्धनभित्र थप पेचिलो बनेको छ । संघीय संसदको एउटा निर्वाचन क्षेत्रमा प्रदेश सभाको निम्ति दुई वटा सीट हुने व्यवस्था छ ।
जसअनुसार सात वटै प्रदेशको कुल ३३० सीटमध्ये आधा आफूलाई चाहिने भन्दै काँग्रेसले अत्तो थापेको अन्य दलका प्रतिनिधिले बताएका छन् । ‘काँग्रेसले संघीय सभाको बाँकी ३५ देखि ४० सीटमा झैँ प्रदेशका ३३० मध्ये १६५ अर्थात आधा सीट मागेपछि विशेषतः मधेश प्रदेशको सीट बाँडफाँडमा कुरो मिल्दैन,’ जनता समाजवादीका एक जना नेताले बताए ।
उक्त प्रदेशमा प्रदेश सीट संख्या ६४ छ । त्यसमध्ये काँग्रेसले नै आधा मागेपछि ३२ दिनुपर्ने अवस्था उत्पन्न भएको हो । मधेश प्रदेशमा यसअघि जसपाबाट निर्वाचित सांसदको संख्या नै दुई दर्जन बढी भएकाले कुरो नमिल्ने ती नेताको भनाइ छ । उनी भन्छन्, ‘काँगे्रसले दाबी गरेपछिको बाँकी ३२ सीटमध्ये यसअघि जसपाबाट जितेका सांसदलाई के गर्ने ? अन्य राजनीतिक दललाई कसरी भाग लगाउने ?’
काँग्रेसले मधेशको समानुपातिकमा ३२ बाट घटेर २६ मा अडिने संकेत गरेको बताइन्छ । नेकपा माओवादी र एकीकृत समाजवादीलाई कुन सीट र कति दिने भन्ने विषय अर्कोतर्फ देखिन्छ । यसअघिको निर्वाचनमा जसपाले जितेको सीट मात्रै यस पटक दिइने हो भने नेपाली काँग्रेसले कति सीट जितेको थियो ? भन्ने प्रश्न झन् मुखरित भएको छ । जसपाका नेताहरु भन्छन्, ‘काँग्रेस मुलुकभर अघिल्लो निर्वाचनमा प्रदेश सभामा जम्मा विजयी जम्मा चार दर्जन बढी क्षेत्रमा हो । अहिले सर्वेसर्वा भएर कुरो गरेकाले समस्या हुँदै गएको छ । हिजो जितेको संख्याबाट घट्न सबैलाई गाह्रो हुन्छ । गठबन्धन वा तालमेल सीट घट्नको लागि होइन, बढाउनको लागि हुनुपर्छ ।’
गठबन्धनमा रहेका अन्य दलका नेता तथा कार्यकर्ताले काँग्रेसले आफूभित्रको समस्यालाई गठबन्धनको बैठकमा थोपरेर बढी भाग लिन खोजेको आरोप लगाएका छन् ।
पछिल्लो दिनमा संघीय निर्वाचन क्षेत्रको बारेमा पनि खासै कुरो अघि बढेको देखिँदैन । तालमेलको हलो अड्केको धेरै भइसकेको छ । धनकुटामा राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई काँग्रेसले उठाउनै पर्ने भएपछि प्रधानमन्त्री देउवाले मुखै खोलेर अडान राख्नुभएको बैठकमा सहभागी जसपाका नेताहरुको भनाइ छ ।
आफूले भन्दा दक्षिणतर्फका मित्रहरुलाई देखाउँदै प्रधानमन्त्रीले सुनिल थापाको नाम लिएपछि गठबन्धनमा अनेक आशंका भएका हुन् । कतिपयलाई काँग्रेसले रोक्न नसक्ने र अन्यत्रबाट दबाब आएको बताइएपछि अहिले अमरेशकुमार सिंह, सुनिल थापालगायतको नाम अघि सारेर भएपनि काँग्रेसले आफ्नो हात माथि पार्न खोजेको बतान्छ ।
प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा, नेता रामचन्द्र पौडेल, डा. शेखर समूहको दबाबसँगै दक्षिणको दबाबमा पर्नुभएको सहजै अनुमान गर्न थालिएको छ । चारतिरको दबाब एकैसाथ आएपछि काँग्रेसभित्रको रहस्य खुल्न थालेको हो ।
उता उपेन्द्र यादवको क्षेत्रमा सीके राउतलाई उठाउने हल्ला चलाइएको छ । जसपाका अनुसार पछिल्ला गतिविधि र कार्यले काँग्रेसको माओवादीसँग भित्रि रुपमा समझदारी भएको आशंका गरिएको छ । संघीय संसदमा अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा जसपाले ११ सीट जितेको थियो । अहिले टाउको गन्दा पनि पार्टीमा नौ जना भएकाले आफूहरुलाई काँग्रेसले कम आँक्न नहुने जसपा सम्बद्ध स्रोतको भनाइ छ ।
फरक पार्टीमा भए पनि कानुनी हिसाबले आफूहरुसँग बाबुराम भट्टराई, महिन्द्र राय र अर्का एक जना रहेको जसपाको दाबी छ । निर्वाचन आयोगको अभिलेखअनुसार पनि विगतमा कारवाही नभएकाले ती सांसद आफ्नो भएको बताइन्छ ।
अहिले बल्ल बल्ल काँग्रेसले जसपालाई ११ सीट दिने कुरो उठाएको हो । मधेश प्रदेश बाहेक बाँकेमा मोहम्मद इस्तियाक राईलाई एक सीट र धरानमा अशोक राईलाई छाड्न सकिने भन्दै काँग्रेस सामान्य लचिलो बनेको हो ।
तर मन्त्री राजेन्द्र श्रेष्ठको निम्ति काठमाडौं ७ भनिएको ठाउँमा डा. भट्टराईकी छोरीको निम्ति माओवादीले अडान राखेपछि जसपाले त्यहाँ पनि गुमाउने भएको छ । समग्रमा गठबन्धनको बैठकमा जसपालाई दिइएको पछिल्लो वचनअनुसार १३ सीट देखिएको छ । तर अरु राजनीतिक दलको निम्ति पनि काँग्रेससँगको समस्या त्यस्तै देखिएको बताइन्छ ।
टिप्पणीहरू