विमलेन्द्रमाथि ठेक्कापट्टादेखि सीट बाँडफाँडसम्म हात लामो बनाएको आरोप

विमलेन्द्रमाथि ठेक्कापट्टादेखि सीट बाँडफाँडसम्म हात लामो बनाएको आरोप

प्रधानमन्त्री शेरबहादुर देउवाका किचेन क्याबिनेटबाट काँग्रेस हेभिवेट विमलेन्द्र निधि पछिल्लो समय आउट भएका छन् । तर यसबीच प्रधानमन्त्री देउवाले निधिसँग चिसिएको सम्बन्ध सुधारको निम्ति विशेष तत्परता लिनुभएको बताइन्छ ।

तमलोपाका नेता राजेन्द्र महतोसँग २०७४ को संसदीय निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र ३ मा पराजित निधि आगामी मंसिर ४ को चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार दिन हच्किएका छन् ।

गत चुनावमा उनको हारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महतो समूहलाई जिताउन भूमिका खेलेको आरोप पनि लगाइएको थियो । तर प्रधानमन्त्री देउवाको अति विश्वासपात्रसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँण समर्थित केही काँग्रेस नेता तथा कार्यकर्ताको कोपभाजनमा पर्ने त्रासका कारण निधिले समानुपातिक उम्मेदवारको सूची रोजेको बताइन्छ ।

विमलेन्द्रले प्रत्यक्ष निर्वाचन प्रतिस्पर्धा गरेको अवस्थामा यस पटक राजेन्द्रको पराजय निश्चित रहेको त्यहाँका स्थानीय मतदाता र काँग्रेसीको बुझाइ रहेको भन्नेहरु पनि देखिएका छन् ।

समानुपातिक उम्मेदवारको सूचीबाट प्रतिनिधि सभामा पुग्ने उनको बाटो सुरक्षित भएको छ । सँगसँगै आफ्नै भाञ्जी निनु कर्णलाईसमेत सुरक्षित हुने गरी समानुपातिकको बन्दसूचीमा पारिदिएको चर्चा चुलिएको छ । मधेशी महिलाको तेस्रो नम्बरमा अटाएकी निनुभन्दा नेपाली काँग्रेसका लागि निकै योगदान गरेका अरु धेरै मधेशी महिला पनि मधेशमा भएको आवाज उठेको छ । यसलाई एकथरि काँग्रेसीहरुले परिवारवादको पछिल्लो उदाहरण भनेका छन् ।

“काँग्रेसका प्रदेश अध्यक्ष कृष्णा यादव र सहमहामन्त्री महेन्द्र यादवको मिलेमतोमा जनकपुरकी चर्चित चिकित्सककी श्रीमती अञ्जना पण्डितलाई प्रदेश समानुपातिकको महिलातर्फ एक नम्बरमा राखिएको अर्को आरोप लागेको छ ।”

यसअघि पहिलो संविधानसभामा काँग्रेसका तत्कालीन महामन्त्री रामवरण यादवले आफ्नी भतिजीलाई यसैगरी समानुपातिक कोटामा सभासद बनाइदिएको भन्दै चर्को आलोचना भएको थियो ।

पूर्व राष्ट्रपति रहनुभएका यादवले काँग्रेस महामन्त्री रहँदा भतिजीलाई सभासद बनाइदिँदा महोत्तरीकी दलित महिला श्यामा पासवान उक्त अवसरबाट वञ्चित भएकी थिइन् । नातावाद र कृपावादको क्रममा निधिले आफ्ना स्वकीय सचिव मिन्तन भनिने सुनिल झाको नाम पनि मधेश प्रदेश सभातर्फको समानुपतिक सूचीमा सुरक्षित गराएपछि विरोधको स्वर सुनिन थालेको हो ।

सुनिल ‘क’ वर्गका निर्माण व्यवसायी हुन् । सुनिलको कम्पनीको नाममा रहेको सवारी साधनसमेत उनै निधिले प्रयोग गर्दै आएको बताइन्छ ।

