सादा पोशाकका घुमुवा प्रहरीले के गर्ने,के नगर्ने ?
भारतीय सीमावर्ती क्षेत्रमा खटिने घुमुवा प्रहरीहरु गैरकानुनी गतिविधि गर्ने गिरोहसँग साँठगाँठ गरी असुली धन्दामा संग्लग्न रहेको गुनासो बढेपछि गृह मन्त्रालयले घुमुवा परिचालनसम्बन्धी नयाँ मापदण्ड ल्याउन दुवै प्रहरी संगठनलाई कडा निर्देशन दिएको छ ।
भदौ २९ गते गृहको सचिवस्तरीय निर्णयले सुरक्षा निकायको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन दुवै प्रहरी संगठनबाट सादा पोशाकमा परिचालित हुने (घुमुवा)सम्बन्धी मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । गृहको गुनासो व्यवस्थापन शाखाले भदौ ३० गते दुवै प्रहरी मुख्यालय र मातहतका प्रहरी इकाईलाई निर्णयबारे जानकारी गएको थियो ।
मधेस प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरुमा १५ वर्षदेखि घुमुवा प्रहरीहरुले सीमावर्ती नाकाबाट व्यापक रुपमा अवैध तस्करी गरी रकम उठाउने गिरोहसँग साँठगाँठ गर्ने गरेको भन्दै प्रहरीभित्रै पनि व्यापक असन्तुष्टि छ । त्यस्ता गतिविधिमा संलग्नलाई छानविन गरी कारवाहीको माग गर्दै प्रधानमन्त्री कार्यालय,अख्तियार र प्रहरी प्रधान कार्यालयमा पनि धेरै पटक लिखितरुपमै उजुरी परेका थिए । तर पनि अवस्था नसुध्रिएपछि घुमुवासम्बन्धी नीति नै फेर्नुपर्ने माग दुवै प्रहरी संगठनले उठाउँदै आएका थिए ।
सोहीअनुसार गृहले ‘दुवै प्रहरी संगठनबाट सादा पोशाकमा परिचालित हुने (घुमुवा) प्रहरी/ सशस्त्र प्रहरीसम्बन्धी मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने’ निर्णय गरेको हो ।
यता, गृहको निर्णयलगत्तै सशस्त्रको कार्य तथा सीमा सुरक्षा विभागले २ नम्बर बाहिनी छिन्नमस्ता मुख्यालय, महोत्तरीलाई पत्र लेखेर असोज ७ गतेभित्र नयाँ मापदण्ड बनाई पठाउन निर्देशन दिए पनि कार्यान्वयन भने भएको छैन । घुमुवा खटाउने सम्बन्धमा गृहको निर्णयबारे मातहतका सबै इकाइहरुमा निर्देशन भैसकेकोमा के कति कारणले आचरणविपरीत सिंगो संगठनलाई आँच आउने गरी कार्यहरु भैरहेका छन् ? भनी सशस्त्रले सोधेको छ ।
विभागले त्यस्ता प्रहरी कर्मचारीहरुलाई छानविनको दायरामा ल्याई नियमानुसार कारवाही गरी त्यसको नतिजा पठाउन पुन: निर्देशन दिँदै उप्रान्त सबै बाहिनीहरुले घुमुवासम्बन्धी नयाँ नीति बनाएर खटाउन अनि खटाइएकाहरुको विवरण पठाउन भनेको छ ।
टिप्पणीहरू