काँग्रेसका प्रदेश अध्यक्ष कृष्णा यादव र सहमहामन्त्री महेन्द्र यादवको मिलेमतोमा जनकपुरकी चर्चित चिकित्सककी श्रीमती अञ्जना पण्डितलाई प्रदेश समानुपातिकको महिलातर्फ एक नम्बरमा राखिएको अर्को आरोप लागेको छ । जिल्लाबाट सिफारिसमा नपरेकी उनी एक महिनाअघि काँग्रेस प्रवेश गरेकी हुन् । तर,उनैको घरमा काँग्रेसको प्रदेश कार्यालय राखिएकाले यादवको विशेष पहलमा अञ्जनाको नाम एक नम्बरमा राखिएको हुनसक्ने अन्य महिला काँग्रेस कार्यकर्ताले आशंका गरेका छन् ।

कृष्णाले नै रौतहटस्थित सडक कार्यालयका एक इञ्जिनियरकी श्रीमतीलाई प्रतिनिधि सभातर्फ समानुपातिकको मधेशी महिला कोटामा राख्न लगाएको भनिएको छ । समानुपातिक महिला उम्मेदवार मिनाक्षी झाले काँग्रेसमा कुनै भूमिका निर्वाह गरेको देखिएको छैन । यसअघि तीन पटक सांसद भएकी अर्की मिनाक्षी झा भने यसपटक उम्मेदवारीबाट बाहिरिएकी छन् ।

विमलेन्द्रकै क्षेत्र धनुषा–३ मा पनि तीन महिनाअघि काँग्रेस प्रवेश गरेका परमेश्वर महासेठको एकल नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएको छ । साल्ट ट्रेडिङका पूर्व महाप्रबन्धकसमेत रहेका महासेठलाई स्थानीयले उद्योगपतिको रुपमा चिन्छन् । आर्थिक अनियमितताको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तानेपछि विवादित पात्र बनेका हुन् । विवादास्पद छविका महासेठले आफू समानुपातिक उम्मेदवारको सूचीमा पर्न निधिलाई राम्रै प्रभाव पारेको काँग्रेस वृत्तमा चर्चा छ ।

यसमा निधिलाई प्रधानमन्त्री देउवाको समेत साथ रहेको बताइन्छ । गत साउनमा करिब १० अर्ब बराबरको ठेक्का निधिको सम्वत कम्पनीलाई माथिकै पहलमा पारिएको भनिन्छ । पनौतीमा नेपाल प्रहरीको तालिम केन्द्र भवन निर्माणमा पनि जनकपुरको रोशन कन्स्ट्रक्सनलाई मिलाइदिने आश्वासन दिइएको आरोप काँग्रेस नेतृत्वमाथि लागेको छ ।

उक्त कम्पनीमा सुनिल झाको १० प्रतिशत शेयर रहेको र सञ्जय गुप्ताको नाममा रहेको उक्त कम्पनीलाई निधिले सहयोग मागेपछि नेतृत्वको पहल भएको दाबी गरिन्छ । तर, नियमविरित रोशन कन्स्ट्रक्सनलाई ठेक्का मिलाइएको भन्दै अन्य निर्माण व्यवसायी काँग्रेस संस्थापन पक्षसँग असन्तुष्ट भएको हो ।

यस सम्बन्धमा काँग्रेसका नेतासमेत रहेका शर्मा कन्स्ट्रक्सनका मालिक रमेश शर्मा र रसुवा कन्स्ट्रक्सनका मोहन आचार्यले बालुवाटार पुगेर गुनासो गरिसकेका हुन् । तर पनि माथिल्लो तहको हस्तक्षेपपछि निधिलाई उक्त काममा सहयोग मिलेको हो । भारत सरकारको १० अर्ब अनुदान सहयोगमा पनौतीमा प्रहरीको तालिम केन्द्र भवन निर्माण गर्न लागिएको छ ।

सबैभन्दा रोचक पक्ष भनेको पार्टी महाधिवेशनमा सभापतिको मैदानमा उत्रिएका निधि स्वयम् प्रत्यक्ष चुनावको अवसरबाट पछि हटेका छन् । उनले एकाएक समानुपातिकको पनि मधेशीतर्फको सूची रोजेपछि मधेशीतर्फका अन्य काँग्रेसीको भाग स्वतः खोसिएको छ ।

टिप्पणीहरू